coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ओइरिँदै जनता

काठमाडौं- नवलपरासी, कावासोतीकी गंगा अधिकारी शिक्षण अस्पतालमा आमाको उपचार गराउँदै छिन्। उनलाई अहिले आमाको मात्र चिन्ता छैन, त्यही अस्पतालमा अनशन बसिरहेका डा. गोविन्द केसीको अवस्थाले पनि उत्तिकै सताएको छ।

रिनधन गरेर उपचारमा सम्पत्ति सक्न लाग्दा पनि आमाको राम्रो उपचार हुन नसकेको गंगाको दुखेसो छ। आफूजस्तै दीनदुःखीको सहारा बन्दै डा. केसीले स्तरीय र सुलभ स्वास्थ्य सेवानिम्ति अनशन बसेको उनले बुझेकी रहिछन्।

'मेरी आमाजस्ताकै राम्रो र सहज उपचार होस् भनेर उहाँ अनशन बस्नुभएको हो भन्ने मैले बुझेँ,' अनशनको एघारौं दिन अनशनस्थलमा भेटिएकी उनले सुनाइन्, 'त्यसैले मौका मिल्नेबित्तिकै उहाँ (केसी) लाई हेर्न आउने गरेकी छु।' 

गरिब जनताको राम्रो उपचारका लागि भनेर अनशन बसेका केसीको स्वास्थ्य स्थिति बिगँ्रदै गएकोमा उनले चिन्ता जनाइन्। 'जनता उहाँको आवाज सुनेर ओइरिइरहेका छन्,' उनी भन्छन्, 'तर सरकारले अझै उहाँको आवाज सुन्न सकेन।'

सत्ताको लडाइमा रहेको सरकारले जनताका लागि लड्ने डाक्टरको जीवन जोखिममा परेको उनले बताइन्। उनको जस्तै चिन्ता बोक्नेहरु अस्पताल आएर डा. केसीको  आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै छन्। हातमा हरिया चुरा लगाएर आएका गृहिणी डा. केसीको दिर्घायुको कामना गर्दै उनको माग पूरा होस् भन्ने कामना गर्दैछन्। मोाबइलले केसीको तस्बिर खिच्दै सामाजिक सञ्जालमा सेयर गर्दैछन्।

'सत्यका लागि लड्दै गरेको मान्छेको आवाज सरकारले नसुन्नु दुखद हो,' रचना बस्नेतले भनिन्, 'जनताले अब दबाब दिनु जरुरी छ।' भ्रष्टाचारको अँध्यारो चिर्न यही ज्योति पर्याप्त हुने भन्दै उनले त्यसलाई निभ्न नदिन सबैले हात बढाउनुपर्ने सुनाइन्।

'माफियाको आँधीले निष्ठाको दियो निभाउन खोज्दैछ,' उनले भनिन्, 'हामी सवैले हात अगाडि बढाएर निभ्न दिनुहुन्न।'

केसीले उठाएको आवाज देशभर फैलँदै छ। विभिन्न जिल्ला र सहरका चोकचोक उनका मागबारे चर्चा हुन थालेको छ। उनीहरुमध्ये कपितय दवाव दिन राजधानीसमेत आउन थालेका छन्।

तिनैमध्येका एक हुन,  हेटौडा नवलपुरका राजाराम बर्तौला। उतै बसेर केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै आएका उनी बुधबार पत्नीसहित राजधानी आइपुगे। 'उहाँ (केसी) को स्वास्थ्य बिगँ्रदै जान थालेपछि यहीँ आएको हुँ,' उनले भने, 'जनता नउठेसम्म उहाँको माग पूरा होलाजस्तो लागेन।'

शिक्षण अस्पतालमा आउने बिरामीका आफन्त मात्र होइन, बिरामीसमेत उनलाई हेर्न आउन थालेका छन्। बाँसबारीका गोपाल सेढाईं आफैं बिरामी हुन् तर उनी बुधबार अनशनस्थल पुगे। 'मेरो मनमा एकपटक त्यहाँ पुगौंजस्तो लाग्यो,' उनले भने, 'बिस्तारै हिँडेर आएँ।'

केसीको पक्षमा नम्र आवाजले ऐक्यबद्धता जनाउँदै आएका सर्वसाधारण  केही आक्रोसित हुन थालेको संकेतसमेत देखिन थालेको छ। 'अझै ढिलो भइसकेको छैन, ख्याल गर, भोलि जनताका अगाडि उभिन सक्ने बन, नभए लाखौं जनताका अगाडि तिम्रो बिजोग हुनेछ,' आगन्तुक पुस्तिकामा बुधबार अपराह्न एक सर्वसाधरणले यस्तो लेखे।

मंगलबार मात्र केसीले जनता नउठेसम्म केही नहुने बताएका थिए। बुधबार उनका मागमा ऐक्यबद्धता जनाउन थुप्रै सर्वसाधारण ओइरिए। यसैगरी आएका मधेसी नागरिक समाजका अध्यक्ष डा. डम्बरनारायण यादवले जनतालाई सडकमा ओर्लिएर केसीको समर्थनमा जुट्न अनुरोध गरे। 'देशबासी उठेर सडकमा आउनुपर्‍यो,' उनले भने, 'तब मात्र यो सरकारले आवाज सुन्नेछ।'

प्रकाशित: ६ श्रावण २०७३ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App