coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन आचार संहिता उल्लङघन गर्दै दल

खोटाङ– स्थानीय तहको निर्वाचनमा होमिएका खोटाङका अधिकांश दलले निर्वाचन आचार संहिता उल्लंघन गरेको पाइएको छ। निर्वाचन आचार संहिता २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता २०७३ विपरित अधिकांश राजनैतिक दलले चुनाव प्रचार–प्रसार गरिरहेको पाइएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल, संघीय समाजबादी फोरम–नयाँ शक्ति लगायतका दलले निर्वाचन आचार संहिता विपरित पार्टीको चिन्ह अंकित टि–सर्ट र टोपी प्रयोग गरेर निर्वाचन प्रचार–प्रसार गरिरहेका छन्। उनीहरुका अधिकांश कार्याकर्ता पार्टीको चिह्न अंकित टि–सर्ट लगाएर आसभा, जुलुस, घरदैलो, भेटघाटमा सहभागी बनेको देखिन्छ।

असार १४ गते तोकिएको निर्वाचनमा होमिएका ती दलले निर्वाचन आचार संहिता विपरित चुनावी जुलुस र र्‍यालीमा बालबालिकालाई समेत प्रयोग गरिरहेका छन्। निर्वाचनमा होमिएका राजनैतिक दलका नेताले सामाजिक सञ्जालमा पोष्ट गरेको अधिकांश तस्बिरमै बालबालिकाले झण्डा बोकेर जुलुसमा हिँडिरहेको देख्न सकिन्छ। धार्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन नहुनेमा सदरमुकाम दिक्तेलमा अधिकांश बिजुलीको खम्बामा पार्टीका पोष्टरहरु टाँसिएका छन्। कतिपय पोलमा पार्टीको चिन्ह अंकित झण्डाहरु फहराइएका छन् । चुनावी प्रचार–प्रसारकाक्रममा निर्वाचन आचार संहिता उल्लंघन भइरहेका भए पनि लिखित उजुरी नआएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए। ‘आचार संहिता उल्लंघनका विषयमा एक/दुई वटा मौखिक उजुरी आएको छ,’ जिल्ला निर्वाचन अधिकारी खत्रीले भने, ‘तर, अहिलेसम्म लिखित उजुरी आएको छैन।’ 

निर्वाचनकाक्रममा आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने यन्त्रको प्रयोग गर्न बन्देज गरिएकामा दिक्तेलमा हरेक पार्टीले कोठा लिएर दिनभर ठूलो साउण्डमा पार्टीको गीत बजाइरहेका छन्। कांग्रेस र माओवादी रुपाकोट मझुवागढीले दिक्तेलको पुरानो बेस क्याम्पमा, एमालेले नगरपालिकाको कार्यालय अगाडि स्थापना गरेको सम्पर्क कार्यालयमा दैनिक ठूलो आवाजमा पार्टीगत गीत, नारा र जिंगल बजाउने गरिएको छ। राप्रपा नेपालले त्रिबेणीचोकमा र संघीय समाजबादी फोरम–नयाँ शक्तीले कर्ममन्दीर अगाडि स्थापना गरेको कार्यालयबाट निस्कने गीतको आवाज पनि कुनै उत्सवकोभन्दा फरक छैन। एमाले रुपाकोट मझुवागढी नगरपालिका–१ ले पनि भवनगैरामा छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको छ । पार्टीको सम्पर्क कार्यालयमा बजेको गीत टाढैबाट सुन्न सकिन्छ । निर्वाचन प्रचार–प्रसारकाक्रममा मोटरसाईकलको उपयोग गर्न नमिल्नेमा मोटरसाईकलको र्‍याली नै निकाल्ने होड चल्ने गरेको छ । कतिपय उम्मेदवारले संगीन पर्चा समेत बाँडिरहेको पाइएको छ ।

आचार संहिता उल्लंघनका बिरुद्ध उजुरी 

अधिकांश दलले निर्वाचन आचार संहितालाई लत्याएर चुनावी प्रचार–प्रसारमा लागेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी खोटाङले मूख्या निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ। आचार संहिता उल्लंघनमा केही दलको होडबाजी नै चलिरहेकाले निर्वाचन परिणाम निष्पक्ष र धाँधलीरहित हुनेमा शंका उव्जिएको भन्दै मालेले बिहिबार मूख्या निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो । चुनावी प्रचार–प्रसारकाक्रममा प्रयोग भइरहेका पार्टीको चिन्ह अंकित ज्याकेट, टि–सर्ट, टोपीको प्रयोगलाई रोक्नुपर्ने, निर्वाचनलाई निष्पक्ष र धाँधली रहित बनाउनमा ध्यान दिनुपर्ने माग गर्दै उजुरी दिइएको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला संयोजक मिनप्रसाद आचार्यले बताए । ‘निर्वाचन आचार संहिता पालनामा दल जिम्मेवार बनेको देखिएन,’ आचार्यले भने, ‘नियमन गर्नुपर्‍यो। आचार संहितालाई पालना गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

आचार संहिता अनुगमनकर्ताको जिम्मेवारी सम्हाली रहेका सरकारी वकिल नारायण दाहालले भने निर्वाचन आचार संहितालाई पालना गर्न सबै दलका नेताले प्रतिबद्धता जनाइसकेको बताए । ‘निर्वाचन आचार संहिताका विषयमा एउटा उजुरी परेको छ,’ दाहालले भने, ‘तर, बिहिबार नै सबै दलले आचार संहिता पालना गर्न प्रतिबद्धता जनाइसकेकाले उहाँहरुको माग सम्बोधन भइसकेको छ।’

प्रकाशित: २ असार २०७४ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App