coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

असारभित्र सक्नु पर्ने ५४ वटा योजना अधुरै

दुहवीमा नाला निर्माण गर्न खनिएको माटो सडकमा राख्दा पुरै हिलाम्य भएको सडक । तस्बिर: अमर खड्का

इटहरी– वर्षैभरी सुस्त रहेको सरकारी खर्च अचानक आर्थिक वर्ष २०७२–०७३ को अन्तिममा सक्न इटहरी वडा नं. १९ मा लोकतान्त्रिक कल्भर्ट निर्माणका लागि असार ५ गते सम्झौता भयो । ५ दिनमा कल्भर्ट निर्माणको काम गरिसक्ने सम्झौता थियो। ५ दिनभित्रमा कल्भर्ट निर्माण सक्दा त्यसको गुणस्तरप्रति समेत चासो दिइएन। तर, अहिले २५ दिन बितिसक्दा पनि काम पुरा हुन सकेको छैन।

असार मसान्तसम्ममा काम सक्ने गरी सम्झौता भए पनि असार शुरुवातदेखि नै पानी परिरहेकाले गर्दा काम पूरा हुन नसकेको हो।

इटहरी वडा नं. २० मै डे«न निर्माण कार्य चलिरहेको छ। ४ लाख ९२ हजार ५ सय रुपैयाँमा ड्रेन निर्माण गर्नका लागि जेठ १२ गते एक महिनाभित्रमा काम सक्ने गरी सम्झौता भएको थियो । अहिलेसम्म त्यो पनि पूरा हुन सकेको छैन । ड्रेन निर्माण गर्न उपमहानगरपालिकाले ३ लाख ८० हजार रकम भुक्तानी गरिसकेको छ।

इटहरी उपमहानगरपालिकाले असार मसान्तसम्म काम सक्नुपर्ने गरी सम्झौता गरेका यी दुईवटा योजना प्रतिनिधि उदाहरण मात्र हुन् । छिटो छिटो विकास गर्ने प्रवृतिले गर्दा असार मसान्तसम्ममा सक्नुपर्ने ५४ वटा योजना पूरा हुन सकेका छैनन् । १९ वटा योजनाको काम पूरा भए पनि ती योजनाको समेत अनुगमन गरिएको छैन । योजना पूरा भएपछि कर्मचारीले अनुगमन गरेर स्वीकृत गर्नुपर्छ।

योजना पूरा हुन बाँकी रहेका १४ वटा योजनाको काम ७० प्रतिशत सकिए पनि अरु बाँकी ४० वटा योजनाको काम ३५ प्रतिशत मात्र सकिएको छ। पूरा हुन बाँकी रहेका योजनामा बाँध निर्माण, ड्रेन निर्माण, सामूदायिक स्कुलको भवन मर्मत, कल्भर्ट, तटबन्ध, सडक कालोपत्रेलगायत छन्। यी योजनाको लागत एक लाखदेखि २० लाख रुपैयाँसम्म रहेको छ। उपमहानगरपालिकाको योजना शाखाका अनुसार अहिले पनि काम युद्धस्तरमा भइरहेको छ। तर, स्थानीयले भने विकासका नाममा बजेट पानीमा बगाएको गुनासो गर्ने गरेका छन्।

पूरा गर्न बाँकी रहेका योजनाको सम्झौतामा ढिलाई भएको र असार पहिलो सातादेखि पानी परिरहेको गर्दा काम नसकिएको उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले बताए । इटहरी नगरपालिकाबाट उपमहानगरपालिका बन्दा मिसिएका साविक गाबिसहरु खनार, एकम्बा, पकली र हाँसपोसा क्षेत्रका थुप्रै स्थानमा स्थानीयले योजना पुरा गर्न लगानी लगाउन नसक्दा पनि काममा ढिलाई भएको उनको जिकिर छ ।
‘पहिला इटहरी नगरपालिका हुँदा नौवटा वडा मात्र हुँदा सरकारी ५० र स्थानीय उपभोक्ताले ५० प्रतिशत लगानी गर्नुपर्ने नियम थियो। अहिले उपमहानगरपालिका भएपछि न्यूनतम १५ प्रतिशत उपभोक्ताले लगानी लगाउनुपर्नेछ,’ उनले भने, ‘तर कतिपयका वस्तीमा स्थानीयले पैसा जुटाउन समय लागेकाले गर्दा पनि काम समयमै पूरा नभएको हो ।’ उनले पुरा हुन बाँकी रहेका धेरै योजना आन्तरिक स्रोतबाट भएकाले गर्दा म्याद हुँदा समस्या नहुने बताए । इटहरीमा पुरा हुन बाँकी रहेका सबै योजनाको सम्झौता वैशाखयता भएका छन् ।

यसैबीच, दुहवी नगरपालिकाका दुईवटा योजना पनि अधुरै छन् । वडा नं. ६ र ७ को सरस्वती उच्च माविदेखि हस्पिटल चोकसम्मको पक्की नाला निर्माण गर्ने तीस लाख रुपैयाँको योजना पुरा हुन सकेको छैन । यो पक्की नाला निर्माण गर्ने काम असार दोस्रो सातासम्म सक्नुपर्ने भएपनि पानीले असर गरेकाले गर्दा कहिलेसम्म पुरा हुने टुंगो नभएको नगरपालिकाले जनाएको छ। नाला निर्माण गर्न माटो खनेर सडकमा राखेकाले गर्दा अहिले त्यो सडकमा हिँडडुल गर्नसमेत असहज भएको छ। ‘पक्की सडकमाथि नाला खनेको माटो राख्दा अहिले पुरै हिलाम्य भएको छ,’ स्थानीय होटल सञ्चालक अशोक जैसवालले भने ।
असार मसान्तसम्ममा पुरा गर्नुपर्ने दुहवी भलुवा वडा नं. १ बाट प्रर्साटोकी जाने १ किलोमिटर सडक पनि काम बाँकी छ । यो कालोपत्रे गर्नका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ।
    
 

 

प्रकाशित: ५ श्रावण २०७३ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App