coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

कांग्रेसका लागि आत्मघाती

नेपालमा अहिले सिद्धान्तहीन र अराजक राजनीतिको प्रयोगको चरम अवस्था अनुभूत गर्न सकिन्छ। नेपाली कांग्रेस र एमाओवादी केन्द्रबीच अनि एमाले र राप्रपाबीचको तालमेललाई बौद्धिक वर्गले सिद्धान्तहीनता र अवसरवादका रूपमा हेरेका छन्। एमालेसँग तालमेल गरेको राप्रपा ध्वस्त भएको छ। कांग्रेसको अवस्था पनि त्यस्तै हो। स्थानीय तहको दोस्रो चुनावमा पनि कांग्रेसको स्थिति सुध्रने देखिँदैन।

देउवाले स्थानीय तहको पहिलो चरणको चुनावभन्दा अघि र पछि पनि माओवादी केन्द्रसँग दीर्घकालीनरूपमा सहकार्य गर्ने बताउँदै आएका छन्। त्यसको अर्थ हुन्छ– अब कांग्रेस पार्टी आफँैं गरिखान असमर्थ छ। देउवा र दाहालबीचको सहकार्यले राजनीतिकरूपमा गुमाउने कांग्रेस र केही भए पनि प्राप्त गर्ने माओवादी देखिएको छ।

संविधानसभाको दोस्रो चुनावमा सम्मानजनक मत पाएको कांग्रेस स्थानीय तहको प्रथम चरणको स्थानीय चुनावमा एमालेभन्दा निकै तल देखिएको छ। संविधानसभाको चुनावमा कांग्रेस र एमालेभन्दा निकै तल रहेको माओवादी केन्द्रसँग कांग्रेसको तालमेल र पार्टी सभापति शेरबहादुर देउवाको आत्मसमर्पण शैलीको तालमेललाई अधिकांश कांग्रेसजन र कांग्रेसलाई मत दिँदै आएका अधिकांश प्रजातन्त्रप्रति विश्वास राख्ने मतदाताले धेरै महानगरपालिका क्षेत्रमा कांग्रेसभन्दा अलक–ढलक मतदान गरेको देखियो। आगामी स्थानीय चुनाव र प्रान्त तथा राष्ट्रिय चुनावमा कांग्रेसले लिएको अहिलेको रणनीतिले गर्दा ऊ अरू ध्वस्त हुने सम्भावना देखिन्छ। सुशील कोइरालाले संसद्को चुनाव जितेको भरतपुर कांग्रेसको अत्यन्तै सवल चुनाव क्षेत्र मानिन्छ। पुष्पकमल दाहाल पुत्रीलाई जिताउने अभिप्रायले चुनावमा मनोनयन गरिसकेका उम्मेदवारलाई मनोनयन फिर्ता गराएको, काठमाडौंमा आमजनमानसमा नचिनिएका उम्मेदवारलाई टिकट दिएकामा पनि राजधानीका कांग्रेस र कांग्रेसलाई मत दिँदै आएका थुप्रै व्यक्तिले साझा पार्टी र विवेकशीलका उम्मेदवारलाई मतदान गरे।

धेरै कांग्रेस कार्यकर्ताको के मूल्याङ्कन देखिएको छ भने कांग्रेस र माओवादीबीच तालमेल भएको ठाउँमा माओवादीबाट कांग्रेसलाई मतदान भएको छैन। त्यसैगरी कांग्रेसले एमालेलाई वा राप्रपालाई मत दिएका छन्। कतिले उम्मेदवार नभए पनि रूखमै छाप लगाए। काठमाडौंमा साझा पार्टी र विवेकशीलले साझा उम्मेदवार दिन्थे र भरसक सबै महानगरपालिकामा राम्रा व्यक्तिलाई उम्मेदवार बनाएर सहभागिता जनाउँथे भने कांग्रेसको अहिलेभन्दा पतला हालत हुन्थ्यो। मतदाताले कांग्रेसको विकल्प खोजेको देखियो।

मैले कांग्रेसका केही माओवादीपीडितलाई कांग्रेस–माओवादी गठबन्धन किन फलदायी हुन सकेन भनेर सोधेको थिएँ। उनीहरूको प्रतिक्रिया थियो– दशवर्षे हिंसात्मक विद्रोहको बेला माओवादीको सबैभन्दा ठूलो सत्रु कांग्रेस नै थियो। कांग्र्रेसलाई माओवादीले वर्गशत्रु घोषण नै गरेको थियो। कांग्रेसलाई खोजीखोजी, एमोललाई रोजीरोजी सखाप गर्ने माओवादीको मूल नारा थियो। हिंसात्मक युद्धमा माओवादीले हत्या गरेका कांग्रेस कार्यकर्ता मात्र ७ हजारको हाराहारीमा भएको कांग्रेस पार्टीकै मूल्याङ्कन छ।

