७ वैशाख २०८१ शुक्रबार
राजनीति

मनोनयन उत्साहपूर्ण

काठमाडौं- दोस्रो चरणअन्तर्गत आगामी असार १४ गते हुने निर्वाचनमा भाग लिन उम्मेदवारले आइतबार उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराएका छन्।

दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुने निर्वाचनका लागि आइतवार बिहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गराउने समय तोकिएको थियो । स्थानीय तह चुनावमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यका उम्मेदवारले सम्बन्धित मुख्य÷निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । साँझ ४ बजेसम्मको सयम तोकिएको भए पनि त्यति बेलासम्म लाममा बसिसकेका उम्मेदवारले साँझसम्म पनि मनोनयन दर्ता गराए ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले ३ सय ३४ स्थानीय तहमै उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता भएको बताए । ‘सवै ठाउँमा शान्तिपूर्ण, उत्साहपूर्ण र अधिकतम दलको सहभागितामा उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ,’ दाहालले नागरिकसँग भने, ‘सोचेभन्दा धेरै राम्रो र उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता सम्पन्न भएको छ, यसले जनता मतदान गर्न धेरै आतुर छन् भन्ने संकेत गरेको छ ।’ उनले कतिपय दुर्गम ठाउँबाट मनोनयन दर्ता गराएका उम्मेदवारको यकिन संख्या आउन बाँकी रहेको बताए । दोस्रो चरणअन्तर्गत ३ सय ३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्ने आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराउन उम्मेदवार बाजागाजा र जुलुस सहित मुख्य÷निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आइतबार नै सम्वन्धित मुख्य÷निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरिसकेको छ । असार १४ गते १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य पदका लागि मतदान हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मनोनयन दर्ता गराएका उम्मेदवारउपर उजुरी दिनुपरेमा सम्बन्धित मुख्य÷निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म दिन सकिनेछ । सोमबार बिहान १० बजेदेखि अपराह्न साढे ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उजुरी र उम्मेदवारको मनोनयनपत्र जाँच्नेछ । आयोगका अनुसार उम्मेदवारी फिर्ता लिन सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्मको समय तोकिएको छ। साँझ ६ बजे उम्मेवारको अन्तिम नामवली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । आयोग प्रवक्ता शर्माले उत्सापूर्ण ढंगले दोस्रो चरणको निर्वाचन कार्यक्रम अघि बढेको बताए । उनले राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्यादित तथा व्यवस्थित तरिकाबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गरेको बताए ।

स्थानीय तहको निर्वाचनका लागि आयोगले फोटोसहितको मतदाता परिचयपत्र अनिवार्य गरेको छ । यसका लागि मतदाता परिचयपत्र जिल्ला पठाइसकिएको र असार ११, १२ र १३ गते सम्वन्धित मतदान केन्द्रबाट वितरण हुने आयोगले जनाएको छ ।

देशभरका ७ सय ४४ स्थानीय तहमध्ये यसअघि गत बैशाख ३१ गते पहिलो चरणअन्र्तगत प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ तहमा निर्वाचन भइसकेको छ । प्रदेश नम्बर २ अन्तर्गतका स्थानीय तहमा भने सरकारले तेस्रो चरणमा आगामी असोज २ गतेका लागि निर्वाचन गर्ने तय गरेको छ ।

 

प्रकाशित: ५ असार २०७४ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App