coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

योगले जोड्ने काम गर्छ

जुन २१ लाई विश्वभर अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाइन्छ । योग अर्थात जोड ंजसले सधैँ जोड्ने र सपार्ने काममात्र गर्छ । सामान्यतः सबैले बुझेको योगचाहिँ शारीरिक व्यायाम हुन सक्छ । अझ आजकल त आधुनिकीकरण र अंग्रेजीकरण भएर योग योगा भएको छ । अवश्यमेव योगको पहिलो चरण शारीरिक व्यायामबाट सुरु हुन्छ । योग र यसका आसन, प्राणायाम, ऊर्जा जागरणले हाम्रो शरीर स्वस्थ राख्न मद्दत गर्छ तर  यसको अन्तिम लक्ष्य अन्तर्मुखी बनाउनु हो । शरीर र मनभन्दा पनि परको चेतना जगाउनु हो । योग अर्थात् जोड मनुष्यलाई  संसारबाट अध्यात्मतिर जोड्नु, मनबाट आत्मासँग जोड्नु  हो। योग भएन भने वियोग हुन्छ अर्थात् मनुष्य बहिर्मुखी हुन्छ, संसारमै भड्किन्छ र प्रेम अनि आत्माको मिलनसँग परिचित हुनबाटै वञ्चित हुन पुग्छ । वियोग हुँदा हामीले जोडेको घरबार, प्रेम, सम्पत्ति, मित्रजन त छुट्छन् भने अस्तित्वबाट प्राप्त शरीर, शरीरसँगै जोडिएको आत्मा र त्यो परम चैतन्य हँुदै परमको अनुभूतिका लागि योग अवश्य जरुरी छ । अझै गहिराइको कुरा गर्नुपर्दा त्यो परमको त्यो चैतन्य स्वरूपको अनुभूति गर्ने र स्वयंमा स्थित हुने अनि स्वयंको स्वभावमा जिउनु नै मनुष्यको स्वभाव हो, यही नै योगको मर्म हो ।

योगलाई ध्यानबाट अलग गरियो भने त्यसले पूर्णता पाउँदैन । हामीले आर्जन गर्ने सबैभन्दा महत्वपूर्ण धन रामरतन धन पनि योग र ध्यानबाटै प्राप्त हुन्छ । रामरतन धनको ब्यालेन्स बढाउन कुनै कष्ट र दौडधूप आवश्यक छैन । स्वयंभित्र डुब्ने कलाबाट रामरतन धन प्राप्त गर्न सकिन्छ । जतिसुकै भौतिक सम्पन्नता आर्जन गरे पनि, जति प्रतिष्ठा हासिल गरे पनि एकाधबाहेक आजको मानिस समस्या नै समस्याले जेलिएको पाइन्छ । क्रोध आउनु, रिस उठ्नु, बिर्सने बानी, खराब संगत अर्थात कुलतमा फस्नु, तनावमा जानु सबै ध्यानको अभाव हो। त्यसैले योग र ध्यान नै उसका लागि समस्याको समाधान हो भन्दा अनपयुक्त हुँदैन ।

आजका मानिसमा योग भनेको ऋषिमुनिले गर्ने अभ्यास र साधारण मानिसले गरे पनि उमेर पुगेपछि गर्ने अभ्यास हो र अझ फुर्सदिला मान्छेले गर्ने हो भन्ने भ्रम फैलिएको छ एकातिर भने अर्कोतिर मोटो भएपछि, रोग लागेपछि, डाक्टरले भनेपछि गर्ने अभ्यास हो भनेर लिएको पाइन्छ । आजकल बढ्दै गएका आधुनिक व्यायामस्थल र मेसिनहरूको माध्यमबाट व्यायाम गर्नेहरूको संख्या बढ्दै जाँदा र त्यसको नियमितता र संयमता नहुँदा तालमेल नमिलेको र सन्तुलित व्यायाम हुन नसकेको देखिन्छ । समय पाउँदा, छुट्टी मिल्दा गर्नुपर्नेभन्दा बढी व्यायाम गर्ने र समय नमिल्दा छाड्ने बानी छ धेरैको । छुट्टी छ म जिम जोइन गर्छु भन्ने सुनिन्छ । त्यसैले त व्यायाम र योगमा फरक छ ।

