८ वैशाख २०८१ शनिबार
अर्थ

सेयर ब्रोकर कमिसन झन्डै आधा घट्यो

काठमाडौं- सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क ४० प्रतिशतले घटेको छ। सेयर कारोबार लागत घट्दा लगानीकर्तालाई फाइदा हुने भएको छ। यसअघि अधिकतम कमिसन १ प्रतिशत भएकोमा ४० प्रतिशत घटेर ०.६० प्रतिशत भएको छ।

नेपाल धितोपत्र बोर्डले गरेको प्रस्तावमा केही थपेर अर्थ मन्त्रालयले कमिसन कटौती गर्ने निर्णय गरेको हो। बोर्डका अनुसार धितोपत्र व्यवसायी नियमावली संशोधन गरेर कमिसन कटौती गरिएको हो। बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले आठ वर्षअघि २०६४ सालमा ब्रोकर कमिसन ५० प्रतिशतले कटौती गरेको बताए। 'त्यसपछि बुधबार ४० प्रतिशतले कटौती गरिएको हो,' उनले भने, 'यसले लगानीकर्तालाई फाइदा पुग्नेछ।'

नेपालमा सेयर लगानीकर्ताबाट दक्षिण एसियाली सहयोग संगठन (सार्क)का अन्य मुलुकको तुलनामा सबैभन्दा बढी कमिसन असुल्ने गरिएपछि त्यसको सबैतिरबाट आलोचना हुँदै आएको थियो। 'अझै पनि कमिसन बढी नै हो,' अध्यक्ष कार्कीले भने, 'कारोबार रकम बढी हुन थालेपछि ब्रोकरलाई कमिसन कम नहुने उनको तर्क छ।

अब लगानीकर्ताले अधिकतम ०.६० प्रतिशतका दरले ब्रोकर कमिसन तिर्नुपर्छ। ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०.६० प्रतिशतका दरले कमिसन तिर्नुपर्छ। यसअघि अधिकतम १ प्रतिशत कमिसन थियो। त्यस्तै ५० हजारभन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०.५५ प्रतिशत, पाँचदेखि २० लाखसम्मको कारोबार गर्नेले ०.५० प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेले ०.४५ प्रतिशत र एक करोड रुपैयाँभन्दा माथिको कारोबार गर्नेले ०.४० प्रतिशतका दरले कमिसन तिर्नुपर्ने छ।

स्टक एक्सचेन्जले नयाँ कमिसन दर लागू गर्नेछ। स्टकलाई यो दर यथाशीघ्र लागू गर्न नियमनकारी निकाय बोर्डले निर्देशन दिएको छ। नयाँ व्यवस्थामा साना लगानीकर्तालाई बढी र ठूला लगानीकर्तालाई कम दरमा कमिसन लाग्ने भएको छ। सानाले ०.६० प्रतिशत र ठूलाले ०.४० प्रतिशत कमिसन तिर्नुपर्छ।

नयाँ कमिसन दरअनुसार औसतमा ब्रोकर कमिसन ४० प्रतिशतसम्म घट्न सक्छ। सेयर कारोबार रकम निकै उच्च भएकोले ब्रोकर कम्पनीहरुलाई खास असर नपर्ने विश्लेषण बोर्डको छ।

ब्रोकर कमिसनसँगै नेपाल स्टक एक्सचेन्जकोे आम्दानी पनि घट्नेछ। नयाँ व्यवस्था अनुसार नेप्सेले कुल ब्रोकर कमिसनको २० प्रतिशत पाउँछ। यसअघि २५ प्रतिशत पाउने व्यवस्था थियो।

ब्रोकरकै कमिसन घट्ने भएपछि नेप्सेको आम्दानीमा असर देखिनेछ। नयाँ प्रावधान अनुसार नेप्सेले पाउने कमिसन करिब ५० प्रतिशतसम्म घट्न सक्छ। नेप्से सरकारी स्वामित्वको कम्पनी हो।

धितोपत्र बोर्डलाई ब्रोकरले ०.६ प्रतिशतका दरले शुल्क बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ। यसअघि बोर्डलाई शुल्क तिर्नु पर्दैनथ्यो।

प्रकाशित: ६ श्रावण २०७३ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App