coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

न तात्यो आन्दोलन,  न चुनावी सरगर्मी

वीरगन्ज- न चुनाव पक्षधरले चाहेअनुसार तोकिएकै समयमा निर्वाचन हुन पायो न त्यसविरुद्ध गरिएको आन्दोलन सशक्त बन्यो। राष्ट्रिय जनता पार्टीको आह्वानमा मंगलबारदेखि गरिएको चारदिने हडताल फिर्ता हुनुअगावै शुक्रबार वीरगन्ज बजार खुल्यो।

आन्दोलनरत दललाई सहमत नगरीकन सरकारले निर्वाचन मिति अढाइ महिना सारेपछि असन्तोष देखिएको छ।

'सरकारले बिहीबार नै सहमति भएको भन्दै चुनाव मिति सारेको छ। त्यससँगसँगै राजपाले हो हामी सहमतिमा गएका हौं भनेन,' युवा अभियन्ता तबरेज अहमदले भने, 'राजपा नेताले  शुक्रबार पनि आन्दोलन जारी रहेको बताइरहँदा बन्दहडताल स्वतः खुलिसकेको रहेछ।'  यसपालि वीरगन्जमा सर्वसाधारणको सहभागिता बन्दहडतालमा उल्लेखनीय रहेन। टन्टलापुर घामको रापसँगै आन्दोलनकारीले टायर बालेर नाराबाजी गर्दा प्रक्रिया पूरा गरेजस्तै देखियो।

प्रतिकूल मौसम र गाउँघरमा धानखेतीको सिजनले गर्दा पनि आन्दोलनले गति लिन सकेन। क्यामरा अन भएपछि 'मधेसी एकता जिन्दाबाद, सरकार मुर्दाबाद' लगायत नारा मुठी उचालेर प्रदर्शनकारीले लगाए र क्यामरा हट्नासाथ केहीले सेल्फी खिचे अनि नाराबाजी बन्द।

अघिल्लो मधेस आन्दोलनमा पर्सा र बाराका सर्वसाधारणको लाखभन्दा बढी सहभागिता भएका अनेक जुलुस र सभा भए। सुरुमा यसैगरी फितलो देखिए पनि मानिसको उत्साह र सहभागिता आन्दोलनमा बढ्दै गएको थियो। यहाँ ६ महिनसम्म तराई–मधेस हडताल तथा एक सय ३४ दिन वीरगन्ज नाकामा अवरोध भयो। यसै ठाउँमा र सोही मुद्दामा यसपालि किन बनेन आन्दोलनको माहोल?

'जनता चुनावको माहोलमा गइसकेको अवस्थामा आन्दोलन घोषणा भयो। स्थानीय तहमा कुनै न कुनै पार्टीबाट उम्मेदवार बन्न चाहनेको संख्या धेरै छ। ती सबै आकांक्षी अघिल्लोपटकका आन्दोलनकारी हुन्,' अधिवक्ता रामनारायण कुर्मीले भने, 'केही दिनअघिसम्म टिकटको आसमा विभिन्न पार्टीतिर लागिसकेकाहरू आन्दोलनमा नलागेका हुन्।'

आन्दोलनको मुद्दाप्रति आममधेसी र मुद्दा बुझ्नेहरूको लगाव भने नघटेको उनले ठम्याएका छन्। अब राजपाले आन्दोलन थालिसकेपछि फेरि गएर चुनावमा पनि भाग लिने काम गर्‍यो भने मधेस मुद्दालाई धक्का पुग्ने उनको बुझाइ छ।

राजपाले बन्दहडताल जारी नै रहेको बताइरहँदा शुक्रबार बन्दको असर ज्यादै न्यून देखियो।

बिहीबार साँझ प्रदेश नम्बर २ को निर्वाचन सार्ने सहमति हुनुभन्दा एक दिनअघि राजपाका नेता राजेन्द्र महतोले वीरगन्जमा पत्रकार सम्मेलन गर्दै 'चुनाव रोकिए, आन्दोलनका कार्यक्रम परिवर्तन हुने' बताएका थिए। राजपाको आन्दोलन फिर्ताको आशा र हल्लासँगै आधिकारिक घोषणा आउनुअगावै शुक्रबार बिहानैदेखि बजार र यातायात खुल्यो।

'पसल खोलेको भए पनि सतर्क छौं। एक्कासि बन्दकर्ता आएमा हतारमा सटर खसाल्नुपर्ने हुन सक्छ,' एक पसलेले भने, 'यस्तो पनि हुन्छ? व्यवसाय धन्दा गर्न नपाउने? बन्द हडतालबाहेक आन्दोलनको अर्को तरिका खोजे भइहाल्यो नि!' मधेसप्रति ठूला दल बेइमान भएको कारण समस्या लम्बिएको उनको बुझाइ छ।

'सर्वसाधारण र  व्यवसायीले कुनै पनि बन्दहडताल रुचाएका हुँदैनन्। मानिसको रोजिरोटी प्रभावित हुने गरेको छ,' विश्लेषक चन्द्रकिशोरले भने, 'यो आन्दोलन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबिना पनि सफल भएको हो। मुद्दा जीवित रह्यो भने भोलि राजपाबिना पनि आन्दोलन अगाडि बढ्न सक्छ।'

राजपाका नेता नेजामुद्दनि समानीले बिनापरिश्रम बन्दप्रति समर्थन देखिएको बताए। 'अघिल्लोपल्ट संविधानमा मधेसीलाई अधिकार दिन लागिएको छैन भन्ने बुझाइबीच सुरु भएको आन्दोलनमा सहभागिता बढी थियोे,' समानीले भने, 'अहिले सरकारले संशोधन प्रस्ताव ल्याएको छ। निर्वाचन मिति नसारेर जबरजस्ती उम्मेदवारी दर्ता गराउन खोजेको भए वीरगन्जमा कर्फ्यु लगाउनुपर्ने अवस्था आउँथ्यो।'

उनले आफूहरूले आन्दोलन उग्र बनाउन नचाहेको दाबी गरे।

राजपाका उपाध्यक्ष सुरेन्द्र कुर्मीले मधेस आन्दोलन चक्रब्यूहमा फसेको बताए। आफूहरूले जलाएको संविधानको व्यवस्थाअनुसार सुशील कोइरालाका पक्षमा मतदान गरेदेखि निरन्तर मधेस आन्दोलन फस्दै गएको ठम्याइ उनको छ।

राजपाका आन्दोलनकारीको निसानामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको कार्यक्रम र वीरगन्ज नगर समितिको कार्यालय पर्यो।

पार्टी प्रदेश कोषाध्यक्ष विजय सराबगीले भने, 'देश चुनावमा गइसकेको छ। मधेसलाई  फरक पारिएको छ, फरक मितिमा चुनाव तय गरेर,' पहिलोपटक नै दुईवटा मिति निर्धारित गर्नु गल्ती भएको हो, मधेस मामिलामा ठूला दल गम्भीर भएनन्।'

प्रकाशित: ३ असार २०७४ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App