८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारी निर्णय राजपालाई अमान्य

काठमाडौं- दुई नम्बर प्रदेशको चुनाव असोज २ मा गर्ने सरकारी निर्णयलाई राजपाले नै अस्वीकार गरेको छ। राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा मनाउन सरकारले मिति सारेको हो। राजपाले २ नम्बर प्रदेशमा मात्र नभई ५ नम्बर प्रदेशमा  पनि  असोज २ मा चुनाव हुनुपर्ने माग गरेको छ। २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने सरकारको एकतर्फी निर्णयलाई नमान्ने राजपाका नेताहरूले बताएका छन्। 'मधेस, थरुहट तथा लिम्बुवान क्षेत्रमा असोज २ मा चुनाव हुनुपर्छ भन्ने हाम्रो माग हो । २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हामीलाई मान्य छैन,' राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने।

सरकारी निर्णयबारे छलफल गर्न बिहीबार दिउँसो बसेको राजपा अध्यक्ष मण्डलका सदस्यहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ।

बैठकमा काठमाडांैमा उपलब्ध महन्थ ठाकुर, शरत्सिहं भण्डारी, महेन्द्र यादव उपस्थिति थिए।  शुक्रबार बस्ने बैठकले औपचारिक निर्णय गर्ने राजपाका नेताहरूले बताएका छन्। बैठकमा सहभागी हुन राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादवलाई काठमाडांै बोलाइएको छ।

राजपाका नेताहरूले कम्तीमा २ र ५ नम्बर प्रदेशमा असोज २ मा चुनाव हुनुपर्ने माग राखेका छन्। संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि, आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र मृतकका परिवारलाई क्षतिपूर्ति नदिएसम्म चुनावमा भाग नलिने राजपका नेताहरूले बताएका छन्।

राजपाका नेता केशव झाले शुक्रबार बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने बताए।

स्रोतका अनुसार बिहीबार बिहान बसेको सरकार र राजपाको बैठकमा सरकारका तर्फबाट राजपा नेतालाई असोज २ को चुनावमा भाग लिन लिखित सहमति गर्न आग्रह गरेका थिए। तर राजपा नेता महन्थ ठाकुर र शरत्सिंह भण्डारीले लिखित सहमति गर्न अस्वीकार गरेका थिए।

असोज २ मा चुनाव सार्ने निर्णयलाई भने उनीहरूले सहमति दिएको स्रोतको भनाइ छ। स्रोतका अनुसार पाँच नम्बर प्रदेशमा पनि असोज २ मै चुनाव हुनुपर्ने माग ठाकुर र भण्डारीको थियो। तर कांग्रेस र माओावदी केन्द्रका नेताहरूले २ नम्बर प्रदेशमा मात्र चुनावको मिति सार्न सकिने अडान राखेका थिए।

'असार १४ को चुनावमा भाग लिँदैनौं'

राजपा नेताहरूले असार १४ को चुनावमा पनि भाग नलिने प्रस्ट पारेका छन्। यस्तै उक्त पार्टीले यसअघि घोषित आन्दोलनका कार्यक्रम यथावत् रहने निर्णय गरेको छ। राजपाका अध्यक्ष मण्डलका सदस्य महतोले यसअघि घोषित आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताए। उनले आन्दोलन झनै सक्त हुने जनाएका छन्।

काठमाडांैबाहिर रहेका राजपाका नेताहरूले सरकारी निर्णयको कडा प्रतिक्रिया दिएका छन्। 

उपेन्द्र यादवको पनि असहमति

दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णयको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि विरोध गरेका छन्।

यादवले मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्रले मिलेर षड्यन्त्र बनाएको र राष्ट्रिय जनता पार्टीको दिशाहीनताले त्यो योजना सफल भएको टिप्पणी गरेका छन्। यादवका प्रेस सल्लाहकार महेश चौरासियाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, 'तीन चरणमा चुनाव गर्ने सरकारी निर्णय मधेसका लागि घातक छ।' आठ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णयले सिंगो मधेसको अस्तित्वमाथि ठाडो प्रहार भएको टिप्पणी उनले गरेका छन्। 'मेचीदेखि महाकालीसम्म बीस जिल्ल्ााको तराईमधेसलाई आठ जिल्लामा सीमित पार्ने षड्यन्त्र भएको छ। आठ जिल्लाको भूभागमात्रै मधेस हो भनेर मान्यता स्थापित गर्न खोजिएको छ,' यादवले भनेका छन्।

प्रकाशित: २ असार २०७४ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App