coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दार्जिलिङ दोस्रो दिन पनि ठप्प

इलाम- गोर्खा जनमुक्ति मोर्चाले बिहीबार आह्वान गरेको अनिश्चितकालीन आमहड्तालका कारण भारतको दार्जिलिङसहितको पहाडी क्षेत्र दोस्रो दिन शुत्रबार पनि ठप्प रह्यो।

                प्रहरीले आफ्नो कार्यालयमा एकाएक छापा मारेपछि आक्रोशित गोर्खा जनमुक्ति मोर्चाले शुक्रबारको आमहड्ताललाई अघिल्लो दिनभन्दा कडाइ गरेपछि यहाँका बजार, पसल, स्कुल, सवारी साधनलगायत सबै ठप्प भए । बन्दका कारण सयौं पर्यटक अलपत्र परेका छन् । प्रहरीले केही पर्यटकलाई बसमा राखेर तराईसम्म पुर्‍याइदिएको थियो ।

                मोर्चाले गत शनिबारको बैठकबाट चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेपनि बन्द र आमहड्तालका कार्यक्रम राखेको थिएन । तर, बिहीबार प्रहरीले दार्जिलिङ पातलेबासस्थित आफ्नो कार्यालयमा छापा मारेपछि मोर्चाले आकस्मिक रूपमा आमहड्ताल आह्वान गरेको हो । मोर्चाका सहसचिव विनय तामाङले ‘गोर्खाल्यान्ड’को माग पूरा नहुञ्जेल आमहड्ताल फिर्ता नगर्ने चेतावनी दिए । उनले शनिबारदेखि आन्दोलन झन् कडाइ गर्ने बताए।

                ‘अब ठाउँ–ठाउँमा बसेका पुलिस र सिआरपिएफको खानेपानीको लाइनसमेत काटिदिने छौं,’ उनले शुक्रबार भने, ‘उनीहरूलाई खानेकुरा, साबुनसमेत कटौती गरिदिने छौं ।’ उनले अब गोर्खाल्याडको मागबाट मोर्चा पछि नहट्ने दाबी गरे । गत बुधबार मोर्चासहित त्यहाँका गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो), भारतीय जनता पार्टी, भारतीय गोर्खा परिसंघ, क्रान्तिकारी माक्र्सवादी पार्टी र गोर्खाल्यान्ड राज्य निर्माणकर्ता दलले संयुक्त रूपमा गोर्खाल्यान्डको आन्दोलन अघि बढाउने निर्णय गरेका थिए ।

                बिहीबार प्रहरीले  मोर्चाको कार्यालयमा एक्कासि छापा मारेर धनुकाण, फरुवा, बञ्चरो, हँसियालगायतका सामग्री बरामद गरेको थियो । प्रहरीले यहाँबाट केही थान ‘फायर आम्स’ समेत बरामद गरेको दाबी गरेको थियो । तर, मोर्चाले भने प्रहरीले आदिवासी जनजाति सामुदायका बालबालिकालाई शिक्षा दिन राखिएका सामान नियन्त्रणमा लिएको प्रतिक्रिया दिएको थियो ।

                पश्चिम बंगालको पहाडी क्षेत्रका कक्षा १ देखि १० सम्मको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गर्ने पश्चिम बंगाल राज्य सरकारका शिक्षामन्त्री पार्थ चटर्जीको घोषणापछि दार्जिलिङलगायत पहाडी क्षेत्र अशान्त बनेको हो । शिक्षामन्त्री चटर्जीको घोषणाप्रति विरोध गर्दै मोर्चाले दार्जिलिङ, खर्साङ, कालिम्पोङ र मिरिक क्षेत्रका आन्दोलन चर्काइरहेको छ । मोर्चाको आन्दोलनलाई स्थानीय ५ दलले पनि साथ दिएका छन् । भाषाको विषयमा भइरहेको आन्दोलन पुनः गोर्खाल्यान्डको मागमै केन्द्रित भएपछि झन् चर्किएको हो ।

               

 

प्रकाशित: २ असार २०७४ १४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App