coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इतिहास बचाउने र बनाउने प्रतिस्पर्धा

नेकपा एमालेले अठराईको चुनावडाँडामा आयोजना गरेको चुनावी सभा । तस्बिर : गिरिराज बाँस्कोटा

आठराई – निक्कै लामो राजनीतिक इतिहास बोकेको तेह्रथुमको अठराई क्षेत्रमा स्थानीय तहको निर्वाचनको माहोल निक्कै तातेको छ । बादलले ढाकेर बाह्रै महिना चिसो हुने आठराई गाँउपालिकाको केन्द्र सक्रान्ति बजारमा चुनावको गर्मागर्मी छ । चोक–चोकमा चुनावी चर्चा छ । बजारमा आस्था अनुरुपका झण्डा राखिएको छ । चुनावी प्रचारमा उम्मेद्वार सहित नेताहरु निक्कै मेहनतका साथ खटेका देखिन्छन् । सुरक्षा उपस्थिति व्यपाक बनाइएको छ । गाडीका गाडी नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी भित्रिदै छन् । गाउँभन्दा बाहिर रहेका नेताहरु गाउँमा सक्रियता देखाउँदैछन् ।

सभा, भेटघाट, घरदैलो जस्तो कार्यक्रम भइरहेका छन् । यहाँका शिक्षक, कर्मचारी, व्यापारी तथा आम सर्वसाधारण चुनावी चर्चा परिचर्चामा व्यस्थ छन् । चिया पसल देखि ट्याक्सी काउन्टरसम्म चुनावी चर्चा छ। चुनावीगर्मी सक्रान्तिमामात्र हैन तेह्रथुमको आठराई गाँउपालिकामा छ । यहाँका साविक सात गाविस मिलाएर आठराई गाँउपालिका बनाइएको छ । आठराई क्षेत्रको राजनीतिक इतिहास निक्कै पुरानो छ । परिवर्तनका लागि अग्रणी मानिएको आठराईका वासिन्दा चुनावमा होमिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओली,  कांग्रेस नेता कृष्ण सिटौला लगायतका दर्जनौ नेताहरुको जन्मथलो अठराईमा यतिबेला जित कस्को हातमा पर्ला भन्ने अड्कलबाजी हुँदै छ । असारले छपक्क छोपेको छ । धान रोप्ने समय सुरु भएको छ । अन्य कामहरुपनि धमाधम छन् । तर चुनावी चर्चाले धेरै ठाँउ ओगटेको पाइन्छ । 

२०५४ सालको स्थानीय निर्वाचनमा एमालेले साविक सात गाविस जितेको थियो । एमाले यतिवेला यही जित कायम गर्ने योजनामा छ । नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । यतिवेला अठराईमा काग्रेस र माओवादी जितको इतिहास बनाउने धाउन्नमा छ । इतिहास कायम राख्ने र इतिहास बनाउने प्रतिस्पर्धा निक्कै रोचक देखिन्छ । विभिन्न वार्डमा एमालेसँग प्रतिस्र्धा गर्नका लागि कांग्रेस, माओवादी, लिम्बुवान लगायतका दलहरुले चुनावी तालमेल गरेका छन् । चुवान डाँडा र थोक्लुङमा तीन पार्टी मिलेका छन् । एमालेले भने आफ्नो दरिलो उपस्थति कायम राख्ने प्रयास गरिरहेको देखिन्छ ।

साविसकका सक्रान्ति, चुवानडाँडा, इवा, थोक्लुङ, खाम्लालुङ, छातेढुङ र वाकु गाविसमा चुनाव आफ्नो पक्षमा पर्ने प्रयास भइरहेको पाइन्छ । काँग्रेस र माओवादीले प्रमुख पदमा नारायण इङ्नाम र उपप्रमुखमा रमिला खनाललाई उम्मेद्वार बनाएको छ ।  प्रमुख कांग्रेस  र उपप्रमुखमा माओवादिका भागमा परेको छ । एमालेले प्रमुखमा विष्णुविक्रम सुब्बा र उपप्रमुखमा रुपा कन्दङवालाई उम्मेद्वार बनाएको छ । इङ्नाम कांग्रेसका पूर्व जिल्ला सदस्य हुन भने सुब्बा एमालेका पूर्व जिल्ला सचिव हुन । यस्तै लिम्बुवान मञ्चले प्रमुखमा मृगेन्द्र इङ्नाम र उप्रमुखमा चुङवामा कन्दङवालाई उम्मेद्वार बनाएको छ । राप्रपाले पनि विभिन्न ठाँउमा उम्मेद्वारी दिने तयारी गरेको छ ।

स्थानीय विभिन्न समय सुल्झाउदै विकास निर्माणका काम गर्ने एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएको कांग्रेसका उम्मेद्वार इङ्नामले बताए । यो पल्ट जीत हासिल गर्ने गरी तयारी गरिएको उनको भनाई छ । चुनाव प्रचारका लागि कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सिता गुरुङ गाउँमा छिन् । कांग्रेसले वडा चुनावी अभियान चलाएको छ । प्रचारमा कांग्रेस अलि पछि देखिन्छ । एमालेले चुनावी सभा र घरदैलोलाई सँगसँगै अघि बढाएको छ । बढी जनसहभागिता हुने ठाँउमा सभाको आयोजना एमालेले गर्दै छ । भष्ट्रचार, अनियमितता न्यूनिकरण गर्दै आठराई क्षेत्रको विकासका एजेण्डा लिएर अघि बढेको एमालेका उम्मेद्वार सुब्बाले बताए । इतिहासलाई जोगाउने दाबी सुब्बाले गरे । 

एजेण्डा बुझाउने, साँस्कृति कार्यक्रम गर्ने, सभा कामहरु भइरहेका छन् । बुधवार  चुहाडाँडामा एकापट्टी एमालेले चुनावी सभा गरेको थियो भने अर्को तिर काग्रेस, माओवादी र लिम्बुवानको कार्यक्रम थियो । चुनाव प्रचार सौभाद्रपूर्ण वातवारणमा भइरहेको स्थानीय पत्रकार अमृत बास्तोला बताउँछन् । आठराईमा सात वाटा वडा छन् । यहाँ १२ हजार ५ सय ६७ जना मतदाता रहेको निर्वाचन अधिकृत पदमराज पाण्डेले जानकारी दिए । उनका अनुसार यहाँ १४ मतदान स्थल र १६ मतदान केन्द्र रहेका छन् ।

प्रकाशित: १ असार २०७४ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App