coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दलहरूका भरोसा मजदुरकै बिचल्ली

झापा- कुनै आन्दोलन होस् वा चुनाव, दलहरूले ठूलो भीड देखाउनुपरे सुरुमै सम्भि्कने वर्ग हो चिया मजदुर। व्यवस्थित रूपमा विभिन्न संगठनमा आबद्ध उनीहरूको नेतृत्वलाई इसारा मात्रै गरे पुग्ने भएका कारण पनि दलहरूको शक्ति प्रदर्शनमा चिया मजदुर नै बलियो आड बन्दै आएका छन्। तर, दलहरूका लागि सधैं प्रयोग हुँदै आएका तिनै हजारौं चिया मजदुर भने दलहरूले 'हेर्ने'  प्राथमिकताको पुछारमा मात्रै पर्दै आएका छन्।

दशकौंदेखि उनीहरूले भोगिरहेका कयौं समस्या अझै पनि जस्ताको तस्तै रहनु, पेसागत सुरक्षाको हिसाबले उच्च जोखिममा रहनु र राजनीतिक प्रतिनिधित्वमा पनि उनीहरू विभेदमा परेका घटनाले दलहरूका लागि उनीहरू 'खोलो तर्‍यो लौरो बिर्स्यो' कै अवस्थामा रहेको पुष्टि हुन्छ।

'कतै नाराजुलुस गर्नुपर्‍यो भने ट्र्याक्टरमा लिन आउँछन् हामी पनि गइदिन्छौं', मेचीनगर–१५ को कालिका टी स्टेटकी मजदुर पन्ची राईले भनिन्, 'जसले बोलाउँदा पनि गइदिन्छौं। तर, नेताहरूले, सरकारले हाम्रो भलाइका लागि  कहिल्यै पनि केही गरेका छैनन्।' उनका अनुसार चिया बगानमा अहिले पनि मौसमी चिया मजदुरकै संख्या बढी छ। मालिकले आवश्यक परे काम दिने अन्यथा निकालिदिने नियति भोगिरहेका मजदुरलाई उनीहरू 'मौसमी' कामदार भन्छन्। 'यो पालि भोट माग्न आउनेलाई हामीले कामको ग्यारेन्टी गरिदिन माग गरिरहेका छौं', पन्चीले भनिन्।

पूर्वकै सबैभन्दा धेरै चियाखेती हुने झापामा त्यही क्षेत्रमा काम गर्ने मजदुरको संख्या ठूलो छ। विभिन्न मजदुर संगठनका अनुसार चिया क्षेत्रमा काम गर्ने मजदुर संख्या नेपालमा ७० हजार हाराहारी छ। त्यसको आधा हिस्सा झापामा छ। झापाका हरेक राजनीतिक दलहरूको पहिलो दाउ चिया मजदुरको भोट कसरी तान्ने भन्नेमै केन्द्रित हुन्छ। भोट तान्न र ठूलो भीड देखाउन मात्रै आफूलाई सम्भि्कने दलहरूले जितेपछि नहेरेको स्वाभाविक गुनासो सधैं गर्दै आएका छन्। 'हामीसँग बस्नलाई आफ्नो जमिन छैन, सुकुमबासी हौं', कुनैबेला सरकारी स्वामित्वमा रहेको टोकला चिया बगानकी मजदुर अञ्जु दर्जीले भनिन्, 'अहिले पनि हामीजस्ता चार सय परिवारले  बिजुली बाल्न पाएका छैनौं, खानेपानी पाएका छैनौं। सबैभन्दा ठूलो कुरा त कामबाट कतिबेला निकालिनुपर्ने हो कुनै ठेगान हुँदैन।' भूमिहीन, विपन्न आर्थिक हैसियतका, राम्रो शैक्षिक अवसरबाट वञ्चित नागरिक चिया क्षेत्रमा मजदुरी गरिरहेका छन्।

हजारौं मजदुर आबद्ध हुने, वर्षभरी काम चलिरहने क्षेत्र भए पनि चिया क्षेत्रका मजदुरको पेसा जोखिमपूर्ण हुँदै आएको छ। 'आठ घन्टा काम गर्दा ३१ केजी हरियो पत्ति टिप्ने टास्क दिएको हुन्छ', टोकला कमानकै मजदुर विदुर दर्जी भन्छन्, 'तर, आठ घन्टा काम गर्दा साढे ३० केजी मात्रै पत्ती पुग्यो भने आधा हाजिरामा चित्त बुझाउनुपर्छ।' बिदाको सुविधा स्थायी कर्मचारीलाई मात्रै हुन्छ। ४० वर्ष काम गरेर अवकाश पाउने स्थायी मजदुरले बढीमा ५० हजारसम्म उपदान पाउने गरेका छन्। 'हाम्रो पेसा सुरक्षित गरिदिने काममा अबका जनप्रतिनिधि लागिदिए हुन्थ्यो', विदुरको आशा छ।

