coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिंहदरबारको अधिकार गाउँमै आएको आभास दिलाउन शिविर

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा पहिलो पटक सञ्चालित घुम्ति शिविरमा नागरिकता बनाउनेको भिड । तस्बिरहरू : ध्रुव दङ्गाल

सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ मंगलबार निकै बेफुर्सदिला देखिन्थे । स्थानीयलाई सरल र सहज ढंगले गाउँपालिकाबाट सेवा दिन बिहानैदेखि खटिएका थिए उनी । प्राथमिकताका आधारमा ‘फास्ट ट्रयाक’ बाट काम गर्न उनी बारम्बार वडाध्यक्ष र सचिवलाई सुझाउँदैनथे मात्र सेवाग्राहीको भीड व्यवस्थापन गर्न आफैँ अग्रसर थिए । 

गाउँपालिकाको केन्द्र नवलपुरमा सेवा लिन आएका स्थानीयको चहलपहल अरु दिनभन्दा बाक्लै थियो । नागरिकता प्रमाणपत्र सिफारिस, विवाह, जन्म, मृत्युदर्ता प्रमाणपत्र र अन्य कागजात प्रमाणिकरण गर्न वडाध्यक्षहरु व्यस्त थिए । एकैथलो केन्द्रस्थित कार्यालयबाट कृषि, पशु, स्वास्थ्य, नागरिकता, जेष्ठ नागरिक प्रमाणपत्र र अपांग परिचयपत्र वितरण भइरहेकाले गाउँपालिका अध्यक्ष तामाङलाई आवश्यक व्यवस्था मिलाउन भ्याइ–नभ्याइ हुने नै भयो । 

स्थानीयलाई घरदैलोमै सरकारी सेवा दिन मंगलबार यहाँ सञ्चालित एकीकृत घुम्ती शिविरले ‘सिंहदरवारको अधिकार गाउँमा आएको’ झल्को दिन्थ्यो । साविकका सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाँडेगाउँ, सिपापोखरे, भीमटार र भोटसिपा गाविस मिलेर बनेको यो गाउँपालिकामा स्थानीय तहको निर्वाचनपछि पहिलो पटक घुम्ती शिबिर आयोजना गरिएको हो । 

‘परिवर्तित संरचनामा स्थानीय तहको निर्वाचनपछि स्थानीयलाई सिंहदरवारको अधिकार गाउँमै आएको अनुभूति दिलाउन शिविर चलाइएको हो,’ गाउँपालिका अध्यक्ष तामाङले नागरिकसँग भने । सिंहदरवारको अधिकार गाउँमा पुगेको भनिए पनि आवश्यक कानुन नबन्दा के, कस्ता अधिकार प्रयोग गर्ने भन्ने अन्योल जनप्रतिनिधिमा रहेको उनले प्रष्ट पारे । अमेरिकी ग्रिनकार्ड त्यागेर अध्यक्ष जितेका उनले थपे, ‘गाउँबाट के, कस्ता सेवा उपलब्ध हुने भन्ने चासो गाउँलेमा थियो । शिविरले उनीहरुको जिज्ञासा केही सम्बोधन गरेको छ ।’

स्थानीय तहको निर्वाचनपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा मुलुकमै पहिलो पटक सञ्चालित शिविरमा सेवा दिन निकट भविष्यमा गाउँ जाने भनिएका अधिकांश सरकारी निकायको उपस्थिति थियो। शिविरबाट जिल्ला प्रशासन, महिला तथा बालबालिका, पशु, कृषि, स्वास्थ्य कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्रदान हुने सेवा एकैथलोबाट प्रदान गरिएको थियो । 

स्थानीय प्रशासनका अनुसार शिविरमा ३ सय २ जनाले नागरिता प्रमाणपत्र बनाए । बालीनाली, माटो परीक्षण र भूगोल सुहाउँदो बिउबिजनसहित १ सय ५० कृषकले कृषि सेवा लिए । १ सय ३० स्थानीयका पशुचौपायाको स्वास्थ्य परीक्षण गर्दै औषधी वितरण गरियो । चिकित्सक टोलीले ४ सय स्थानीयको विभिन्न रोगको स्वास्थ्य परीक्षण गर्दै औषधी बाँडेको थियो । ४४ वृद्धवृद्धालाई जेष्ठ नागरिक प्रमाणपत्र दिएको महिला तथा बालबालिका कार्यालयले शारिरीक रुपमा अशक्त ३० लाई अपांग परिचयपत्र प्रदान गर्याे । 

उच्च शिक्षा अध्ययनका लागि गाउँ छाड्नु अघि माध्यमिक शिक्षा परीक्षामा सहभागी विद्यार्थी, वृद्धवृद्धा र अशक्तले शिविरबाट ठूलो लाभ लिए । प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले स्थानीयमा सिंहदरबारको अधिकारी गाउँमा आएको आभास दिलाउन र जनप्रतिनिधिलाई त्यसको अभ्यास गराउन शिविर सफल भएको बताए । ‘स्थानीय तह सञ्चालनका लागि आवश्यक कानुन नबनुन्जेल र विकासे कार्यालय गाउँ नगइन्जेल गाउँलेलाई सिंहदरवारको अधिकारी गाउँ आएको अनुभव दिलाउन यस्ता शिविर चलाइरहन्छौँ,’ उनले भने । 

तामाङ समुदाय बाहुल्य हिमाली गाउँ सिम्पालकाभ्रेदेखि माझी, दनुवार बसोबास रहेको इन्द्रावती नदी किनारसम्म फैलिएको यो गाउँपालिका जिल्लाको मध्यक्षेत्रमा रहे पनि पूर्वाधार विकास र सहज सरकारी सेवा प्रवाहको पहूँचबाट अझै टाढै छ । सिपापोखरे र भीमटारका बासिन्दा सरकारी सेवा लिन एक दिन लगाएर काभ्रे हुँदै दोलालघाट घुमेर सदरमुकाम पुग्न बाध्य छन् । 

हिमाली गाउँ सिम्पालकाभ्रेवासी झन् धेरै सास्ती खेप्दै आइरहेका छन् । समय र खर्चले चौतारा पुगेर पाउने सेवा उनीहरुको लागि महंगो बन्दै आएको छ । ‘गाउँबाटै सबै सरकारी सेवा पाउने दिन छिट्टै आउनु पर्छ,’ शिविरमा दुई अशक्त छोरा कमलबहादुर र प्रितमबहादुरको अपांग परिचयपत्र बनाएका सिम्पालकाभ्रेका वीरबहादुर मगरले भने। 

        

प्रकाशित: ८ असार २०७४ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App