७ वैशाख २०८१ शुक्रबार
राजनीति

मौन अवधि सुरु, प्रचारप्रसार बन्द

काठमाडौं- दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का तीन सय ३४ वटा स्थानीय तहमा बुधबार हुनेे निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार बन्द भएको छ।

३५ जिल्लाका ६४ लाख ३२ हजार सात सय ६५ मतदाता स्थानीय सरकार निर्माणका लागि जनप्रतिनिधि चुन्न बुधबारको प्रतीक्षामा छन्।

निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म कसैले कुनै उम्मेदवारको पक्ष या विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न/गराउन निषेध गरेको छ। 'आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ, स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ,' आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, 'कसैले निर्वाचन आचारसंहिता उल्लंघन गरे कसुर हेरेर एक वर्ष कैद, एक लाख रुपैयाँ जरिबाना र उम्मेदवारले उल्लंघन गरे उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्नेछ।'

प्रवक्ता शर्माले आचारसंहिता उम्मेदवारलाई मात्रै नभई मतदाता, कर्मचारी, सञ्चारमाध्यमलगायत सबैलाई लागू हुने बताए।

निर्वाचन मिति घोषणा भएसँगै आचारसंहिता लाग्ने भए पनि मौन अवधिमा भने विशेष संयमता अपनाउनुपर्ने हुन्छ। स्थानीय तह निर्वाचन निर्देशिकामा मौन अवधिमा प्रचारप्रसार गर्न वा शान्ति भंग हुने खालका काम गर्न निषेध गरिएको छ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री सम्बन्धित दल वा उम्मेदवारले हटाउनुपर्छ। यस्तै एसएमएस, फेसबुक, भाइबरलगायत विद्युतीय माध्यमबाट प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पनि नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ। मौन अवधिमा कसैले पनि उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, टाटुजस्ता सांकेतिक सामग्री प्रयोग गर्न, बिक्रीवितरण गर्न, प्रदर्शन गर्न/गराउन पाइने छैन। कसैले यस्तो गरे/गराएको पाइए निर्वाचन आयोग, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय वा प्रहरीलाई उजुरी गर्न सकिनेछ। त्यसैगरी मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलका पक्षमा समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्नसमेत पाइने छैन। कानुनअनुसार निर्वाचनको ४८ घन्टाअघि मौन अवधि सुरु हुन्छ।

निर्वाचन कार्यतालिकाअनुसार आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ। मतदाताले मतपत्रमा आफूलाई मन परेको उम्मेदवारको चिह्नमा स्वस्तिक छाप लगाई  स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चुन्नेछन्।

तयारी पूरा

आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले प्रदेश नम्बर १, ५ र ७ का ८ हजार ३ सय ६४ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेको जनाएको छ।

'दोस्रो चरणअन्तर्गत निर्वाचनको सबै तयारी पूरा भइसकेको छ,' आयुक्त दाहालले भने, 'कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुगेर मतदान गराउने दिनको प्रतीक्षामा छन्।'

परिचयपत्र वितरण 

प्रदेश नम्बर १, ५ र ७ का तीन सय ३४ स्थानीय तहमा बुधबार हुने निर्वाचनका लागि निर्वाचन आयोगले ४ हजार ५ सय ८१ मतदान स्थलबाट फोटोसहितको मतदाता परिचयपत्र वितरण थालेको छ। मतदानका लागि फोटोसहितको मतदाता परिचयपत्र अनिवार्य गरेको आयोगले आइतबादेखि मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण सुरु गरेको हो।

आयोग प्रवक्ता शर्मालेे दोश्रो चरणअन्तर्गत ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताको परिचयपत्र सम्बन्धित मतदान स्थलमार्फत वितरण गर्न थालिएको जानकारी दिए। उनका अनुसार आइतबार, सोमबार र मंगलबार आफ्नो परिचयपत्र खुल्ने कागज लिएर मतदान स्थलबाट मतदाता परिचयपत्र लिन सक्नेछन्।  यसअघि दोस्रो संविधानसभा निर्वाचनमा मतदाता परिचयपत्र लिएका मतदाताले पनि पुनः मतदान केन्द्र पुगेर आफ्नो नयाँ मतदाता परिचयपत्र लिनुपर्नेछ। 'यसपालिको निर्वाचनमा मतदाता परिचयपत्र नभए मतदान गर्न पाइँदैन, आइतबारदेखि मतदाता परिचयपत्र वितरण सुरु भइसकेको छ,' आयोग प्रवक्ता शर्माले भने, 'मंगलबारसम्म मतदान केन्द्र पुगेर आफ्नो परिचय खुल्ने कागजात देखाएर मतदाता परिचयपत्र लिन सकिन्छ।' मतदाता परिचयपत्र लिन जाँदा मतदाता आफैं जानुपर्ने र आफैं जान नसकने अवस्थामा एकाघरको परिवारको सदस्य भएको यकिन गरी उसलाई परिचयपत्र दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

मतदाता परिचयपत्रसँगै सही तरिकाले मतसंकेत गर्न सिकाउन आयोगले हरेक मतदान केन्द्रमा कम्तीमा १ जना मतदाता शिक्षा कार्यकर्तालाई खटाएको छ। मतदाता शिक्षा कार्यकर्ताले नमुना मतपत्रमा मतसंकेत गर्न सिकाउने छन्। साथै मतदातालाई मतसंकेत गर्न सजिलो होस् भन्ने उद्देश्यले सक्कली मतपत्रसमेत मतदान केन्द्रमा अवलोकनका लागि राखिएको प्रवक्ता शर्माले बताए।

आयोगले वितरण गर्ने फोटोसहितको मतदाता परिचयपत्र मायड प्यान्टोग्राफ, माइक्रो टेस्ट, वाटरमार्क र प्रमाणीकरण गर्न सकिने क्युआर कोडसहित मतदाताको विस्तृत विवरणसमेत राखिएको छ । कागजमा छपाइ गरिएको परिचयपत्र लेमिनेसन गरिएको छ। राष्ट्रिय परिचयपत्र बाँड्ने तयारी सरकारले गरिरहेकाले केही वर्ष टिक्ने गरी विशेष सुरक्षा फिचरसमेत राखेर मतदाता परिचयपत्र छापिएको आयोगले जनाएको छ।

दोस्रो चरणको निर्वाचनमार्फत १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य निर्वाचित हुनेछन्। निर्वाचित हुने १५ हजार ३८ पदका लागि झन्डै ६२ हजार उम्मेदवार प्रतिस्पर्धामा छन्।

देशभरका ७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा गत वैशाख ३१ गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ। प्रदेश नम्बर २ को निर्वाचन सारेर असोज २ गते पुर्‍याइएको छ।

प्रकाशित: १२ असार २०७४ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App