७ वैशाख २०८१ शुक्रबार
अन्य

बदलिएका छिरिङ

जन्म र मृत्यु एक पटक मात्रै हुन्छ । एउटै मान्छे बारम्बार जन्मन सक्दैन न मर्न । धर्तीका लागि पटक–पटक जन्मन नसके पनि समाजका लागि भने मान्छे पटक–पटक जन्मन सक्छ । समाजमा एउटै व्यक्तिको नयाँ जीवन पटक–पटक सुरुवात हुन सक्छ । 

रूप, व्यवहार र स्वभावमा परिवर्तन गरेर व्यक्तिले पुरानै समाजमा नयाँ जीवन सुरु गर्न सक्छ । यस्तै नयाँ जीवन सुरु गर्नेमा पर्छन्–सिन्धुपाल्चोक लिस्तीका छिरिङ शेर्पा ।

छिरिङ कुनै बेला लागूऔषध प्रयोगकर्ता थिए । उनी लागूऔषध बिना बाँच्नै नसक्ने भइसकेका छिरिङ आफू सुध्रिएर अरुलाई सुधार गर्न लागेका हुन् । 

‘यो मेरो नयाँ जीवन हो, यसलाई दोस्रो जीवन भन्न रुचाउँछु,’ छिरिङले भने, ‘दोस्रो जीवन सदुपयोग गरी समाजमा केही योगदान दिऔं भनेर लागेको छु ।’

छिरिङ आश्रय समूहका सञ्चालक हुन् । सुन्दरीजलस्थित आश्रय समूहले लागूऔषध प्रयोगकर्तालाई पुनस्र्थापनाको काम गर्छ । पाँच वर्षअघि सञ्चालनमा आएको आश्रयले करिब पाँच सय लागूऔषध प्रयोगकर्ताको पुनस्र्थापना गराइसकेको छ ।

समूहमा अहिले ५० जनाले आश्रय लिएका छन् । छिरिङको दैनिकी लागूऔषध  प्रयोगकर्ताको रेखदेखमा बित्ने गरेको छ । आइतबार आश्रय नेपालमा भेट्दा उनी निकै व्यस्त थिए । ‘जुन २७ गते विश्व लागूऔषध विरुद्धको दिवस हो,’ उनले भने, ‘यसपालीको दिवसमा टोल सरसफाइ कार्यक्रम राखेकाले त्यसैको तयारीमा छु ।’

उनले आश्रयमा रहेकाको समूहद्वारा सुन्दरीजलको सरसफाइको कार्यक्रम तय गरेका छन् । ‘हाम्रो समाजले लागूऔषध प्रयोगकर्ताप्रति हेर्ने दृष्टिकोण नकारात्मक छ,’ छिरिङले भने, ‘त्यही भ्रमलाई चिर्न सरसफाइ गरेर उनीहरूले पनि समाजमा योगदान दिन सक्छन् भन्ने सन्देश दिन लागेका हौं ।’ 

केन्द्रमा सुधारको क्रममा रहेका व्यक्तिलाई लगेर सरसफाइ गर्ने योजना बनाएका छन् । ‘नयाँ साथीलाई बाहिर निस्कन दियो भने भाग्न सक्छन्,’ उनले भने, ‘सुधारको अन्तिम चरणमा रहेका व्यक्तिलाई लगेर सरसफाइ गर्छौं ।’

छिरिङ कुनै बेला लागूऔषध प्रयोगकर्ता थिए । उनी लागूऔषध बिना बाँच्नै नसक्ने भइसकेका छिरिङ आफू सुध्रिएर अरुलाई सुधार गर्न लागेका हुन् । 

२८ वर्षीय छिरिङले १२ कक्षासम्म अध्ययन गरेका छन् । स्कुलको होस्टेलमा बसेर पढ्दै गर्दादेखि धूमपान गर्न थालेका उनी कुलतमा फस्दै गए । होस्छल छाडे पनि छिरिङले टोलका साथीको साथ पाए । कुलतमै फसे पनि एलएलसीसम्म पढाइ पनि राम्रै थियो । 

२०६४ सालमा ७३ प्रतिशत ल्याएर एसएलसी उत्र्तीण गरे । उच्च शिक्षाका लागि भर्ना भएका उनी बिहान कलेज जान्थे । दिउँसो टोलकै साथीसँग कुलतमा रमाउँथे । ‘चुरोट, ट्याब्लेट, गाँजा, रक्सीको कुलतमा परियो,’ छिरिङ भन्छन्, ‘दिमाग नै खलबलिदो रहेछ, एसएलसीसम्म जान्ने विद्यार्थी १२ कक्षामा त दुईवटा विषय पो लाग्यो ।’ १२ कक्षासम्म पुग्दा उनी सिरिन्जदेखि ब्राउन सुगरसम्मको लतमा लागिसकेका थिए । 

छिरिङ मौका छोपेर बुबाको गोजीबाट पैसा निकाल्थे । बुबाको एटिएम कार्डसमेत उनीसँगै हुन्थ्यो । एटिएमबाट पैसा निकालेको पत्तै हुँदैन थियो बुबालाई । 

