८ वैशाख २०८१ शनिबार
समाज

दर्ता नगरी बालगृह सञ्चालन गर्ने पक्राउ

रत्ननगर (चितवन)– दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि एक बालगृहका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

चितवनको भरतपुरमा रहेको पिस नेपाल नामको बालगृह सञ्चालन गर्दै आएका सञ्चालक प्रतीक सुनारलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

मङ्गलबार साँझ गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ। आजबाट थप अनुसन्धानको प्रक्रिया सुरु हुने जनाइएको छ।

विगत दुई वर्षदेखि यहाँ दर्ता नै नगरी बालगृह सञ्चालन गरिएको र नियम विपरीत धर्म प्रचार गरिएको समेत पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको उनले जानकारी दिए। यहाँ अहिले ८ बालबालिका राखिएका छन्।

जिल्लामा सञ्चालित बालगृहमा पटकपटक गरिएको अनुगमनका क्रममा सुधार गर्न दिइएको निर्देशन अटेर गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

चितवनमा सञ्चालित बालगृहमा क्रिश्चियन धर्मको प्रचार, क्षमताभन्दा बढी बालबालिका राख्ने र बालबालिकालाई पोषणको अभावलगायतका समस्या अनुगमनमा पाइएको चितवन प्रशासनले जनाएको छ ।

पटकपटक यहाँका बालगृहको अनुगमन गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए। केही बाललगृह मापदण्डविपरीत सञ्चालन भएको, बढी बालबालिका राखिएको, जिल्ला बाहिरका बालबालिका ल्याउँदा कानुनी प्रक्रिया पूरा गर्नुपर्नेमा नगरिएको, मापदण्ड नपुगेको लगायतका समस्या देखिएको सिंहले बताए।

जिल्लामा ३२ बालगृह सञ्चालनमा छन् । रासस

 

प्रकाशित: ५ श्रावण २०७३ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App