coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर ७ : उम्मेदवारको टुंगोपछि सबैमा उत्साह

धनगढी- प्रदेश नम्बर ७ मा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका राजनीतिक दलले उम्मेदवार टुंगो लगाएर प्रचारप्रसार तीव्र पारेका छन। चुनावी गतिविधि बढेसँगै  यहाँ चुनावी सारगर्मी बढेको छ। उम्मेदवार र मतदाता सबैमा उत्साह देखिएको छ। थारू समुदाय पनि चुनावले उत्साहित भएका छन्।

चुनावी गतिविधि तीव्र पार्न केन्द्रीय स्तरका नेताहरू गाउँ गाउँका कार्यक्रममा सहभागी भइरहेका छन्। 'चुनावको माहोल तातेको छ, प्रचार प्रसार गर्न हुलका हुल मान्छे आइरहेका छन्,' धनगढी उपमहानगरपालिका उर्माका मिना चौधरीले भनिन्, 'आफूले चाहेको मान्छेलाई मत हालेर चुन्न पाउने भएकाले हामी उत्साहित भएका छौं।' विभिन्न वस्तीमा राजनीतिक दलका झण्डा फरफराएका देखिन्छन्। राजनीतिक दलका झण्डा र चुनाव चिन्ह भएका टिर्सट लगाएका प्रचारप्रसार गर्ने कार्यकर्ताको आहोरदोहोर वस्तीमा बाक्लो भएको छ।

कैलालीमा मात्र बिभिन्न दलको गरेर करिव १ लाख कायर्कर्ताले चुनाव अंकित चिह्न भएको टिसर्ट लगाएको एक उच्च सुरक्षाअधिकारीले बताए। बिभिन्न वडा र गाउँमा भेला, सभा भइरहेका छन्। नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई याहाँका चुनावी कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ भएको छ।

प्रदेश ७ का इन्चार्ज रहेका भीम रावलले ८८ प्रदेश नम्बर ७ को ८८ वटै निकायमा उम्मेदवार घोषणा गरेर प्रचारप्रसार र चुनावी गतिविधि तीव्र रूपमा भइरहेको बताएका छन्। चुनावप्रति जनतामा व्यापक उत्साह रहेको उनको भनाइ छ। यसैगरी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ७ का इन्चार्ज लेखराज भट्टले प्रदेश नम्बर ७ को सवै निकायमा पार्टीले उम्मेदवार टुंगो लगाएको बताए। 'सबै उम्मेदवार र कार्यकर्ताले प्रचारप्रचार तीव्र बनाएका छन्,' उनले भने, 'चुनावप्रति सबैतिर राम्रो उत्साह देखिएको छ।' माहोल राम्रो देखिएको उनको भनाइ छ।

यसैगरी उम्मेदवारी छनौटमा ढिलाइ गरेको नेपाली कांग्रेसले पनि उम्मेदवारको टुंगो लगाएर प्रचार प्रसार तीव्र बनाएको छ। नेपाली कांग्रेसका केन्दी्रय सदस्य वीर बहादुर वलायरले ८८ वटै निकायमा उम्मेदवार टुंगो लगाइसकेको बताए। केही ठाउँमा भएको असन्तुष्टि पनि मिलाइसकिएको उनको भनाइ छ।

यसैगरी कैलाली कञ्चनपुर थरूहट हुनुपर्ने मागसहित बिगतमा संविधानलाई समेत नमानेर यस क्षेत्रमा आन्दोलनको नेतृत्व गरेका थारू समुदायका अधिकाशं नेता र कार्यकर्ता पनि चुनावमा सक्रिय रूपमा लागेका छन्। नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष भानुराम चौधरीले चुनावी गतिविधि तीव्र पारेको बताएका छन्। कैलालीका १३ वटै निकायमा उम्मेदवार घोषणा गरिएको उनले बताए। यसैगरी प्रदेश नम्वर ७ मा कैलाली बाहेक कञ्चनपुर, दार्चुला, डडेल्धुरा र बैतडीमा पार्टीले उम्मेदवार घोषणा गरेको उनले बताए।

'थारू समुदायमा चुनावले अत्यन्त उत्साह ल्याएको छ,' उनले भने। भानुराम चौधरीको नेतृत्व गरेको थरुहट तराई पार्टी नेपाल र बिजय गच्छेदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी एकिकरण भएर नेपाल लोकतान्त्रिक फोरम बनाइएको हो। कैलालीका केही निकायमा यो पार्टीको प्रभाव राम्रो रहेको छ। कैलालीमा उपेन्द्र यादवको समाजवादी फोरम र नयाँशक्ति पार्टीले सहकार्य गरेर उम्मेदवार घोषणा गरेका छन्। 'चुनावमा उम्मेदवार र मतदाता सबै सक्रिय भएकाले गाउँ चुनावमय भएका छन्,' कैलाली गाउँपालिका–५ मा नयाँशक्ति पार्टीबाट वडा अध्यक्षको उम्मेदवार रहेकी बसन्ती चौधरीले भनिन्, 'बिउ राख्ने, रोपाई गर्ने कामको चटारोकाबीच पनि मतदाता उत्साहित छन्।'

थारु समुदायमा पडक रहेका ठाउँमा ठूला राजनीतिक दलले पनि चौधरी समुदायबाटै उम्मेदवार बनाएका छन्। कैलालीका १३ निकायमध्ये नेपाली कांग्रेस र एमालेले ५, ५ निकाय प्रमुखमा थारू समुदायबाट उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले धनगढी उपमहानगरपालिका सहित ६ निकायको प्रमुखमा थारु समुदायवाट उम्मेदवार बनाएको छ।

'थारू समुदायका पनि उल्लेख्य संख्यामा उम्मेदवार भएकाले थारु समुदायका उम्मेदवार र मतदातामा उत्साह देखिएको छ,' पवेराका बिजय चौधरीले भने।

यसैगरी बैतडी पाटनका धर्मसिंह बिष्टले स्थानीय निकायको निर्वाचन नजकिदै जाँदा चुनावी सारगर्मी बढ्दै गएको बताएका छन। 'उम्मेदवार, मतदाता सवैमा उत्साह छ'उनले भने। 'चुनावी प्रचार प्रसारका लागी गरिने सभामा काम छोडेर पनि मतदाता आइरहेका छन्,' डडेलधुरा परशुराम नगरपालिकाका लक्ष्मण सिंहले भने। सिंहदरबारको अधिकार आफ्नै गाउँमा ल्याउने अधिकार सम्पन्न स्थानीय निकायको निर्वाचनले गाउँ ठाउँमा विकास हुने आशाले पनि स्थानीय बढी उत्साहित भएको देखिन्छ।

सुदुरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त प्रदेश नम्वर ७ मा थारू समुदायलगायत सबै चुनावले धेरै उत्साहित भएको बताउँछन्। 'एउटा पिंढीले स्थानीय निकायको चुनाव नै देख्न पाएको थिएन, धेरै बर्षपछि भइरहेको यो चुनावले ठूलो उत्साह ल्याएको छ।'

सडक, खानेपानी, सिचाई, ढल निकास, नदी कटान, रोजगारीलगायत जीवनस्तरसँग गाँसिएका विकासको अपेक्षा मतदाताले राखेका छन् भने सबै दलका उम्मेदवारले यीनै एजेण्डा मतदाता समक्ष लगिरहेका छन्।

प्रकाशित: २ असार २०७४ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App