७ वैशाख २०८१ शुक्रबार
राजनीति

आश्वासनसँगै हेपाइ सहन बाध्य सुकुमबासी बस्ती

झापा- जब गाउँघरमा चुनावी माहोल तातिँदै जान्छ, आफ्नो बस्तीबारे चल्ने अनेकथरी हल्लाले मंगल मुर्मुलाई सधैँ आक्रोशित बनाउँछ। भद्रपुर–१० मा रहेको सुकुमबासी बस्तीका पुराना बासिन्दा उनलाई चिनेजानेका धेरैलेे सोध्ने प्रश्न एउटै हुन्छ, 'तिम्रो बस्तीमा पार्टीका मान्छेले पैसा बाँडे अरे हो?'

गाउँघरमा चुनावी माहोल तातिँदै गएका बेला बिभिन्न सुकुम्बासी बस्तीहरूबारे अनेक किस्सा चल्छन्। त्यसमा सबैभन्दा बढी प्रचार हुने विषय हो, पैसा र भोजभतेरको प्रसंग । त्यसैले मंगल जस्ता भूमिहीन मजदुरहरूले त्यस्ता प्रश्न झेलिरहनुपर्छ, जसले उनीहरूको आत्मसम्मानमा सधैँ ठेस लगाउँछ। दिनरात मिहेनत गरेर गुजारा चलाउनु पर्ने बाध्यतामा रहेका आफूहरूबारे अर्नगल हल्ला चलाइँदा उनीहरूको रिसको पारो उच्च हुन्छ। तर, उनीहरूसँग प्रत्यक्ष रूपमा त्यस्तो लाञ्छना लगाउने आँट भने कसैले गर्दैनन्। चुनाव सकिएपछि क्रमशः हल्लासँगै उनीहरूको रिस पनि कम हुँदै जाने मुर्मी बताउँछन्।

 'चुनाव आउँदै गएपछि गाउँको र हाम्रो बद्नामी गर्न सधैँ यस्तो हल्ला चलाउँछन्', घर नजिकैको चिया बगानका मजदुर मंगलले सुनाए  'पार्टीकै मान्छेले यस्तो हल्ला चलाउँछन्। आफ्नो पार्टी जाँदा ठीक, अर्को पार्टी गाउँ छिर्‍यो कि पैसा बाँडेको, भोज खुवाएको हल्ला चलाउँछन्। पार्टीका मान्छेले हामीलाई मान्छे रूपमा व्यवहार नगरेको होइन र?' प्रत्येक पटकको चुनावमा सुकुमबासी बस्तीकाबारे चल्ने अफवाहले दिक्क हुने मंगल एक्ला होइनन्। उनका छिमेकी रमेश हरिजनका पनि यस्तै हल्ला चलाउनेका कारण बस्तीका धेरै सर्वसाधारण दलका नेता–कार्यकर्ताहरूसँग आक्रोशित छन्।

'गाउँमा आउँदा टाउको निहुँराएर, हात जोडेर उनीहरू नै भोट माग्छन्।  पछि गाउँका मान्छे पैसामा बिके, रक्सीमा बिके भन्दै हाम्रै बेइज्जत गर्छन्,' हरिजनले आक्रोशित मुद्रामा भने 'त्यही नेताहरू चाहिँ पैसाको लागि जे पनि गर्छन्, चुनाव हारेपछि अरुलाई जे पनि भनिदिन्छन्।'

चुनाव आउँदा दिनरात गाउँबस्ती चहार्ने त्यसपछि वर्षौंसम्म देखै नपर्नेहरूले चलाउने यस्तै हल्लाले दिक्क छन् कनकाई नगरपालिका–८ बिरिङ खोला किनारमा रहेका सुकुमबासी बस्तीका सर्वसाधारण। हरेक पटकको चुनावमा आश्वासनको बाढी आउने गाउँमा जग्ग्ााधनी पूर्जा दिने, रोजगारी दिलाइदिने जस्ता अनेकौं ठूला–ठूला सपनाका पोका बोकेर पस्ने नेता–कार्यकर्ताको लर्को चुनावको मुखमा बाक्लो हुन्छ। यसलाई स्वाभाविक मान्ने उनीहरू गाउँ–बस्तीभरी पैसाको चलखेल भएको हल्ला सुनेपछि हाँस्छन्। 'धेरैले पैसाको बलमा भोट किन्ने सपना पनि देख्छन् होला,' विरिङ किनारका सुकुमबासी देवेन्द्र साँवाको आपत्ति छ, 'सुकुम्बासीहरुको नाममा यस्तो हल्ला किन फैलाउनु? धनीमानीहरू आफू जे गर्छन्, गरिबले पनि त्यस्तै गरे होला भन्ने सोच्छन्। हामीलाई आफैले कमाएकैले पुग्छ। कसैसँग हात फैलाउनु पर्दैन।' 

