७ वैशाख २०८१ शुक्रबार
खेल

आयोजक इङ्ल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

कार्डिफ- आयोजक इङ्ल्यान्डलाई बुधबार ८ विकेटले पराजित गर्दै पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।  इङ्ल्यान्डले दिएको २ सय १२ रनको विजयलक्ष्य पाकिस्तानले ३७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो।

ओपनद्वय अजहर अली र फकर जमानले पहिलो विकेटका लागि १ सय १८ रनको महत्वपूर्ण साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरआत दिलाएपछि इङ्ल्यान्डको खेलमा फर्कने सम्भावना क्षीण बनेको थियो।

१ सय बल सामना गरेका अहजरले ५ चौका र १ छक्काको मद्दतमा ७६ र ५८ बल खेलेका जमानले ७ चौका र १ छक्काको मद्दतमा ५७ रनको योगदान दिए।

त्यस्तै बाबर आजमले अविजित ३८ र मोहम्मद हाफिजले अविजित ३१ रनको योगदान दिए। इङ्ल्यान्डका एडिल रसिद र ज्याक बेलले समान १ विकेट लिए। पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो।

‘यो जितको श्रेय खेलाडीहरूलाई जान्छ जसले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे,’ पाकिस्तानका कप्तान सरफराज अहमलदे भने, ‘हामी यहाँको वातावरणसँग राम्रोसँग भिज्यौं , उनीहरूलाई सस्तोमा समेट्न सके लक्ष्य सहजै पछ्याउन सकिन्छ भन्ने थाहा थियो। सबै खेल नकआउटजस्तै थिए र मैले मेरा खेलाडीहरूलाई नतिजाको कुनै चिन्ता नलिई आफ्नो स्वाभाविक खेल खेल्न भनेको थिएँ। हामीले त्यही गर्‍यौं र फाइनल यात्रा पक्का गर्‍यौं।’

यसअघि म्यान अफ दी म्याच हसन अलीले १० ओभरमा ३५ रन खर्चंर्दै महत्वपूर्ण तीन विकेट लिएपछि टस हारेर ब्याटिङका लागि उत्रिएको इङ्ल्यान्ड ४९.५ ओभरमा २ सय ११ रनमा सीमित भएको थियो।

प्रतियोगितकाकै दाबेदार टोलीको रूपमा रहेको इङ्ल्यान्डका खेलाडीले समूह चरणमा जस्तै प्रदर्शन गर्न नसक्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को प्रमुख एकदिवसीय प्रतियोगितामा पहिलो उपाधि जित्ने टोलीको लक्ष्य तुहिएको थियो। इङ्ल्यान्ड समूहचरणको तीनवटै खेल जितेर विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो।

जो रुटले ४६ र ओपनर जोनी बेरिस्टले ४३ रनको योगदान दिनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

५६ बल सामना गरेका रुटले २ चौका प्रहार गर्दा ५७ बल खेलेका बेरिस्टले ४ चौका प्रहार गरे। त्यस्तै कप्तान इयान मोर्गानले ३३ रनको योगदान दिए।

समूहचरणको अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध शतक प्रहार गर्दै आफू लयमा रहेको संकेत गरेका अलराउन्डर बेन स्टोक्स यस खेलमा चल्न सकेनन्। ६४ बल सामना गरेका स्टोक्सले मात्र ३४ रन जोड्न सके। उनले पूरा इनिङमा एउटा पनि चौका प्रहार गर्न सकेनन्।

पाकिस्तानका हसन अलीले ३ तथा जुनैद खान र रुमान रहिसले समान २ विकेट लिए। त्यस्तै साडब खानको नाममा एक विकेट रह्यो।

‘आज हामी यहाँको वातावरणसँग भिज्न सकेनौं। तर पाकिस्तानले भने यहाँको वातावरणमा राम्रो गर्‍यो,’ इङ्ल्यान्डका कप्तान मोर्गानले भने, ‘हामीले राम्रो तयारी गरेका थियौं तर सोचेजस्तो रन जोड्न सकेनौं। २ सय ११ रन सहज लक्ष्य हो। २ सय ५० देखि २ सय ७० रनको लक्ष्य राम्रो बन्न सक्थ्यो।’

यो जितको श्रेय खेलाडीहरूलाई जान्छ जसले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे।  मैले मेरा खेलाडीहरूलाई नतिजाको कुनै चिन्ता नलिई आफ्नो स्वाभाविक खेल खेल्न भनेको थिएँ। हामीले त्यही गर्‍यौं र फाइनल यात्रा पक्का गर्‍यौं।

प्रकाशित: २ असार २०७४ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App