coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस उम्मेदवार छनोटमा 'भद्रगोल', खुमवहादुर 'हाबी'

दाङ- नेपाली कांग्रेस केन्द्रीय समितिले बुधबार बेलुका दाङ जिल्ला कार्यसमितिलाई पत्र लेख्दै यहाँका उम्मेदवारको सूची पठायो। दुई उपमहानगरपालिका, एक नगरपालिका र सातमध्ये विवादित चार गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारको आधिकारिक नामावली पठाइएको थियो।

उक्त पत्रमा जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाको अध्यक्षका उम्मेदवार तोकिएका थिए— भेषराज खत्री। पत्रमा उल्लिखित नामका आधारमा खत्रीले गाउँपालिकाको अध्यक्षका उम्मेदवारका रूपमा धेरै बधाई खाए। प्रचार प्रसारलाई तीव्र पारे। तर भोलीपल्टै परिस्थिति उल्टियो। बिहिबार कांग्रेसले सो गाउँपालिकाका उम्मेदवारको अर्को नामावली पठायो। बिहिबारको पत्रमा उक्त गाउँपालिकाको अध्यक्षमा खत्रीको नाम हटेर भोजराज पाण्डेको नाम उल्लेख थियो। खत्रीले आफूमाथि पार्टीबाट ठूलो 'अन्याय' भएको भन्दै बिहिबारै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन्। आफ्नो नाम हटाएर उल्टाइएको निर्णयलाई कारण देखाउँदै विज्ञप्ती जारी गरेका खत्रीले भनेका छन् 'पार्टी संगठनका लागि लामो समयदेखि सक्रिय रहेपनि अब भने पार्टीमा बस्न उचित देखेन।' उनले टिकट वितरणमा 'खेलाँची' गरेर आफूलाई अवहेलना गरिएको भन्दै पार्टीमा बसिरहन उचित नभएको बताएका छन्। 

यस्तै कांग्रेसले राप्ती गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रकाश चौधरीको नाम सार्वजनिक गर्‍यो। चौधरीले पनि आफ्नो उम्मेदवारी पक्कापक्की भइसकेको भन्दै चुनाव जित्ने रणनीति बनाउन थाले। तर त्यसको केहिबेरमै सो निर्णय पनि उल्टियो। गाउँपालिकाको अध्यक्षमा चौधरीको नाम हटाएर कांग्रेसले नुमानन्द सुवेदीको नाम उल्लेख गर्यो। सुवेदी आउनु भन्दा अघि प्रकाशको नाम उम्मेदवारका रूपमा सञ्चार माध्यमबाट सार्वजनिक समेत भैसकेको थियो।

यी दुई गाउँपालिका मात्रै होईनन्। जिल्लाबाट केन्द्रमा सिफारिस सम्भावित उम्मेदवारको सूचीबाट झण्डै एक महिनापछि उम्मेदवार टुंग्याएको कांग्रेसको टिकट वितरण पक्रिया 'भद्रगोल' देखिएको छ। उम्मेदवार निश्चित भएको भन्दै व्यापक प्रचार गरिएका कांग्रेस कार्यकर्ता पनि अन्ततः उम्मेदवार बन्नबाट चुकेका छन्।

झण्डै साता दिन अघि घोराही उपमहानगरपालिकाको मेयर पदका उम्मेदवारका रुपमा कमलकिशोर घिमिरेको नाम टुंग्याएको भन्दै व्यापक प्रचार भयो। विभिन्न अनलाइनपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचारसँगै उनलाई बधाईको ओइरो लाग्यो। त्यसो त, पार्टी सभापति देउवा निकटस्थ उनको नाममा पार्टीले निर्णय समेत गरिसकेको थियो। तर दाङका उम्मेदवार चयनको मुख्य जिम्मेवारी पाएका नेता खुमवहादुर खड्काले उक्त निर्णयमा हस्ताक्षर गर्न मानेनन्। 'त्यो निर्णय भैसकेपछि खड्का बैठकमै जानु भएन,' एक नेताले भने 'उहाँको सहभागिता नभएकै कारण उक्त निर्णयले अन्तिम रूप पाउन सकेन।' अन्ततः मेयर पदको उम्मेदवारका रूपमा प्रचार भएका घिमिरे त्यो दौडबाटै बाहिरिए।

घोराही उपमहानगरपालिकामा खड्काले आफू पक्षीय भुपबहादुर डाँगीलाई मेयरको उम्मेदवार तोकी छोडे। डाँगी कांग्रेस क्षेत्र नम्बर ३ का सभापति हुन्। 'मेरो पक्षमा निर्णय भैसकेको भएपनि मलाई रोकियो,'घिमिरेले भने 'यहाँ सम्मकी म मेयरको उम्मेदवार भनेर प्रचारबाजी समेत भैसकेको थियो।'

घिमिरेसँगै उपमेयरमा पार्टी जिल्ला कोषाध्यक्ष सावित्रा राना उम्मेदवारका रूपमा सार्वजनिक भइन्। कमल मेयरको उम्मेदवारका रूपमा निर्णय हुँदा सावित्रा उपमेयरमा निर्णय भैसकेकी थिईन्। मंगलवारसम्म उपमेयरकै उम्मेदवार बनिसकेको भन्दै बधाई पाएकी सावित्राको पनि अन्ततः वुधबारदेखि चुनावी प्रतिस्पर्धाको रेस टुंगियो। कांग्रेसले बुधबार उनको नाम हटाएर पुष्पा श्रेष्ठलाई उपमेयरको आधिकारिक उम्मेदवार तोकेको छ। श्रेष्ठ नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य हुन्।

उम्मेदवार तोकेरै लिखित रूपमा पठाइसकेको व्यक्तिलाई रातारात हटाइनुले कार्यकर्तामा स्वाभाविकै रूपमा निराशा उत्पन्न हुने विश्लेषक विनोद पोख्रेलले टिप्पणी गरे। 'आज एउटाको नाम पठाउने अनि भोली अर्कोको। यस्तो परिपाटीले कार्यकर्तामा राम्रो सञ्चार गर्दैन,' उनले भने, 'टिकट वितरणमा भद्रगोल भएको हो, तर भद्रगोल कसरी र के कारणले भएको भन्ने बिषयमा भने म आफै  पनि अनभिज्ञनै छु।'

खुमवहादुर 'हाबी'

दाङका उम्मेदवार चयनमा नेता खुमवहादुर खड्का हावी भएका छन्। पार्टीको केन्द्रीय समितिले दाङका उम्मेदवार चयनमा खड्कालाई बढी जिम्मेवारी दिएको थियो। फलस्वरूप खड्का यहाँका दुई उपमहानगर र एक नगरपालिकाका प्रमुखमा आफू निकटकालाई उम्मेदवारको टिकट दिन सफल भएका छन्। घोराही उपमहानगरपालिकामा खड्का निकटस्थ भुपवहादुर डाँगीले मेयरको टिकट पाएका छन् भने तुलसीपुर उपमहानगरपालिकामा पनि उनी निकटका गेहेन्द्र गिरी मेयरको उम्मेदवार बनेका छन्। यसैगरी लमही नगरपालिकामा पनि खड्का निकटका जोगराज चौधरी मेयरको उम्मेदवार टुंगिएका छन्।

प्रकाशित: २ असार २०७४ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App