दिदी र आमाले ढोका थुनेर धेरै पटक राखे । थुनेर के गर्नु ? उनी घरको कौसीबाट अर्को घरको कौसीमा हाम फालेर बाहिर निस्कए । 

कौसीबाट हामफालेर गएपछि दुई–चार दिन उनी साथीहरूको घरमा बसे । त्यसबेला उनका बुबाआमाको ठूलै झगडा भयो । उनकै निहँुमा घरमा कोलाहल मच्चिन थालेपछि छिरिङलाई आफ्नै जीवनदेखि दिक्क लाग्न थाल्यो । उनकै कारण आमाले आत्महत्याको प्रयास गरिन् । घरमा ठूलै समस्या पर्न थालेपछि लागूऔषध छोड्न चाहेर पनि सकेनन् । 

परिवारले उनलाई आरम्भ नेपाल पुनस्र्थापना केन्द्रमा लग्यो । सुरुमा केन्द्रमा बस्न नसकेर भाग्ने प्रयास गरे । तीन महिना बसेपछि उनमा सुधार आयो । उनलाई केन्द्रमा बसेर अरुको निर्देशन मान्नुको साटो घरमै जाने इच्छा जाग्यो । घरमा आएपछि केही महिना राम्रैसँग बसे । 

उनको परिवार जोरपाटीमा बस्थ्यो । पुरानै साथीसँग संगत बढ्न थाल्यो । फेरि उनी दुव्यसनको दलदलमा फस्न थाले । ‘खानु हुँदैन भनेर चेत भए पनि अलिअलि खाँदा त छोड्न सकिहाल्छु भन्ने लाग्यो,’ उनले सुनाए, ‘खाएपछि छोड्न के सकिन्थ्यो र ?’ उनी फेरि पुनस्र्थापना केन्द्र पुगे ।

पटक–पटक गरेर तीन वर्ष पुनस्र्थापना केन्द्रमा बिताएपछि भने उनलाई केही गर्नुपर्छ भन्ने लाग्यो । तर, उनीसँग न कुनै सीप थियो, न अनुभव नै । के गर्ने भनेर सोचिरहेका बेला केन्द्रकै साथी मिलेर पुनस्र्थापना केन्द्र खोल्ने कुरा अघि बढ्यो । उनलाई पनि ठिकै लाग्यो । 

‘आफूले पनि पुनस्र्थापन केन्द्रबाटै नयाँ जीवन पाइयो अरुलाई पनि नयाँ जीवन दिनुपर्दछ भन्ने लाग्यो,’ उनले भने । तीन जनाको संयुक्त लगानीमा जन्मियो ‘आश्रय नेपाल’ । सुरुमा साझेदारीमा खोलेको यो संस्था अहिले एक्लैले चलाइरहेका छन् । परिवारको पनि सहयोग छ उनलाई । 

छिरिङले परिवारलाई कति दुःख दिएको रहेछु भन्ने भर्खर बुझ्दै छन् । ‘केन्द्रमा उपचाररत आफन्त तथा परिवार आएर रोई कराई गर्दा, गुनासो पोख्दा मैले परिवारलाई कति सताएको रहेछु भन्ने थाहा हुन्छ,’ उनी भन्छन् । 

आश्रय समूहले परिवारको आर्थिक स्थिति हेरेर प्रति महिना पाँचदेखि १५ हजार रूपैयाँ शुल्क लिन्छ । दुव्यर्सनमा फसेकालाई सामान्यतया ६ महिना राखिन्छ । तर, केहीले त्यसअघि नै आफूलाई परिवर्तन गर्छन् । केहीका लागि भने एकदेखि डेढ वर्षसम्म पनि लाग्छ । 

‘मलाई त निःशुल्क उपचार गर्ने मन छ,’ उनले भने, ‘आर्थिक स्रोत नभएपछि निःशुल्क गर्न सकिएको छैन ।’ सम्भव भएसम्म निःशुल्क उपचार गरिदिने उनको सोच छ । हालसम्म पाँच सय जनाले उपचार लिएकामध्ये ८० जनालाई निःशुल्क उपचार गरिदिएको उनले बताए ।

लागूऔषध प्रयोग रोगजस्तै समस्या भएकाले यसलाई लुकाएर राख्नु नहुने उनको बुझाइ छ । ‘इज्जत प्रतिष्ठाको डरले लुकाएर राख्दा खतरनाक रूप लिने भएकाले बेलैमा सुधार केन्द्रमा राखे सुधार हुनसक्छ,’ उनी भन्छन्, ‘सुधार केन्द्रले आत्मबल, मनोबल बढाएर मान्छेको सोच तथा व्यवहारमा परिवर्तन ल्याउँछ ।’ सुधार केन्द्रमा शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास गरेर उनीहरूको बानीमा परिवर्तन ल्याउने गरिएको छ । 

उनले सुधार केन्दबाट निस्केकालाई आत्मनिर्भर बनाउने योजना पनि बनाएका छन् । त्यसका लागि विभिन्न तालिमको व्यवस्था गरेर सीप सिकाउने सुरसारमा छन् छिरिङ ।

प्रकाशित: १२ असार २०७४ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App