यसबाहेक चिया मजदुरका अन्य समस्या पनि छन्, जसलाई राजनीतिक तहबाटै सम्बोधन हुनुपर्ने खाँचो छ। 'अहिले बगानमा मेसिनको प्रयोग बढेको छ तर मेसिन चलाउने मजदुरको विमा हुँदैन', टोकला कमानकै मजदुर परिवारका हरिबहादुर तामाङ भन्छन्, 'मेसिन चलाउँदा दुर्घटना भयो भने जिन्दगी सकियो। त्यस्तै बगानमा विषादी प्रयोग हुन्छ। विषादी छिट्ने मजदुरलाई मास्क, जुत्ता, ग्लोब्स केही दिँदैनन्। विषादीकै कारणले अनेकथरी रोग लाग्दा उपचार पनि गरिदिँदैनन्।' उनका अनुसार दलहरूका लागि सधैं मेरुदण्ड बन्ने चिया मजदुरको यो समस्याको भयावह पाटोलाई उनीहरूले बेवास्ता गरिरहेका छन्।  अब आउने जनप्रतिनिधिले यसबारे निश्चित नियम बनाइदिनुपर्ने उनको अपेक्षा छ।

चिया मजदुरको सबैभन्दा ठूलो समस्या र अपेक्षाचाहिँ दैनिक ज्यालासँग जोडिएको छ। ज्यालामा पनि बगानभित्र ठूलै विभेद छ। पुरुषलाई एउटा, महिलालाई अर्को। १५ वर्षअघि दिनको ५० रुपैयाँमा काम थालेको एक युग बित्दा मात्रै  एक सय ५८ रुपैयाँ ज्याला कमाइरहेकी टोकलाकै देवसरी राजवंशी अहिले दुई सय ५३ रुपैयाँ पाउँछिन्। बढ्दो महँगीमा यसले सामान्य आवश्यकता टार्न पनि धौधौ हुने उनको भनाइ छ।

नेपाल स्वतन्त्र चिया मजदुर युनियनका अनुसार पछिल्लो २०–२५ वर्षमा महँगीको एक अंश पनि नधान्ने ज्यालामा मजदुर खटिनुपरेको छ। युनियनका अनुसार २०४६ सालमा चिया मजदुरको दैनिक ज्याला २२ रुपैयाँ थियो। ४८ सालमा २७ रुपैयाँ भएको ज्याला ५० सालमा ३४, ५२ मा ४०, ५६ मा ५० रुपैयाँ ५० पैसा र ५८ सालमा ६२ रुपैयाँ पुग्यो। त्यसपछि ६० सालमा ७४, ६३ मा ९५ र ६६ सालमा एक सय नौ रुपैयाँ भएको ज्याला २०६८ मा एक सय ५८ रुपैयाँ पुगेको थियो। २०७२ देखि दुई सयभन्दा माथि पाउन थालेका हुन्। चिया मजदुरका नेता भरत राईका अनुसार ६० हजार  हाराहारीका मजदुरमध्ये थोरै मात्रै स्थायी छन्।  स्थायीले पनि बिरामी परेर काममा नजाँदा पैसा पाउँदैनन्। मौसमी कामदारको त झनै ठूलो समस्या छ। उनीहरू मालिकको आवश्यकताअनुसार मात्रै काममा लगाइन्छन्। वर्षको सात महिनाभन्दा बढी उनीहरू कामविहीन बन्नुपर्छ।

किसान र उद्योगीबीचको तनावको पर्याय भइसकेको पूर्वको चिया क्षेत्रमा काम गर्ने मजदुर त्यो दुई वर्गको झगडामा सधैं साँढेको जुधाइमा बाच्छाको मिचाइमा परेजस्तो हुन्छ। उद्योगीले मूल्यमा ठगेको भन्दै किसानले आन्दोलन गरिरहन्छन्। त्यसबेला बगानहरूमा काम ठप्प हुन्छ। मजदुरकै रोजीरोटी गुम्छ। कहिलेकाहीं महिनौंसम्म बगान ठप्प हुने गरेका छन्। 'हाम्रो अरू केही माग छैन', राईले भने, 'अब बन्ने स्थानीय सरकारले मजदुरको पेसागत सुरक्षाको ग्यारेन्टी गरिदिनुपर्छ।'

प्रकाशित: ११ असार २०७४ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App