७ वैशाख २०८१ शुक्रबार
अर्थ

नियम विपरीत उपभोक्ता समितिबाटै ठेक्कामा काम

बाइराका खानेपानी आयोजनामा निर्मित गुणस्तरहीन संरचना । तस्बिर डिबी बुढा

जुम्ला – तातोपानी–१, की बाचु शाही दैनिक एक घन्टा पैदल हिँडेर तिला नदीको दूषित पानी बोक्छिन् । गाउँमा पानीका स्रोत नहुँदा वर्षौंदेखि उनको गाउँ काकाकुल बनेको छ । ‘एक घन्टा हिँडेर खानेपानीको जोहो गर्छौं, तैपति दूषित पानी पिउन बाध्य छौं,’ उनले भनिन्, ‘नदीको पानी नबोके उपाय छैन।’

स्थानीय शान्ति शाही खानेपानी जोहो गर्न सकेकुनै पनि सास्ती खेप्नु नपर्ने बताउँछिन् । ‘दैनिक पानी बोक्ने चिन्ताले पिरोल्छ,’ उनले भनिन, ‘घरघरमै धाराबाट पानी आउने दिन कहिले आउला ?’

बाचु र शान्ति त उदारहण मात्रै हुन । तातोपानी गाउँपालिका १, का झन्डै एक सय २० परिवारले खानेपानीको समस्या खेपिरहेका छन् । पाँच वर्षअघि खानेपानीको केन्द्रीय योजना सुरु हुँदा सबै दुःख कष्ट हट्ने आस गरेका स्थानीय पछिल्लो समय निर्माण कार्य अलपत्र पर्दा निकै पीडादायक जीवन बिताउन बाध्य छन् । 

स्थानीय तारा नेपालीलाई आयोजना निर्माणको कुरा सुन्दा निकै खुसी लागेको थियो । ‘वर्षौंदेखिको समस्या टर्ने आसमा थियौं,’ उनले भनिन्, ‘उपभोक्ता समिति, ठेकेदारको चरम लापरबाहीले खुुसी आउन दिएन ।’

आयोजना सञ्चालन गर्नुपूर्व प्रत्येक परिवारले एक हजार रुपैयाँ उठाए । गिट्टी बालुवा निःशुल्क बोके । तर, अहिलेसम्म खानेपानी आउने कुनै संकेत नदेखेपछि उनीहरु निकै आक्रोशित छन् । अहिले उपभोक्ता समिति र ठेकेदारबीच विवाद छ । बाइराका खानेपानी उपभोक्ता समिति अध्यक्ष कालीबहादुर शाही गाउँमा देखिने गरेको चर्को राजनीतिले खानेपानी आयोजना निर्माणमा बाधा पुगेको बताउँछन् । उनले भने, ‘गाउँमा मनमुटाव र एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिबढेका कारण उपभोक्ता समितिले ठेकेदार भक्त सार्कीलाई आयोजनाको सम्पूर्ण काम ठेक्कामा दिने निर्णय गरेका हो ।’ 

तर यो निर्णय उपभोक्ता समितिको हित विपरीत हो । जिल्ला खानेपानी सब–डिभिजन कार्यालय जुम्लाका प्रमुख टंक सोडारी उपभोक्तामार्फत हुने आयोजनाको काम ठेक्कामा दिन नमिल्ने बताउँछन् । उपभोक्तालाई आयोजनामा अपनत्व होस्, संरक्षण, सम्बद्र्धन होस् भन्नका लागि उपभोक्ताको जिम्मा लगाइएको भन्दै त्यही आयोजनाको काम ठेक्कामा दिनु ठूलो गल्ती भएको उनले बताए । उपभोक्ता समिति गैरजिम्मेवार हुँदा पञ्चवर्षीय योजनामा अझै सम्पन्न हुन सकेको छैन । आयोजनाका नाममा सरकारले बजेट दिन छोडिसकेको छ । 

आयोजना पोहोर असार मसान्तमै सकिइसक्नुपथ्र्यो । निरन्तर काम भएको भए उपभोक्ताले घरघरमै पानी पाउँथे । उपभोक्ता समितिका पदाधीकारीको लापरबाहीले खानेपानी संकट खेप्नुपरेको छ । निर्माण भएका संरचना चर्किसकेका छन् । स्थानीय तिलबहादुर शाही केन्द्रीय योजना परेको खबर पाउनेबित्तिकै उपभोक्ता समिति गठन गरेर प्रक्रिया अघि बढाइसकेको बताउँछन् । ‘उपभोक्ताले समितिलाई आयोजना निर्माणको जिम्मा दिइयो, समितिले आफूखुसी ठेकेदारलाई काम गर्न लगायो,’ उनले भने, ‘ठेकेदार र समितिको मिलोमतोले खानेपानी आउन सकेन । उपभोक्ता समितिका निश्चित व्यक्तिले १० प्रतिशत कमिसन मागेर ठेकेदारमार्फत काम अघि बढाएका हुन ।’

काम राम्रो नभएको, कुवा फुटेको छ, पानी पुग्न नसकेको उनले बताए । ‘निर्माण कार्यको मूल्यांकन गरी दोषीलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउनु पर्छ,’ उनले भने । स्थानीयले समितिमाथि शंका गर्दै आइराखेका छन् । तोकिएको समयमै पानी पु¥याइदिन स्थानीयले माग गरेका छन् । 