वर्षौं अघिदेखि ऐलानी जग्गामा बसिरहेका, मजदुरी गरेर जीवन गुजारा गरिरहेका जुनसुकै क्षेत्रका अधिकांश सुकुमवासी मतदातालाई भोट बैंकको रूपमा प्रयोग गर्दै आएका  दलहरूले प्रत्येक चुनावमा दिने पहिलो आश्वासन नै धनीपूर्जा दिलाउने हो। पूर्जाको आश देखाउने तर चुनाव जितेपछि त्यसबारे पटक्कै नबोल्ने नेताहरूको व्यवहारबाट आजित सुकुम्बासीहरू धनीपूर्जा नपाएको भन्दा पनि आफ्नाबारे चल्ने हल्लाले बढी अपमानित महसुस गर्छन्। 'हरेक दलमा हाली मुहाली नवधनाढ्यहरूको छ, त्यसमध्ये धेरैका लागि  राजनीति  र चुनाव  कमाइ खाने भाँडो हुन्छ', मजदुर अगुवा भरत राई भन्छन् 'त्यसैले हाम्राबारे धेरैले शंका गर्छन्।' २०५४ सालको चुनावमा तत्कालिन ज्यामिरगढी गाविसको उपाध्यक्ष निर्वाचित राई दलहरूले मजदुरलाई भर्‍याङ बनाउने, उनीहरूको हितमा सिन्को नभाँच्ने उल्टै बद्नामी गर्ने चलन भएको र यो ठालू प्रवृत्तिको परिणाम स्वरूप आएको बताए।

बिरिङ किनारका हुन् वा भद्रपुरका, मेचीनगरका हुन् अथवा अर्जुनधाराका अधिकांश सुकुमबासी सर्वसाधारणले आफूहरूलाई दलका कार्यकर्ताले  'बिक्ने साधन' ठानेकोमा आक्रोशमा छन्। 'हामीले बर्षाैंदेखि आश्वासन पायौं, यथार्थमा केही पाएनौँ, कनकाई–८ का साँवा भन्छन्, 'अब ठूलो आशा पनि छैन। चुनावमा कोही राम्रो उम्मेद्वार देखियो भने भोट हाल्न जाने हो अन्यथा त्यही पनि गइन्न।'

यो क्षेेत्रमा २०४८ सालदेखि ४७ परिवार सुकुमवासी बसोबास गर्दै आएका छन्। उनीहरूमध्ये अधिकांशले एउटै व्यक्तिलाई मत दिने योजना रहेको बताए। धेरै वटा चुनावमा सहभागी भएर धेरैलाई नता बनाउँदा पनि गलत हल्ला चलाएर अपमान गर्ने प्रयास भएकोमा गहिरो खिन्नता र आक्रोश गाउँलेमा छ।  'हामीलाई राजनीतिक दलसँग खासै सरोकार छैन,' स्थानीय प्रेमकुमार लावतीले भने, 'जसले विगतमा हामीजस्ता गरिबको बस्तीमा विकासका योजना ल्याएको छ, भोट उसैले पाउँछ।' उनीहरूले भनेको विकासको मुख्य योजनामा त्यो बस्तीको विद्युतीकरण रहेको छ। अधिकांशले भने 'हामी यो पटक सचेत छौं।'

२०४८ सालयताको चुनावमा भोट माग्न आउने उम्मेद्वारलाई यहाँको विद्युत्को समस्या समाधान गर्न पटक–पटक ध्यानाकर्षण गराएको उनीहरूले बताए। तर, बर्षाैसम्म आफू अन्धकारमा बस्न बाध्य भएको गुनासो स्थानीय अर्जुन लिम्बूले गरे। झापाको अर्जुनधारा नगरपालिका ५ पानीकलका सुकुम्वासीहरूको पनि मत त्यस्तै छ। उनीहरूले पनि यसअघि त्यहाँको मुख्य समस्या तटबन्धन बनाउने आश्वासन पाएको बताएका छन्। बाढीको उच्च जोखिममा रहेको बस्तीका उनीहरूले त्यो रोकथाम गर्ने उम्मेद्वारलाई भोट दिने बताए। 'पहिले पनि यस्ता योजना नसुनाइएका होइनन्, स्थानीय रामबहादुर तामाङ्गले भने, 'तर अहिले भने यहाँको भोटको लागि पहिले काम गर्न पर्ने शर्त राखेका छौं।'

सुकुम्वासी बस्तीमा भोट माग्न जाने प्रायः सबै उम्मेद्वारले   चुनाव जितेपछि धनिपूर्जा बाँड्ने आश्वासन दिने गरेका छन्। मतदाता सुकुमवासी हो भन्ने थाहा पाउने बित्तिकै धनिपुर्जाको पोको खोल्न थाल्ने उम्मेद्वारका गुलिया कुराको पछि यसपटक नलाग्ने अधिकांश मतदाताको भनाइ छ। विकाससँग जोडिएका स्थानीय निर्वाचनमा असल व्यक्ति चुन्न आतुर देखिएका सुकुमवासीलगायत नदी किनाराका जनता आश्वासनको पछि नलागी योग्य व्यक्तिलाई मतदान गर्न सचेत रहेको बताउँछन्।

२२ हजारभन्दा बढी भूमिहीन सुकुमबासी रहेको झापामा सुकुम्बासी समस्या समाधान आयोगमा गतवर्ष ४२ हजार ५ सयले लालपूर्जा पाउन आवेदन गरेका थिए। यसले पनि जिल्लामा सुकुमबासीको जनसंख्या ठूलो रहेको देखाउँछ। आयोग झापाका पूर्व अध्यक्षसमेत रहिसकेका एमाले नेता एकराज कार्की सुकुमबासी सर्वसाधारणको आत्सम्मानमा ठेस पुग्ने र होच्याउने काम दलहरूबाट भएको मान्न तयार छैनन्। उनले अबको स्थानीय तहले उनीहरूको समस्या समाधान गर्नुपर्ने बताउँछन्।  'अब स्थानीय तह शक्तिशाली बनेको छ,' उनले भने 'त्यसैले अब स्थानीय तहहरूले उनीहरूको समस्या समाधान गर्नुपर्छ।'

प्रकाशित: ४ असार २०७४ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App