७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘माओवादी शान्तिप्रक्रिया टुंग्याउन चाहँदैन'

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले नेकपा माओवादी केन्द्रले शान्तिप्रक्रिया टुंग्याउन नचाहेको आरोप लगाएका छन्। मन्त्रालयले गरेको गतिविधि सार्वजनिक गर्न बुधबार भएको नियमित पत्रकार सम्मेलनमा खरेलले भने, 'शान्तिप्रक्रिया टुंगो लगाउन माओवादी इच्छुक छ कि छैन?'

शान्तिप्रक्रियासँग सम्बन्धित कानुन, व्यक्तिलाई जबर्जस्ती बेपत्ता पार्नेविरुद्ध विधेयक, थुनामा लिएर यातना दिनेविरुद्धको विधेयक ढिलो भयो भन्नु गलत भएको उनको भनाइ छ। उनले निर्वाचनसम्बन्धी विधेयकसमेत गृह मन्त्रालयमै अड्किएको आरोप लगाए। उनले सरकारले पेस गरेको विधेयक संसद्को कार्यसूचीबाटै हराइएको दाबी गरे। संविधान बनाउनसक्ने दलले अहिले देखिएको समस्या समाधान सजिलै गर्नसक्ने उनले बताए। भने, 'दलहरुले चाहेमा वार्ताद्वारा समस्या सुल्झाउन सक्छन्।'

संविधान कार्यान्वयनसँगै प्राथमिकताका आधारमा कानुन बन्दै गरेको उनले स्पष्ट पारे। मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा व्यवस्थापिका संसदबाट १२ विषयका विधेयक पारित भइसकेको उनले जानकारी दिए। संसदमा ८ विषयका विधेयक पेस गरिसकिएको छ। 'सर्वोच्च अदालत ऐन संशोधन गर्न बनेको विधेयक, न्याय सेवा आयोग विधेयक, न्याय प्रशासन सम्बन्धी विधेयक लगायतका विधेयक पारित हुने क्रममा छन्,' उनले भने।

मन्त्रालयले गरेका कामका बारेमा जानकारी दिँदै प्रवक्ता डिल्लीराज घिमिरेले ८ वटा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जानकारी दिए। ७ वटा विधेयक अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई सहमति दिएको बताए। ९ वटा विधेयकमा पारम्भिक मस्यौदा तयार भइसकेका छन्। ३८ वटा नयाँ विधेयक विभिन्न मन्त्रालयले सैद्धान्तिक सहमति लिइ तर्जुमाको क्रममा रहेका छन्।

संविधान कार्यान्वयनक्रममा १ सय १० विषयमा संघीय कानुन, २२ विषयमा प्रदेश कानुन र ६ विषयमा स्थानीय कानुन गरी १ सय ३८ विषयमा कानुन बनाउनुपर्नेछ।

प्रकाशित: ६ श्रावण २०७३ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App