कांग्रेसका कतिपय सक्रिय कार्यकर्ता जो द्वन्द्वपीडित छन् र कांग्रेस भएकै कारण माओवादीबाट प्रताडित थिए, उनीहरू पार्टी सभापति र पार्टीको फरमानमा माओवादीलाई मत हाल्नुभन्दा एमाले वा राप्रपालाई भोट हाल्नेछन्। पार्टीले माओवादी उम्मेदवारलाई भोट हाल्न बाध्य पार्ने स्थितिमा कांग्रेसबाटै पलायन हुने वा राजनीति छोडेर तटस्थ बस्ने पक्षमा पनि देखिएका छन्। चितवनका केही सक्रिय कांग्रेसले के भनेको सुनियो भने शेरबहादुरले पैसा र प्रधानमन्त्रीको पद पाउनका लागि कांग्रेस पार्टी नै माओवादीलाई बेच्ने काम गरे। भरतपुरका थुप्रै कांग्रेस मतदाताले या रूखमै मत हाले वा एमालेलाई हाले।

पार्टी सभापति र वर्तमान प्रधानमन्त्री देउवाले स्थानीय तहको पहिलो चरणको चुनावभन्दा अघि र पछि पनि माओवादी केन्द्रसँग दीर्घकालीनरूपमा सहकार्य गर्ने बताउँदै आएका छन्। त्यसको अर्थ हुन्छ– अब कांग्रेस पार्टी आफँैं गरिखान असमर्थ छ। देउवा र दाहालबीचको सहकार्यले राजनीतिकरूपमा गुमाउने कांग्रेस र केही भए पनि प्राप्त गर्ने माओवादी देखिएको छ।

माओवादीसँग कांग्रेसको दीर्घकालसम्मको सहकार्यको अर्थ हुन्छ– कांग्रेसको शीघ्र पतन। यसरी पतन हुने शक्तिहरू संसारमा धेरै छन्। समयको प्रवाहले कसलाई पो छाडेको छ र? भारतमा सन् १९४७ पछि पचास वर्षसम्म एकछत्र राज्य गरेको कांग्रेस पार्टी सन् २०१७ मा उत्तर प्रदेशमा समाजवादी पार्टीसँग तालमेल गर्दा झण्डै झण्डै अस्ताउने अवस्थामा पुगेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेलले कांग्रेस पतोन्मुख अवस्थामा पुगेको छ।

९–१० महिनाको माओवादी–कांग्रेस तालमेल सरकारको केही अपवाद छाडेर केही राम्रा काम भए पनि कांग्रेसका केही मन्त्री निकै अक्षम देखिए। अहिले बूढीगण्डकी चिनियाँ कम्पनीसँगको डिलमा माओवादी पार्टीले ठूलो राष्ट्रघात गरेको कुरा जलस्रोतमा निकै ज्ञान भएका अनुभवी राजनीतिज्ञ र विज्ञहरूले बताएका छन्। एमाले र कांग्रेसको मौनतालाई पनि संशयका रूपमा हेरिएको छ।

 राइज एन्ड फल्स अफ ग्रेट पावर पुस्तकमा सो पुस्तकका लेखक पौल केनडीले कुनै पनि पार्टी, कुनै पनि देश, युद्ध र व्यक्तिको पतनमा लाचार, सर्टसाइटेड नेतृत्व भएको बेलामा हुन्छ भनेका छन्। अहिलेको कांग्रेस पार्टीको नेतृत्व पउल केनेडीले भनेजस्तै लाचार र निकम्मा नै हो

त? कांग्रेस पार्टीको माओवादीसँगको तालमेल दीर्घकालीन हो भन्नुले कांग्रेस पार्टीको शीघ्र पतनका लागि मूल ढोका उसैले खोलेको रूपमा हेर्नुपर्ने हुन्छ। जबकि ९५ प्रतिशत कांग्रेसी कार्यकर्ता अहिलेको तालमेलसँग सहमत देखिँदैनन्। 

