८ वैशाख २०८१ शनिबार
खेल

दक्षिण कोरियाका प्रशिक्षक बर्खास्त

सोल- विश्वकप छनोटअन्तर्गतको खेलमा कतारसँग स्तब्ध भएपछि दक्षिण कोरियाले बिहीबार प्रशिक्षक उली स्टिलाइकलाई बर्खास्त गरेको छ। कतारसँग मंगलबार भोगेको ३–२ को हारपछि दक्षिण कोरियाको अर्को वर्ष रूसमा हुने विश्वकपको छनोट यात्रा कठिन बनेको थियो।

जर्मनीका प्रशिक्षक स्टिलाइकले छनोटअन्तर्गत चीन र इरानसँगका हारसहित लगातारका कमजोर नतिजाको मूल्य चुकाउनुपरेको हो। कतारसँग दक्षिण कोरिया अन्तर्राष्ट्रिय फुटबलमा पराजित भएको ३२ वर्षमा यो पहिलो खेल हो। जसका कारण टोली सोझै रूसलाई छानिने सम्भावना कमजोर बनेको छ।

विश्वकप छनोटका दुई खेल बाँकी रहेको अवस्थामा भोगेको पराजयका कारण दक्षिण कोरियाली फुटबल संघ (केएफए) को प्राविधिक कमिटी अध्यक्ष ली योङ सुले पनि राजीनामा दिएका छन्।

'विश्वकप छनोट चरणको अन्तिम अवस्थामा आइपुग्दा अपेक्षाअनुसारको नतिजा हासिल गर्न नसकेका कारण केएफए र प्रशिक्षक स्टिलाइक सम्झौता तोड्ने सहमतिमा पुगेका छौं,' सोलमा सम्पन्न केएफएको बैठकपछि लीले भने, 'हामीले स्टिलाइकलाई भेटेर पहिल्यै सोधेका थियौं। उनले प्राविधिक कमिटीबाट जस्तो निर्णय भए पनि आफूलाई स्वीकार्य हुने बताएका थिए।

अर्को वर्षको विश्वकपका लागि विदेशी प्रशिक्षक आएर टिमसँग तालमेल मिलाउन समय अत्यन्तै कम हुने भएकाले स्टिलाइकलाई दक्षिण कोरियाली प्रशिक्षकले नै स्थानान्तरण गर्ने सम्भावना रहेको लीले बताए। 'विदेशी प्रशिक्षकले टिम सम्हाल्न, सबै खेलाडीको स्वभाव थाहा पाउनका लागि समय अत्यन्तै कम छ। त्यसैले हामी दक्षिण कोरियाली प्रशिक्षक नै छान्ने योजनामा छौं,' लीले पत्रकारसँग भने, 'नयाँ प्रशिक्षकको सबभन्दा महत्वपूर्ण चुनौती भनेको खेलाडीको मनोबल उकास्दै नयाँ टोलीको निर्माण गर्नु हुनेछ। रूस विश्वकपका लागि अब हामीसँग एक वर्ष मात्र बाँकी छ। तर नयाँ टिम बनाउन यो पर्याप्त समय हो।'

ब्राजिल विश्वकपबाट एउटै खेल नजिती फर्किएको दक्षिण कोरियाली टोलीको नेतृत्व ६२ वर्षे स्टिलाइकले २०१४ सेप्टेम्बरमा सम्हालेका थिए। नेतृत्व लिएको केही महिनामै उनले दक्षिण कोरियालाई एउटै गोल नखाई एसियन कपको फाइनलसम्म पुर्‍याएका थिए। सिड्नीमा सम्पन्न फाइनलमा दक्षिण कोरिया आयोजक अस्ट्रेलियासँग २–१ को नतिजामा पराजित भएको थियो।

तर विश्वकप छनोटअन्तर्गत एसियाली प्रतियोगिताको अन्तिम चरणमा दक्षिण कोरिया बिस्तारै समस्यामा पर्दै गयो। खास गरी मार्चमा चीनसँग १–० को नतिजामा पराजित हुनु दक्षिण कोरियाको ठूलो निराशा थियो। चीनविरुद्ध खेलिएका ३२ अन्तर्राष्ट्रिय खेलमा टोलीको त्यो दोस्रो हार थियो। त्यसमा मंगलबार कतारसँगको हार थपिएपछि समूह 'ए' बाट शीर्ष दुईभित्र परेर सोझै छनोट हुने दक्षिण कोरियाको लक्ष्य संकटमा परेको थियो। घरेलु मैदानमा विश्वकप २००२ आयोजना गर्दा सेमिफाइनलसम्म पुगेको दक्षिण कोरिया लगातार नवौं पटक विश्वकपमा छनोट हुने लक्ष्यमा छ। समूहका दुई खेल मात्र बाँकी रहेको अवस्थामा दक्षिण कोरिया यसअघि नै छनोट भइसकेको इरानभन्दा ७ अंकले पछि रहँदै दोस्रो स्थानमा कायम छ। तर टोली तेस्रो स्थानको उज्वेकिस्तानभन्दा एक अंकले मात्र माथि छ। जहाँ टोलीले आगामी खेलमा इरान तथा अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नुपर्नेछ।

दुई समूहमा विभाजित गरेर गराइएको एसियाको अन्तिम चरणको छनोट प्रतियोगिताबाट दुवै समूहका शीर्ष दुई टोलीले सोझै रूसको टिकट काट्नेछन्। तेस्रो स्थान हासिल गर्ने टोलीले भने प्लेअफ खेल्नुपर्नेछ।

दक्षिण कोरियाली सञ्चार माध्यमहरूले स्टिलाइकको ठाउँमा विश्वकप २०१० मा टोलीलाई अन्तिम १६ सम्म पुर्‍याएका हु जुङ मो वा यु–२० टोलीका प्रशिक्षक सिन ताई योङमध्ये एकलाई नियुक्त गरिने सम्भावना रहेको जनाएका छन्।

प्रकाशित: २ असार २०७४ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App