प्रयत्नपूर्वक, परिश्रम गरेर गरिने अभ्यास व्यायाम हो भने मानवीय स्वभाव योग हो । योग गरे पनि, नगरे पनि हामीभित्र चलिरहेको छ । शारीरिक अभ्यास मात्र नभएर हरेक कर्मप्रतिको सजगता र जागरण नै योग हो । व्यायामले शारीरिक स्वस्थता र तन्दुरुस्ती प्रदान गर्छ भने योगले मानसिक एवं आत्मिक शान्ति प्राप्त हुन्छ । त्यसमाथि व्यायाम पनि छुट्टीमा मात्र गर्ने अभ्यास होइन । जसरी हाम्रो शरीरलाई आराम चाहिन्छ नियमित त्यसरी नै व्यायाम पनि चाहिन्छ । स्वस्थ, मस्त र प्रेमल रहन समय पाउँदामात्र गर्ने व्यायामलाई सम्यक व्यायाम भनिँदैन । आजकल थुप्रै योग केन्द्र खुलेका छन् । अनेक विधिले योग सिकाइन्छन् । व्यायामको नामबाट पनि थुप्रै केन्द्र खुलेका छन् तर कुन विधि सही छ र कुन प्रशिक्षक सही छन्, कुन विधि आफूलाई उपयुक्त छ र कुन योगले आफूमा सकारात्मक रूपान्तरण ल्याउन मद्दत गर्छ, त्यो छुट्टयाउन सक्नुपर्छ ।

सिकाउने प्रशिक्षकले विधिमात्र सिकाउने होइन, चेतना जागृत गराउने काम पनि गर्नुपर्छ किनकि जुन सिकाइले जीवनमा शान्त रहन र सकारात्मक रूपान्तरण गर्न सहयोग गर्दैन, त्यो सिकाइ सही सिकाइ हुँदैन । दैनिक २४ घण्टामा एक घण्टा आफ्नो व्यायाम, योग र ध्यानका लागि समय छुट्टयाउनुपर्छ । बानी हो, आज नगर्ने बानी छ भने बानी बसालेपछि गर्ने बानी बस्छ । व्यापारिक जिम र व्यायाम स्थल धाएरमात्र सही व्यायाम हुने होइन । आफूले जानेका योग अभ्यास र व्यायाम पनि नियमित र संयम तरिकाले गर्न सकेमा अति नै लाभदायक हुन्छ । योग र व्यायाम गर्दा आफ्नो शक्ति र ऋतु तथा समयलाई ध्यानमा राखेर व्यायाम गर्नुपर्छ । आफूमा तनाव वा निराशा भाव पैदा भएको छ भने २० देखि ३० मिनेट शारीरिक श्रम गर्ने या गीत र संगीत लगाएर नाच्ने, उफ्रने र मन चंगा पार्ने अनि ध्यान र विश्राममा जाँदा तनाव हट्छ ।

ध्यानले व्यक्तिगत, पारिवारिक र कर्म जीवनमा हामीलाई सहयोग पु¥याउँछ । एउटा ध्यानी व्यक्ति प्रेमले भरिपूर्ण, आफ्नो कर्मप्रति निष्ठावान र व्यवहार कुशल पनि हुन्छ । त्यसकारणले, ध्यान गर्न केही त्याग्नुपर्दैन । वास्तवमा, ध्यानले हाम्रो व्यक्तित्व निखार्छ र कर्ममा कुशलता ल्याउँछ । यसले पारिवारिक सम्बन्ध अझ सुमधुर बनाउँछ ।

ध्यान के हो थाहै नपाउने र नबुझ्नेहरूले दैनिक २० मिनेटमात्र भए पनि आफूलाई मौन चूपचाप रहेर, आँखा चिम्लेर बस्ने बानी बसाल्दै गयो भने बिस्तारै ध्यानमा प्रवेश गर्न सक्छ । ध्यान केवल साधनमात्र नभई आफँैमा साध्य अवस्था हो । ध्यान मार्ग पनि र गन्तव्य पनि हो । ध्यान घटित हुनु परम लक्ष्य हो, जीवनको सम्भावनालाई उजागर गरेर आफ्नो गरिमामा प्रतिष्ठित हुनु हो । छोटकरीमा, ध्यानको उपलब्धि ध्यान नै हो । ध्यानले हाम्रो व्यक्तित्व सन्तुलित बनाउनुका साथै जीवनमा संयकता ल्याउँछ। आत्मविश्वास, ऊर्जा र उमंगमा अभिवृद्धि पनि ध्यानका सहज परिणाम भएको हुनाले सही ध्यानले व्यक्ति अझ बढी मिलनसार, व्यवहार कुशल र कर्तव्यपरायण हुन्छ ।

ध्यानले अविरोधी चित्त निर्माण गर्छ । ध्यान गर्ने व्यक्तिको जीवनमा आउने सर्वाधिक ठूलो चुनौती अनियन्त्रित विचारको शृंखला र नकारात्मक भाव हो । ध्यान भनेकै चित्तमा उठ्ने विचार र हृदयका भाव जागृत भई बिनाकुनै तादात्म्य या निर्णय साक्षीपूर्वक हेर्ने कला हो । अन्नतोगत्वा, ध्यानी व्यक्तिले आफूलाई सम्पूर्ण विचार एवं भावनाबाट पृथक द्रष्टा एवं बोधका रूपमा अनुभव गर्छ । त्यसकारण, चित्तका हरेक तरंगलाई साक्षीपूर्वक हेर्नु नै पूर्ण समाधान हो । ध्यान आफंैभित्रको दिव्यतामा सिधा छलाङ हो। 

प्रकाशित: ७ असार २०७४ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App