 काठमाडौंमा पहिलो चरणको स्थानीय चुनावमा क्रममा कांग्रेसलाई मत दिँदै आएका असी वर्ष नाघेका एक मतदाताको भनाइ थियो– २०१५ सालदेखि नै कांग्रेसलाई मत दिँदै आएको हुँ। तर यो पटक ओलीलाई दिएँ। मेरो परिवारका ११ जनाले नै उनैलाई दियौँ। मध्यमवर्गीय र किसान वर्गका ती वृद्धलाई कांग्रेसको माओवादीसँगको तालमेल ठीक लागेन रे। अनि अर्का ८५ वर्षीय वृद्धले भने कि भारतसँग नझुकेको र चीनसँग बाटो खोलेकाले ओली मन पर्‍यो। मेरो घरका ६ जना सबैले उनैलाई दियौँ। यी वृद्ध भनाइ कांग्रेस पार्टीमा अहिले देखिएको सैद्धान्तिक विचलन वा नेपाली राजनीतिको ठूलो कोल्टे फेराइको छर्लंग उदाहरण हो।

 कांग्रेसलाई मत हाल्ने थुप्रै मानिसले काठमाडौंमा कसैले क्यामेरा, साझा पार्टी र केहीले अस्कोटलाई मत दिए। कतिले मेयरबाहेक अरू (एमाले–कांग्रेस) लाई लहरै मत दिए। कतिले परम्परागत मतदातामा आएको परिवर्तनलाई नानीमैया वा गोल्चे सार्की शैलीको मत परिवर्तन पनि भने। कांग्रेसका कार्यकर्ताले पनि त्यस्तो सोचेर चित्त बुझाएको पाइयो। २०३६ सालको जनमत संग्रहमा बिपी कोइरालाले वामपन्थीहरूसँग एउटै मञ्च सेयर गर्नसमेत मानेनन्। यसप्रति मार्क्सवादीहरू मनमोहनसमेतले चित्त दुखाएका थिए।

 अहिले आएर हेर्दा एमाले र राप्रपाको तालमेल सही नै देखिन्छ। छत्तीस सालमा बिपीले 'माले, मसाले र मण्डले एउटै हुन्' भनेका थिए। तत्कालीन मशाल नै अहिलेको माओवादी हो। २०६३ सालमा नै गिरिजाले माओवादीसँग हात मिलाएर राजा फ्याँकेका हुन्। यस पटकको स्थानीय चुनावमा अधिकांश माओवादीबाट पीडित कांग्रेसमा आएको परिवर्तनलाई प्याराडाइम सिफ्ट नै बताउँछन्। माओवादीलाई मत हाल्नुभन्दा कांग्रेस पार्टी नै त्याग गर्ने मनस्थितिमा पनि थुप्रै कांग्रेस कार्यकर्ता देखिए।

 कांग्रेसले सत्ताका लागि पार्टीको सिद्धान्त नै परिवर्तन गरेको हो त? किन कांग्रेसको केन्द्रीय समितिमा रहेका रामचन्द्र, रामशरण महत, केबी गुरुङ जस्ता खारिएका र सबैले पत्याएका नेताले देउवाले चाहेको जस्तो सिद्धान्तहीन चुनावी तालमेललाई चुनौती दिन सकेनन्? के त अहिलेको कांग्रेसलाई सिद्धान्तभन्दा सत्ता नै ठूलो हो?

 कांग्रेसलाई माया गर्ने र प्रजातन्त्र प्रजातन्त्र भन्ने ठूलो संख्याका निष्ठावान कार्यकर्ता अलमलमा छन्। एउटा पार्टीमा सिद्धान्त भनेर जीवनभर कुर्बानी गरेको कार्यकर्ता नेताका गुलाम नै हुन् भन्ने सोच गलत हो। अहिलेको कांग्रेस नेतृत्वले बिपी, गणेशमान, सुवर्ण र कृष्णप्रसादको आदर्श बोक्न सक्ने सम्भावना देखिँदैन। यसको अर्थ हुन्छ– कांग्रेस अब चीनको सनयात सेनको कोमिन्ताङ र भारतको राष्ट्रिय कांग्रेसकै गतिमा तीव्ररूपमा पतनोन्मुख छ। नेपालमा कांग्रेसको विकल्प के हुन सक्छ? कांग्रेस सुध्रन्छ वा अरू नै विकल्प छ? समयले मात्रै उत्तर देला। काठमाडौं उपत्यकामा स्वतन्त्र उम्मेदवारले पाएको मत हेर्दा ठूलो संख्यामा मतदाता परिवर्तनको पक्षमा देखिएका छन्। यसबाट पनि कांग्रेसले बुझ्ने हो कि?

प्रकाशित: ९ असार २०७४ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App