८ वैशाख २०८१ शनिबार
समाज

मावल गएकी बालिकाको हत्या

झापा–स्कुल छुट्टी भएको मौका छोपेर मावल गएकी एक नाबालिकाको हत्या भएको छ  बुधबारे–५ स्थित डिल्लीराम प्रसाईको घरमा पाहुना आएकी  शान्तिनगर–१ की ११ बर्षीया तनुजा कोइराला बिहान कोठामा  मृत फेला परेकी थिइन् । उनको घाँटी रेटिएको अवस्थामा फेला परेको छ ।

मावली घरको एउटा कोठामा तनुजा र उनका ५ वर्षका भाइसँगै सुतेका थिए।  बिहान ७ बजेसम्म नउठेपछि हेर्न जाँदा भाञ्जी मृत अवस्थामा फेला परेको उनका मामा दिपक प्रसाईले बताए। शान्तिनगर–१ कामीटारका चन्द्र कोइरालाकी  छोरी तनुजा एक हप्ता अघि मात्रै मावल गएकी थिइन्। शान्तिनगरकै एक स्कुलमा कक्षा–५ मा पढ्दै गरेकी उनी  परीक्षा सकिएपछि मामाघरतिर गएकी थिइन्।  

घरकै कोठामा उनी मृत फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । परिवारले  भने दुई दिन अघि मात्र गाउँमा खेताला गर्दै हिँड्ने एक अधवैसेलाई घटनाको दोषीका रुपमा शंका गरेका छन् ।  मियाँ थरका ती व्यक्ति घरमा खेतीको काम सघाउन आएका थिए।  साउन ३ र ४ गते खेतीको काम सघाउन घरमै बसेका ती व्यक्ति  मंगलबार दिउँसो दुई दिनको हाजिरा लिएर गएको मामा दिपकले बताए ।  

खेतीमा काम गर्दै हिँड्ने ती कामदारले  साइकलमा एक बोरा चामल लोड गरी तयारी अवस्थामा राखेको पनि दिपकले बताए ।  दिपकले भने, ‘भाञ्जा–भाञ्जी सुतेको कोठा खुल्लै थियो । पछाडिको ढोका फोरेर पसेछ।’  घटनाको प्रकृति हेर्दा बलात्कार पछि धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हुन सक्ने उनको भनाई छ।  गाउँमा हलिया काम गरेर हिड्ने मियाँ मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयले बताए । रातभरी पानी परेकाले वल्लो पल्लो कोठामा सुतेका हजुरबुवा, हजुरआमा माइजु कसैले सुइकोसम्म पाएनन् ।  स्थानीयबासीका अनुसार मियाँ फरार छन् । उनको  धुलाबारी घर रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी हरिप्रसाद शर्माका अनुसार घटना बुझ्दा बलात्कारपछि  हत्या भएको देखिन्छ । तर कसले यस्तो गर्यो  भन्ने यकिन नभएको उनले बताए ।  मियाँको खोजतलास भइरहेको छ । मियाँलाई पक्राउ गरेपछि सत्यतथ्य पत्ता लाग्ने उनले दावी गरे । मृतकको लास परीक्षणका लागि धरानस्थित वीपी मेमोरियल विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ५ श्रावण २०७३ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App