७ वैशाख २०८१ शुक्रबार
राजनीति

मतदाता फकाउँदै चुनावी प्रतिश्पर्धामा उम्मेद्वार

घरदैलो गरेर भोट माग्दै एमालेका उम्मेदुवार चिन्तन तामाङ । तस्बिरः सिद्धराज राई

धनकुटा – स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा धनकुटाको तीनवटा नगरपालिकामा कांग्रेस, एमाले, माओबादी केन्द्र र राप्रपाका उम्मेदवारहरू मतदातालाई फकाएर आफ्नो पक्षमा पार्न प्रतिस्पर्धा गरिरहेका छन् । एमालेलाई पुरानो बर्चश्व जोगाउन र अरु दललाई नयाँ ईतिहास कायम गर्नको लागि मतदाताको मन जित्न घरघरमा चुनावी कार्यक्रम गरिरहेका छन् । 

जिल्ला सदरमुकाम रहेको धनकुटा नगरपालिकामा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाबीच प्रतिस्पर्धा देखिएको छ । १८ हजार १२९ मतदाता रहेको धनकुटा नगरपालिकामा सबै पार्टीका उम्मेद्वारले जित्ने दाबी गरेका छन् । बुधबार धनकुटा नगरपालिकाको बजारमा घरदैलो कार्यक्रम गरिरहेका एमालेका मेयर उम्मेद्वार चिन्तन तामाङले धनकुटा नगरमा एमालेको जित सुनिश्चित भएको बताए । एमालेको टोलस्तर सम्म संगठन भएको, धनकुटाको विकासमा एमालेको भूमिकाको कारण चुनाव जित्ने दाबी गरे । एमालेका मेयर र उपमेयरले २ पटक घरदैलो कार्यक्रम गरिसकेका छन् । एमाले धनकुटाकै योजनाकार र शालिन व्यक्तित्व भएकाले तामाङ प्रति मतदाताको आकर्षण बढेको विश्लेषण रहेको छ । 

त्यस्तै कांग्रेसका उम्मेद्वार दिनेस राईले पनि प्रत्येक वडामा २ पटक चुनावी अभियान चलाई सकेको छ । धनकुटा नगरमा पहिले देखिनै कांग्रेसको पकड् भएकाले जित्ने दाबी उनको रहेको छ । आठपहरिया राई जातीको निकै ठूलो जनसंख्या रहेको र जातीय विचार राख्ने व्यक्तिको समर्थन पनि राईलाई रहेको छ । कांग्रेसका युवामा लोकप्रिय रहेका राईले स्वास्थ्य बिमा, रोजगारी र नमुना धनकुटाको नारा दिएका छन् । 

माओवादी केन्द्रका उम्मेद्वार गणेस विष्टले पनि टोलटोलमा सभा, अन्र्तक्रिया कार्यक्रम गरिरहेको बताए । धनकुटामा माओवादी केन्द्रका संगठन बालियो रहेको र एमाले कांग्रेसमा वितृष्णा बढेकाले माओवादी केन्द्रमा लहर आएको दाबी उनले गरे । नगरको १० वटा मध्ये ४ वटामा जित्ने दाबी गरेका विष्टले नगरमा एमाले र कांग्रेस संग प्रतिस्पर्धा रहेको बताए।

राप्रपाका उम्मेद्वार बालनन्द भुर्तेलले पनि जित्ने दाबी गरेका छन् । बजार क्षेत्र, बेलहरा र भीरगाउँबाट राम्रो मत आउने अपेक्षा भुर्तेलको रहेको छ । धनकुटा नगर ८ जना मेयरका उम्मेद्वार रहेका छन् ।  

यो नगरमा २०४९ सालमा कांग्रेसले र २०५४ सालमा एमालेले जितेको थियो । यसपटक बेलहरा र भीरगाउँ पनि मिसिएकाले कस्ले जित्छ भन्ने टुंगो नभएको बताइएको छ । क्षेत्री बाहुन, आठपहरिया, नेवार, तामाङ र मगर जातीको बसोबास रहेको यो नगरमा पार्टी कार्यकर्ताको मत संगै जातीय, भुगोल र पैसामा विक्ने मत समेत आउने दावी उम्मेदवारहरुको रहेको छ । धनकुटा नगरपालिका क्षेत्रमा पैसाले किन्न सकिने मत करीब एक हजार रहेको राजनीतिक दलहरुले बताएका छन् । धनकुटा नगरका सवै उम्मेदुवारले मतदाता तन्नको लागि धनकुटालाई प्रादेशिक राजधानी बनाउने नारा उठाएका छन् । 