बाइराका गाउँकै नारायण शाही  गाउँको सिरानमा जंगल नभएका कारण पानीका मुहान भेट्न नसकिएको बताउँछन् । ‘प्रकृतिबाट त ठगिएका छौं नै,’ उनले भने, ‘त्योभन्दा  बढ्ता उपभोक्ता समिति र ठेकेदारबाट ठगियौं । सिजाको शनिगाउँदेखि हाँकु, ताम्तीसम्म पानीको मुहान खोज्न गयौं । सदरमुकाममा पटकपटक खानेपानीको माग गर्दै रित्तो गाग्री प्रदर्शन गरेर प्रशासन कार्यालयमा धर्नामा बस्यौं ।’ स्थानीय प्रशासनको पहलमा बाइराकावासीलाई पानी खुवाउने अवसर स्वरुप केन्द्रीय योजना परेको थियो । तर अहिले गाउँका जान्ने मान्ने, भद्रभलादमीको व्यक्तिगत स्वार्थले खानेपानी पाउने सपना हराउँदै जान थालेको छ । सुरुका दुई वर्षको बजेट कामै नभई फ्रिज भयो । 

खानेपानी कार्यालयका प्रमुख सोडारी उपभोक्तामार्फत काम भएको भए अहिलेसम्म निर्माण सकिएर घरदैलोमा पानी पुगिसक्ने बताउँछन् । ‘उपभोक्ताले ठेक्कामा दिन मिल्दैन, यो कानुन विपरीत हो,’ उनले भने, ‘मनपरी ढंगले सञ्चालन गरिएको काम स्वीकार्य हुँदैन ।’ उनले पहिलो चरणमा उपभोक्तालाई खानेपानीको पहुँच पु¥याउन निर्देशन गरे । खानेपानी कार्यालयलाई हालसम्म आयोजनाको काम ठेक्कामा दिइएको बारे जानकारी छैन । 

उपभोक्ता समितिले भुक्तानी दिइसकेको र खातामा भएको रकमबारे स्थानीय बेखबर छन् । समितिकै कारण खानेपानीको निर्माण कार्य रोकिएको स्थानीय बताउँछन् । ठेकेदार भक्त नेपाली सुरुमा कुवाको खाल्डो खन्न १० लाख रुपैयाँको ठेक्का लिइएको बताउँछन् । अहिले सबै काम गर्नुपरेको र उपभोक्ता समितिबाट ३३ लाख ३७ हजार नौ सय रुपैयाँ लिइसकेको उनले बताए । समितिबाट अझै ६० हजार रुपैयाँ लिन वाँकी रहेको ठेकेदार बताउँछन् । गाउँलेको विरोधका बाबजुद काम ढिलो भइरहेको उनको भनाइ छ । 

प्रधानाध्यापक नै उपभोक्ता समिति अध्यक्ष 
बाइराका खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर शाही बाइराका विद्यालयका प्रधानाध्यापक हुन् । सार्वजनिक पदधारण गरेको व्यक्ति उपभोक्ता समितिको अध्यक्ष बन्न पाउँदैन । तर उनी निरन्तर अध्यक्ष छन् । ‘प्रधानाध्यापक उपभोक्ता समितिको अध्यक्ष बन्न पाउँदैन,’ खानेपानी कार्यालयका प्रमुख सोडारी भन्छन्, ‘यहाँ कसरी समिति गठन गरेका हुन् पत्तो भएन ।’ 

उपभोक्ता समिति अध्यक्ष शाही गाउँलेले उपभोक्ता समितिको अध्यक्ष बन्न ताकेता गरेपछि बनेको बताउँछन् । उनले भने, ‘मलाई उपभोक्ता समितिको अध्यक्ष बन्ने रहर थिएन, गाउँलेले बाध्य बनाए ।’ अहिले पनि कसैले अध्यक्षको जिम्मेवारी लिन खोजे राजीनामा दिने उनले बताए । खानेपानी आयोजनाको निर्माण कार्य नसकिँदासम्म अध्यक्ष नछोड्ने जिकिर गरे।

उपभोक्ता समिति आफैंले आयोजनाको काम गर्नुपर्ने भन्दै उनले समितिको निर्णय बमोजिम ठेक्कामा दिने काम भएको स्वीकारे । ठेकेदारबाट १० प्रतिशत मागेर समितिमा रहेका १५ जनाले दामासाहीका दरले रकम बाँड्ने र खाने सल्लाह भएको उनको भनाइ छ । ‘तर खानेपानी आयोजनाको संरचना निर्माणका लागि जग्गा किन्नुपर्ने भएकोले खान पाएनौं,’ उनले थपे । प्रधानाध्यापक नै उपभोक्ता समितिको अध्यक्ष बनेको प्रसंगले चर्चा पाइरहेको छ । जिल्ला शिक्षा कार्यालय जुम्लाले कुनै पनि शिक्षकले उपभोक्ता समितिको अध्यक्ष बन्न नपाउने बताएको छ । 

 

प्रकाशित: ५ असार २०७४ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App