coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सोलुमा चुनाव खर्च ३ करोड रुपैयाँ

सोलुखुम्बु- सोलुखुम्बु स्थानीय तहको निर्बाचनका लागि निर्वाचन आयोगले झन्डै ३ करोड रुपैयाँ उपलब्ध गराएको छ। आयोगले असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड ८९ लाख ३७ हजार रुपैयाँ उपलब्ध गराएको छ। निर्वाचनको तयारी र खर्च स्वरूप यो रकम प्राप्त भएको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको  छ।

मुख्य निर्वाचन अधिकृतको कार्यलयमा एक करोड ८५ लाख ३१ हजार र जिल्ला निर्वाचन कार्यलयमा एक करोढ ४ लाख ५ हजार रुपैयाँ बजेट रहेको जनाइएको छ। निर्वाचन कार्यलयको उक्त बजेट, मतदाता शिक्षा, निर्वाचन शिक्षा, तालिम, कर्मचारी तलब भत्तालगायत शिर्षकमा खर्च हुने लेखापाल बुद्धि प्रधानले जानकारी दिए।

यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यलयमा रहेको एक करोड ८५ लाख रुपैयाँ बजेट निर्वाचनमा खटिने मतदान अधिकृतसहित सबै कर्मचारीको तलब–भत्ता, मतपेटिका ढुवानीलगायतका लागि भ्रमण खर्चमा एक करोड ५६ लाख १९ हजार रुपैयाँ रकम रहेको छ। यस्तै बिबिध खर्चमा ११ लाख, ५२ हजारलगायत निर्वाचन अवधीभरका लागि गरिने खर्चका बारेमा बजेट रहेको लेखापाल यज्ञ राईले जानकारी दिए।

निर्वाचनमा १२० कर्मचारी खटिने

जिल्ला निर्वाचन कार्यलयले सोलुखुम्बुमा स्थानीय तहको निर्वाचनका लागि खटाएको कर्मचारीको नामावली सार्वजनिक गरेको छ। एक सय २० मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीको नाम समेत कार्यलयले सार्वजनिक गरेको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनशक्तिको बिभाजन सहित नामावली समेत टुंग्याएपछि उक्त नामावली जिल्ला निर्वाचन कार्यलयलाई उपलब्ध गराएको थियो। कुल ६ सय ६६ जना कर्मचारीको नाम सार्वजनिक गरिएको हो।

सोलुखुम्बुका मतदान स्थलमा खटिने कुल जनशक्ति मध्य २ सय ३८ कर्मचारी छन् भने २ सय ४२ जना शिक्षक रहेका छन्। त्यस बाहेक १ सय ८६ सहयोगी कर्मचारीमा बिभिन्न कार्यलय तथा विद्यालयका कार्यलय सहयोगी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।

५ सय भन्दा कम मतदाता रहेको मतदान केन्द्रमा ५ जना र सो भन्दा बढि मतदाता रहेको मतदान केन्द्रमा ६ जना कर्मचारी खटाइएको छ। कर्मचारीले आफू खटिएको मतदान स्थल थाहा पाउन नामावली बिवरण निर्बाचन कार्यलय, गाविस सचिव हकहित  संरक्षण केन्द्र तिनकुने मा टाँसिएको निर्वाचन कार्यलयकी प्रमुख खिमादेबी लङवाले जानकारी दिईन्। यससँगै निर्वाचन कार्यलयले मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई आगामी असार ३ गतेबाट दुई दिने तालिम दिने बताएको छ।

प्रकाशित: २ असार २०७४ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App