coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओपनरमाथि कोहली ढुक्क

बर्मिङघम- च्याम्पियन्स ट्रफीको फाइनलमा आइतबार चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्न मैदान उत्रिँदा भारतीय कप्तान विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरियताक्रमको शीर्ष स्थानमा फर्किइसकेका हुनेछन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सधै रोमाञ्चक रहने गर्छ। त्यसमाथि एउटा ठूलो प्रतियोगिताको उपाधि छिनोफानो समेत गर्ने भएकाले आइतबारको खेल अझ महत्वपूर्ण हुनेछ। राजनीतिक रुपमा समेत पानी बाराबारको अवस्थामा रहेका दक्षिण एसियाका दुई मुलुकबीचको फाइनलमा कुनै पनि टोली हार्न चाहदैन।

रोहित र शिखरले जसरी खेलिरहेका छन्, त्यसले हामीलाई आत्मविश्वास दिएको छ। उनीहरुले सुरुमै विपक्षीलाई मानसिक रुपमा हराइसकेका हुन्छन्। त्यसपछि हामीले उनीहरुबाट बनेको आधारमा केही थप्नेमात्र हो।

कोहलीले आफूले राम्रो गरिरहे पनि टोलीका दुई ओपनिङ ब्याट्सम्यानप्रति बढि भर गरेका छन्। जसको उच्च प्रदर्शन आइतबार दी ओभलमा भारतलाई जित दिलाउन प्रेरणादायी हुने कोहलीले विश्वास व्यक्त गरे। २८ वर्षे कोहलीको जारी प्रतियोगितामा ब्याटिङ औसत सबभन्दा बढि २ सय ५३ छ। चारमध्येका तीन इनिङमा उनी अविजित रहेका थिए।

बुधबार इड्गबास्टनमा बंगलादेशमाथि ९ विकेटको प्रभावशाली जित हासिल गर्दै उपाधि रक्षाको अभियानमा एक कदम नजिक पुग्दा पनि साबिक विजेता टोलीका कप्तान कोहली अविजित थिए। भारतले २०१३ को च्याम्पियन्स ट्रफी उपाधि पनि यही इड्गबास्टनको मैदानमा जितेको थियो। अविजित ९६ रन बनाएका कोहलीले सबिर रहमानको बलमा चौका प्रहार गर्दै झण्डै १० ओभरको खेल बाँकी रहँदै भारतलाई जित दिलाएका थिए। तर अर्को इन्डमा रोहित शर्मा १ सय २३ रनमा अविजित थिए। रोहितले कप्तानसँग १ सय ७८ रनको अविजित साझेदारी गरेका थिए।

कोहली ब्याटिङका लागि क्रिजमा आउँदा नै २ सय ६५ रनको सामान्य लक्ष्य पछ्याएको भारत बलियो अवस्थामा थियो। रोहितले त्यसअघि वायाँ हाते ओपनिङ पार्टनर शिखर धवनसँग पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। धवनले ४६ रन बनाए।

'म आफ्नो ब्याटिङबाट सन्तुष्ट छु। प्रतियोगिताको यो अवस्थामा आइपुग्दा कति रन बन्यो भन्ने मेरा लागि महत्वपूर्ण छैनन्। तर जसरी हामीले खेलिरहेका छौं, त्यो साच्चै महत्वपूर्ण छ,' कोहलीले शुक्रबार पत्रकारहरुसँग भने, 'रोहित र शिखरले जसरी खेलिरहेका छन्, त्यसले हामीलाई आत्मविश्वास दिएको छ। उनीहरुले सुरुमै विपक्षीलाई मानसिक रुपमा हराइसकेका हुन्छन्। त्यसपछि हामीले उनीहरुबाट बनेको आधारमा केही थप्नेमात्र हो।'

उपाधि रक्षाको अभियान थाल्ने क्रममा दुई साताअघि बर्मिङघममा पाकिस्तानमाथि १ सय २४ रनको रवाफिलो जित दर्ता गरेको भारतले प्रतियोगिताको क्लाइमेक्समा पनि त्यही प्रतिद्वन्द्वी पाएको छ। जहाँ आश्चर्यजनक टोलीको पहिचान बनाएको पाकिस्तानले समूह चरणको बदला लिने सम्भावना रहन्छ। भारतसँग हारेपछि पहिलो चरणबाटै बाहिरिने अनुमान गरिएको पाकिस्तानले त्यसयता सनसनीपूर्ण प्रदर्शन गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। भारतसँगको खेलपछि शीर्ष वरियताको दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तानले पुनरागमन सुरु गरेको थियो। त्यसपछि कार्डिफमा क्वार्टरफाइनल जस्तै अर्थ बोकेको खेलमा श्रीलंकालाई हराएर सोमबार पाकिस्तान सेमिफाइनल पुगेको थियो। वेल्सको राजधानीमा दुई दिनअघि पाकिस्तानले अर्को जादुमय प्रदर्शनलाई निरन्तरता दियो। त्यसअघिसम्म अपराजित रहँदै आएको आयोजक इङल्यान्डलाई आठ विकेटले हराउँदै फाइनल पुगेको पाकिस्तान कडा प्रतिस्पर्धीका रुपमा प्रस्तुत हुने कोहलीले अपेक्षा गरेका छन्।

'यो प्रतियोगिता निकै रोमाञ्चक भइरहेको छ। पाकिस्तानको यात्राले पनि रोमाञ्च थपेको हो। उनीहरुले बलिया टोलीलाई हराएर आफूलाई फेरी प्रमाणित गरेका छन्,' इङल्यान्डलाई २ सय ११ रनको झिनो स्कोरमा रोक्न सफल पाकिस्तानको प्रशंसामा कोहलीले भने, 'हामीले पाकिस्तानविरुद्ध निकै सचेत भएर खेल्नुपर्छ। उनीहरु अनुमान गर्न कठिन टिम हुन्।'

प्रकाशित: ३ असार २०७४ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App