coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जिम्मेवारी एउटा, काम अर्कै

काठमाडौं महानगरपालिकाको सरसफाई सुपरभाइजर उद्धव थापा वडा नम्बर ११ को राजस्व संकलन गर्ने काम गर्छन्।

महानगरपालिकाकै नगर प्रहरी इन्सपेक्टर महेन्द्र महत्तो भने टे्रड युनियन कांग्रेसमा सक्रिय भई राजनीतिक कार्यक्रममा व्यस्त छन्।

स्थानीय जनप्रतिनिधि आउनुअघि उनी प्रहरीको पोसाक समेत नलगाई कामै नगरी निर्धक्क डुल्थे। महानगरपालिकाकै सवारी चालक राम गोपाल खत्रीले अहिलेसम्म गाडीको स्टेयरिङ नै नघुमाई मासिक तलब बुझ्छन्।

महानगरपालिकाका कर्मचारीले गर्ने मनपरीका उदाहरण हुन् यी। महानगरपालिका एक उच्च अधिकारीका अनुसार कतिपय कर्मचारीले तोकिएको जिम्मेवारी पुरा गरिरहेका छैनन्। उनका अनुसार महानगरपालिकामा एक सय भन्दा बढी कर्मचारी जिम्मेवारी बाहिर छन्। जिम्मेवारी बाहिर बाहिर रहनेमा अधिकांश कर्मचारी वातावरण विभागका भएको ती अधिकारी बताउँछन्।

महानगरपालिकामा २२ सय ५२ कर्मचारी दरबन्दी छ। हाल १८ सय ३१ जना कर्मचारी महानगरपालिकामा कार्यरत छन्। यी मध्ये ७० प्रतिशत कर्मचारी वातावरण विभागमा काम गर्छन्। ‘वातावरण विभागका झण्डै ११ सय कर्मचारी छन्,’ महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्की भन्छन्।

सरसफाइको जिम्मा भएकाले वातावरण विभागमा धेरै कर्मचारी भएका हुन्। विभागमा कुचिकारको संख्या मात्रै ८ सय हारहारीमा रहेको विभागका प्रमुख रविमान श्रेष्ठले जानकारी दिए। तर, कुचिकार अनुसार विभागले सरसफाई गर्न भने विभागले सकिरहेको छैन। ‘अधिकांश कुचिकार मुख्य कार्यालय, वडा कार्यालयमा टेबुल पुछेर बसिरहेका छन्,’ महानगरका एक उच्च अधिकारी भन्छन्, ‘कुचिकारलाई सडकमा कुचो लगाउन दिनुको सट्टा कार्यालयमा टेबुल पुछ्ने जिम्मेवारी दिएपछि कसरी सफा हुन्छ काठमाडौं?’

हालै निर्वाचित महानगर प्रमुख विद्यासुन्दर शाक्यले पहिलो निर्णय नै ‘क्लिन काठमाडौं’ गरेका थिए। तर हालसम्म उनको निर्णय प्रभावकारीरुपमा कार्यान्वयन भएको छैन। कर्मचारीको परिचालन व्यवस्थित तरिकाले नभएपछि उनको पहिलो निर्णय नै असफल भएको हो। वातावरण विभाग प्रमुख श्रेष्ठ भने सफाइको काम निरन्तर भइरहेको बताउँछन्। ‘आज मात्रै हामीले जमलबाट १० टन धुलो उठायौं,’ विहिबार उनले भने, ‘सफाइको काम निरन्तर भइरहेको छ। सुर्योदय अगाडि नै फोहर उठाउने काम गरिहरेका छौं।’ 

प्रकाशित: २ असार २०७४ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App