coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

'जुजु धौ'मा रमाउँदै चिनियाँ

'वे ताउ टु थ,' भक्तपुर दरबार स्वायर नजिकै दही खाँदै गरेका चिनियाँ पर्यटक वाङ र लुले भने, 'हन हाउ छी।' पश्चिमीका साथै केही वर्षदेखि चिनियाँ पर्यटकको संगत गर्न पाएका दही पसलेले पनि भन्न भ्याइहाले 'से से' अर्थात धन्यवाद।

वाङ र लुलाई 'गाइड' गरिरहेका पथप्रदर्शकले उनीहरूको प्रतिक्रियालाई यसरी अर्थ्याए, 'वे ताउ टु थ' अर्थात 'स्वाद युनिक छ' र  'हन हाउ छी' अर्थात 'अति मिठो।'

धेरै चिनियाँ पर्यटकले आफ्नो मुलुकको तुलनामा भक्तपुरे दही निकै स्वादिलो भएको प्रतिक्रिया दिने गरेका छन्। उनीहरूले 'जुजु धौ' खाएपछि पसलका भित्तामा लेखेका प्रतिक्रियाले त्यसलाई पुष्टि गर्छ।

वाङ र लु मात्र होइन, पछिल्लो समय भक्तपुर घुम्न आउने चिनियाँ पर्यटक यहाँको प्रसिद्ध 'जुजु धौ'मा रमाउन थालेका छन्। भक्तपुर पुग्ने बित्तिकै उनीहरू यसबारे सोधखोज गर्न थाल्छन्।

चिनियाँ पर्यटकलाई भक्तपुर घुमाउन ल्याएका  'टुर गाइड' प्रदीप गिरीका अनुसार अन्यको तुलनामा चिनियाँले दही बढी मन पराउने गरेका हुन्। 'भक्तपुर भन्ने बित्तिकै उनीहरू 'स्वान्नाई (चिनियाँ भाषामा दही) खानुपर्छ भन्छन्,' गिरी भन्छन्, 'दहीको स्वादले उनीहरूलाई तानेको छ।'

दरबारक्षेत्र नजिकैको हाडा कोल्ड स्टोरका  विकेश हाडा पनि चिनियाँको 'जुजु धौ' प्रेम देखेर दंग छन्। दहीमा चिनियाँ आकर्षण देखेर उनले पसलको 'साइन बोर्ड'मा नेपालीमा 'जुजु धौ' अङ्ग्रेजीमा 'किङ कर्ड'सँगै चिनियाँ भाषामा 'कोवाङ स्वान्नाई (दहीको राजा) लेखिसकेका छन्।'

धेरै चिनियााँ पर्यटकले आफ्नो मुलुकको तुलनामा भक्तपुरे दही निकै स्वादिलो भएको प्रतिक्रिया दिने गरेका छन्। उनीहरूले 'जुजु धौ' खाएपछि पसलका भित्तामा लेखेका प्रतिक्रियाले त्यसलाई पुष्टि गर्छ।

'दही खाइसकेपछि धेरैले भित्तामा प्रतिक्रिया लेख्छन्,' हाडा भन्छन्, 'उनीहरू दहीको स्वादमा रमाएको देख्दा खुसी लाग्छ।' धेरै प्रतिक्रियामा दहीको मिठास वर्णन गरिएको हुन्छ।

चिनियाँले नेपाल आउनु अगावै दहीबारे जानकारी लिने गरेका छन्। भक्तपुरको 'जुजु धौ'बारे 'लोनली प्लानेट'मा पनि उल्लेख छ। त्यसले उनीहरूलाई यसबारे पहिले नै थाहा भइसकेको हुन्छ। 'यहाँको दहीबारे विभिन्न भाषामा खबर प्रकाशित भएका छन्,'  हाडा भन्छन्, 'भक्तपुर घुम्न आएका धेरैले दही चाखेरै जान्छन्।'

भक्तपुरस्थित पर्यटक सूचना केन्द्रका मुरज दिदियाका अनुसार यहाँ घुम्न आउने धेरै पर्यटक 'जुजु धौ'को स्वादमा रमाउँछन्। भक्तपुरमा मात्र वार्षिक ५० हजारभन्दा बढी चिनियाँ पर्यटक आउने उनको अनुमान छ।

केन्द्रले कतिपय अवस्थामा भक्तपुर घुम्न आउने पर्यटकलाई दही उपहार समेत दिने गरेको छ।  केही वर्षअघि भक्तपुर घुम्न आएका चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुखलाई तत्कालिन नेपाल मजदूर किसानका तर्फबाट सभासद् प्रेम सुवालले सगुनका रूपमा दहीको कतारो दिएका थिए। भक्तपुरमा दहीलाई सगुन र शुभ–संकेतकारुपमा लिइन्छ।

ख्वपः जुजु धौैकी सञ्चालक रेखा श्रेष्ठ अचेल चिनियाँ पर्यटकले धेरै दही मन पराउने गरेको बताउँछिन्। 'दहीको चित्र देख्ने बित्तिकै उनीहरू आकर्षित हुन्छन्,' उनी भन्छिन्।

किन मिठो?

अजिमा दही भण्डारका सञ्चालक गणेशकुमार न्याखुसी बनाउने परम्परागत तरिका, हावापानी र दूधको गुणस्तरका कारण 'जुजु धौ' स्वादिलो भएको बताउँछन्। अहिले पनि भक्तपुरमा परम्परागत तरिकाबाटै दही बनाइँदै आएको छ। 'जुजु धौ' तयार पार्न करिब पाँच घण्टा समय लाग्छ। गाई–भैसींको दूधलाई बाक्लो हुने गरी तताउने र त्यसपछि भुसमा बिछ्याइएका माटोका कतारोमा खन्याएर जमिनमा सेलाउने प्रक्रियाबाट दही तयार हुन्छ।

सस्कृतिविद ओम धौमडेल लिच्छिवीकालदेखि 'जुजु धौ' बन्न थालेको र मल्लकालमा यो निकै लोकप्रिय भएको बताउँछन्। भक्तपुरको काँठ क्षेत्रबाट ल्याएको पोषिलो दूध, प्रजापती समुदायले बनाएका माटाका मौलिक भाँडा, उपयुक्त हावापानी र जमाउने परम्परागत प्रविधिले यहाँको दही राम्रो भएको उनी बताउँछन्।

प्रकाशित: २ असार २०७४ ०५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App