त्यसैगरी ६ वटा गाविस मिसाएर बनेको पाख्रीबास नगरपालिकामा एमालेको विर्खबहादुर राई, कांग्रेसकी ईन्दिरा थापा र राप्रपाका श्याम गुरुङ बीच प्रतिस्पर्धा देखिएको छ । २०५४ सालको स्थानीय निर्वाचनमा सबै गाविस जितेको एमालेले यस पटकपनि जित निकाल्ने दाबी गरेको छ । २०५४ सालको स्थानीय निर्वाचनमा साविक मुगा गाविसबाट अध्यक्षमा निर्वाचित भएका एमालेका उम्मेदुवार राई विवादमा नपरेका ब्यक्ति हुन् । 

यो नगरमा कांग्रेसको संगठन कमजोर भएपनि सामाजिक कार्य गरेकी थापा उम्मेद्वार भएकाले मतदाताले भोट हाल्ने विश्वास कांग्रेसको रहेको छ ।  केयर वमेन मार्फत महिलाको पाठेघर खस्ने रोगको उपचारमा सक्रिय रहकी थापाले महिलाहरुको मत तान्ने आँकलन रहेको छ । राप्रपाका महामन्त्री सुनिलबहादुर थापाको गृहनगर भएकाले यो नगरमा राप्रपा बलियो रहेको छ । सुनिलबहादुर थापा आफै मत माग्दै गाउँगाउँ गइरहेकाले मतदाताको आकर्षण देखिएको छ । यो नगरमा माओवादी केन्द्र चौथो स्थानमा रहेको छ । अन्तरिक विवाद र गुटको कारण कमजोर भएको बताईएको छ । २०७० को संसदिय निर्वाचनमा सान्ने र चुङवाङबाट एमालेले र मुगा, पाख्रीबास, फलाटे र घोर्लीखर्कबाट राप्रपाले धेरै मत पाएको थियो । पाख्रीबास नगरपालिकामा १३ हजार ९३० मतदाता रहेको छ । यो नगरमा ६ जनाले मेयर पदमा प्रतिस्पर्धा गरिरहेका छन् । 

त्यस्तै ६ वटा गाविस मिलाएर बनाएको महालक्ष्मी नगरपालिकामा १५ हजार ७८३ मतदाता रहेको छ । यो नगरपालिकामा कांग्रेस र राप्रपाले तालमेल गरेका छन्  । एमाले र माओवादी  केन्द्र एक्लाएक्लै चुनावी अभियान रहेका छन् । कांग्रेसका जिल्ला सभापति अग्नि पौडेल आफै मेयर उम्मेद्वार बनेका छन् । २०४९ सालको स्थानीय निर्वाचनमा अर्खौलेजितपुर गाविस अध्यक्षमा निर्वाचित पौडेल राप्रपा संगको तालमेलको कारण जित्न सक्ने दाबी गर्छन । 

यो नगरमा एमालेले युवा नेता पर्शुराम नेपाललाई उम्मेद्वार बनाएको छ । सामाजिक संघसंस्थामा सक्रिय नेपाल युवा माँझ लोकप्रिय रहेका छन् । एमालेभित्र गुटको राजनीति भएपछि टिकट पाएका नेपाललाई असन्तुष्ट पक्ष मिलाउन सकस परिरहेको छ । यो नगरमा माओवादी केन्द्रले रामबहादुर नेपाललाई उम्मेद्वार बनाएपनि खासै प्रभाव देखिन्दैन । यो नगरमा एमाले र कांग्रेस राप्रपाको तालमेल बीच नै प्रतिस्पर्धा छ । जित कस्को हुन्छ, आँकलन गर्न मुस्किल रहेको स्थानीय मतदाता ईन्द्र पौडेलले बताए । 

२०४९ सालको स्थानीय निर्वाचनमा ६ वटै गाविसमा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको थियो । मारेककटहरे, डाँडागाउँ र मुर्तिढुंगामा एमालेको पकड् रहेको छ । अर्खौलेजितपुर, लेगुवा र चानुवामा सवैपार्टीको प्रतिस्पर्धा रहेको छ ।  यो नगरमा ६ जनाले मेयरमा प्रतिस्पर्धा गरिरहेका छन् । 

यो नगरमा लक्ष्मीखोला वारी र पारी बीच अन्तरविरोध रहेको छ । नगरपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा पनि राजनीतिक दल भित्रै अन्तरद्वन्द्व रहेको छ । त्यसैले दुवै क्षेत्रका मतदाताको मन जित्ने उम्मेद्वारले जित्न सक्ने स्थानीयको भनाई रहेको छ । 

 

प्रकाशित: ७ असार २०७४ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App