५ वैशाख २०८१ बुधबार
राजनीति

निर्वाचनले युवालाई नेतृत्व अवसर

खोटाङ- स्थानीय तहको निर्वाचनका लागि खोटाङको खोटेहाङ गाउँपालिकाको प्रमुखमा २३ वर्षीय शुशिला राईले उम्मेदवारी पाएकी छन्। दिक्तेल बहुमुखी क्याम्पसमा स्नातक तह दोश्रो वर्षमा अध्ययनरत शुशिलाले असार १४ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि संघीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाकातर्फबाट गाउँपालिका प्रमुखमा उम्मेदवारी पाएकी हुन्। खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीमा २०५० सालमा जन्मिएकी उनी गाउँपालिका प्रमुखका लागि कान्छी उम्मेदवारका रूपमा दावी गरिएको छ।

नयाँ शक्ति पार्टीको स्थापनासँगै नयाँ शक्तिको अभियान्ताकारूपमा राजनीतिमा प्रवेश गरेकी शुशिलाले गाउँपालिकाको प्रमुख पदमा महिलाको दर्विलो उपस्थितिका लागि उम्मेदवारी दिएको बताउँछिन्। उनले गाउँपालिकालगायतका अंगमा महिलाको उपस्थिति बढाउँदै महिला सशक्तीकरणका लागि प्रमुखमा उम्मेदवारी दिएको बताइन्। ‘मेरो पहिलो अजेण्डा महिला सशक्तीकरण र व्यवहारिक शिक्षा नै हो, सोही अनसार मैले प्रतिवद्धता–पत्र तयार पारिरहेकी छु,’ शुशिलाले भनिन्, ‘यस बाहेक भौतिक विकास, प्राकृतिक श्रोतसाधनको उपयोगलगायतका विषय प्राथमिकतामा राखेकी छु।’

यस्तै, दिप्रुङ गाउँपालिकाको उपप्रमुखमा २३ वर्षीय सपना राई चुनावी मैदानमा उत्रिएकी छन्। नेपाल विद्यार्थी संघको राजनीति गर्दै आएकी सपनालाई कांग्रेसले गाउँपालिकाको उपप्रमुख पदमा उम्मेदवारका रूपमा पत्याएको हो। कलिलै उमेरमा उपप्रमुखमा लड्ने अवसर पाएकी सपनाले नारीको आवाजलाई उठाउने र सचेत बनाउने अठोट व्यक्त गरिन्। ‘मेरो प्राथमिकता महिलाको जीवनस्तर उकास्नमा केन्द्रित हुने छ,’ उपप्रमुखकी उम्मेदवार सपनाले भनिन्, ‘विदेसिरहेका युवालाई यही ठाउँमा स्वरोजगार बनाउनमा पनि मेरो प्रयास रहने छ।’  दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा २०५० सालमा जन्मिएकी सपना दिक्तेल बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षकी छात्रा हुन्। राप्रपा नेपालले लामीडाँडा गाउँपालिकाको प्रमुखमा २२ वर्षका राज बस्नेतलाई उठाएको छ। यस्तै, रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा नेकपा माओबादी केन्द्रबाट २२ वर्षीय क्रान्ती श्रेष्ठले वडा सदस्यको टिकट पाएकी छन्।

स्थानीय तहको निर्वाचानले उनीजस्ता कैयौं युवालाई स्थानीय तहमा उठ्ने अवसर ल्याएको छ। कांग्रेस, एमाले, राप्रपा नेपाल, संघीय समाजवादी फोरम–नयाँ शक्तिलगायतका पार्टीले कतिपय ठाउँमा युवालाई उम्मेद्वार बनाएका छन्। राजनीति प्रवेश, क्रियासिलता र उमेरमा आफूभन्दा पाको नेतालाई उछिन्दै कतिपय युवाले गाउँपालिकाको प्रमुख/उपप्रमुख र वडाका विभिन्न पदमा उठेका छन्। पाकाले भन्दा युवा उम्मेद्वारले भविष्यमा केही गर्नेमा स्थानीय बढी आशावादी पनि देखिन्छन्।

स्थानीय तहको निर्वाचनले युवाका लागि अवसर ल्याएकामा युवा नेता बढी उत्साहित देखिन्छन्। निर्वाचनले युवालाई अवसर ल्याएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयरकी प्रत्यासी मनिषा राई बताउँछिन्। ‘निर्वाचनमा हार्नु जित्नु एक ठाउँमा छ,’ एमालेकातर्फबाट उपमेयरको टिकट पाएकी मनिषाले भनिन्, ‘तर, स्थानीय तहको निर्वाचनले युवालाई सन्तोजनक अवसर दिएको छ।’

राप्रपा नेपालले हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा युवा विद्यार्थी पेशल बस्नेतलाई उम्मेद्वार बनाएको छ। बराहपोखरी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रको तर्फबाट २६ वर्षीय निसाना राईले उम्मेद्वारी पाएकी छन्।

प्रकाशित: २ असार २०७४ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App