८ वैशाख २०८१ शनिबार
अन्य

इदमा सेबई अनिवार्य

इदमा खाइने मुख्य परिकार हो, सेवइ । दूधमा पकाइने यो परिकार इदमा अनिवार्य जस्तै भएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसैनले बताए । रमजानको अन्तिम हप्ता यसको व्यापार पनि बढ्छ । 

काठमाण्डौंको घण्टाघरमा रहेको जामे मस्जिदको छेउमा अरुबेलाभन्दा बढी नै सेवईको बजार लाग्छ । अघिल्लो हप्तादेखि दैनिक ६०/७० किलोग्रामसम्म सेवई बिक्री भइरहेको मस्जिद नजिक आफ्ना बुबाको पसलमा बसी सेवई बेच्ने मुहम्मद सलिम खानले बताए । सलिम भारतको सीतामडीमा आठ कक्षा पढ्दैछन् । स्कुल बिदामा बुबालाई सघाउन बसेका उनलाई पनि इदमा पाक्ने सेवई अति मनपर्ने बताए । सलिमले भने ‘इदमा सबैले खाने नै सेवई र खजुर हो । मन नपर्ने कुरा नै भएन ।’ 

सलिमको पसलसँगै सर्लाहीका अब्दुल खालिक खानको पसल छ । उनको पसलमा पनि यो हप्ता व्यापार उत्साहजनक भयो । ‘इदको तयारीका लागि धेरै दिनदेखि किनमेल गर्छन् । किनमेलमा सेवई अनिवार्य पर्छ ।’ उनले भने, ‘अहिले त मुस्लिमले मात्र होइन, अरुले पनि इदको बेला सेवई किनेर लैजाने गरेका छन् ।’ 

अब्दुल खालिकले भनेजस्तै अचेल सेवई गैरमुस्लिमले पनि मन पराउने परिकार बनेको छ । घण्टाघरमै रहेको मुहम्मद हुसेनको पसलमा आइतबार सेवई किनिरहेका थिए, डिल्लीबजारका शिवनाथ तिवारी । इदका लागि सेवई किनेको उनले बताए । ‘अरु बेला पनि कहिलेकाहिँ घरमै बनाएर खाइन्थ्यो । अब इदकै बेला झन् खानैप¥यो ।’ उनले भने ‘मीठो खान पनि पाइयो, मुस्लिम दाजुभाइको चाडमा सहभागी भएजस्तो पनि भयो ।’ सेवइ खाएर इद मनाउने सूर गरे पनि उनी मस्जिद भने कहिल्यै गएका छैनन् । 

२५ वर्षदेखि सेवई व्यापार गर्दै आएका अब्दुल खालिकका अनुसार पहिलेभन्दा अहिले व्यापार राम्रो छ । ‘पहिले मुस्लिमले मात्र चिनेका थिए, अहिले सबैले चिनेका छन् ।’  उनले भने, ‘इदबाहेक अरु दिन पनि व्यापार हुन्छ । तर, विशेष व्यापार हुने रमजानको अन्तिम हप्ता नै हो ।’ उनले विभिन्न थरिका सेवई भारतबाट ल्याउने गरेका छन् । १ सय ५० रूपैयाँदेखि २ सय ८० रूपैयाँ प्रति किलोग्रामसम्मको सेवई पसलमा राखिएको उनले सुनाए । 

शुद्ध र मीठाउ परिकारका रूपमा परम्परादेखि नै सेवई र खजुर खाने गरिएको जामे मस्जिदका सचिव मन्सुर हुसैनले बताए । सचिव हुसेनले भने, ‘सेवई खाने चलन भारत र पाकिस्तानबाट नेपालमा आएको हो ।’ नेपालमा सेवई भिœयाउने मुस्लिम समुदायले रहेको र विस्तारै अरु समुदायले समेत खाने प्रचलन बढेको उनको भनाई छ । उनका अनुसार बजारमा पाइने तयारी सेवईलाई लक्षा भनिन्छ । खास सेवई बनाउँदा लक्षा उमालेर त्यसलाई दूध र खुवा हालेर पकाइने उनले बताए । मुस्लिम समुदायले इदमा अनिवार्य खाने सेवई अचेल होटल तथा रेष्टुरेन्टले ‘डिजर्ट’का रूपमा प्रयोग गर्ने गरेका छन् । दूधमा ‘ड्राइ फ्रुट्स’सँग पकाएर खाइने सेवईसँगै इदमा खजुर पनि खाइन्छ । 

मुस्लिम समुदायले एक महिनासम्म रोजा बसेर मनाउने रमजान पर्व सकिने बेला छ । मुस्लिम क्यालेन्डर अनुसार रमजान महिनाको अन्त्यमा ‘इद’ मनाइन्छ ।  

प्रकाशित: १२ असार २०७४ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App