coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फूलबारी रिसोर्ट चार महिनादेखि ठप्प

पोखरा- मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट झन्डै चार महिनादेखि ठप्प छ। व्यवस्थापन र आन्दोलनरत मजदुर समस्या सल्टाउनका लागि टसमस नहुँदा महिनौंदेखि बन्द रहेको पाँचतारे रिसोर्ट खुल्न नसकेको हो।

पोखराको पहिचानको रुपमा रहेको रिसोर्ट महिनौंदेखि बन्द हुँदा त्यसले यहाँको पर्यटन क्षेत्रमा समेत असर पार्ने व्यवसायीको चिन्ता छ। पर्यटकीय सिजनको मुखैमा फागुन मध्यदेखि रिसोर्ट बन्द भएको थियो। मजदुरका माग पूरा गर्ने सम्बन्धमा आन्दोलनरत पक्ष र व्यवस्थापनबीच बारम्बार वार्ता भएपनि सहमति जुट्न नसक्दा रिसोर्ट खुलाउन नसकेको मजदुरको भनाइ छ।

अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघ फूलबारी एकाइ उपाध्यक्ष नवराज गिरी झन्डै चार महिनादेखि रिसोर्ट बन्द हुँदा त्यसले मजदुर मारमा परेको बताउँछन्। 'व्यवस्थापन मजदुरका माग पूरा गर्छु मात्र भन्छ, तर चासो दिँदैन,' उनले भने, 'हामीले आन्दोलन थाल्दा पूरा गर्नै नसकिने खालमा माग थिएनन्, कमजोरी सुधारका अवसर थिए। तर, व्यवस्थापनले सामान्य मागलाई ठूलो 'इस्यु' बनायो।'

गिरीका अनुसार मजदुरले अहिलेसम्म ३० महिनाको सञ्चय कोष रकम पाएका छैनन्। कर्मचारीको मासिक पारिश्रमिकबाट १० प्रतिशत कटौती गरेर त्यत्ति नै रकम थपेर सञ्चय कोषमा जम्मा गनुपर्नेमा आफूहरुको पारिश्रमिकबाट काटिएको तर संकलन नभएको उनले बताए। त्यस्तै व्यवस्थापनले २२ महिनाको सेवा शुल्क दिएको छैन। पाहुनाबाट संकलित १० प्रतिशत सेवा शुल्क ६ महिनापछि दिँदै आए पनि रकम नपाएको एक वर्ष पुगिसकेको छ। त्यस्तै मासिक पारिश्रमिक पनि झन्डै ६ महिनादेखि पाएका छैनन्।

'हामीले माग राखेको चार महिना भइसक्यो, तर, केही सुनुवाइ भएको छैन,' उनले भने, 'एक साताअघि व्यवस्थापनका उच्च कर्मचारी आउँदा उनीहरुसँग छलफल भयो। माग सम्बोधन गर्ने आँट उनीहरुसँग थिएन। व्यवस्थापनले मजदुरका माग पूरा गर्ने अधिकार समेत उच्च तहका कर्मचारीलाई दिए। त्यसले गर्दा सहमति जुट्न सकेन।' गिरीका अनुसार रिसोर्ट बन्द भए पनि सबैजना कर्मचारी दिनहुँ कार्यालय आएर हाजिर गरेर फर्किन्छन्। रिसोर्टका मजदुरले बचत कोषको रकमले तीन महिनासम्म रिसोर्टमै खाना खाए पनि रकम सकिएपछि घरमै खान थालेका छन्। 'हामीसँग बचत कोषमा ३० लाख रुपैयाँ जति थियो। त्यसले केही समय रिसोर्टमै सामान किनेर खायौं तर रकम सकिएपछि घरमै खाएर आउँछौं,' गिरीले भने। उनका अनुसार अहिले २४ सै घन्टा सुरक्षाकर्मी बाहेक कर्मचारी काममा छैनन्। कार्यरत सबै कर्मचारी बिहान ९ बजे आउने र हाजिर गरेर बेलुकी ५ बजे घर फर्किने गरेका छन्। रिसोर्टमा सबैजना गरी एक सय ४० जना कर्मचारी छन्।

मजदुरका माग देखाएर रिसोर्ट बन्द गर्ने निहुँ बनाइएको उनले बताए। पैसा छैन भन्दै व्यवस्थापनले आफूहरुको मासिक पारिश्रमिक समेत नदिएको गिरीले बताए। 'चार महिना भयो पाहुना राखेका छैनौं। चार महिनादेखि सञ्चालकको नजर नै रिसोर्टमा परेको छैन,' गिरीले भने, 'यति ठूलो सम्पत्तिमा मजदुर देखाएर बेवास्ता गरेका छन्।'

पर्यटनको गहना भनिए पनि वर्षाैंदेखि पूर्वाधार मर्मतसम्भार नहुँदा रिसोर्ट कमजोर बन्दै गएको उनले बताए। 'बाहिरबाट हेर्दा निकै राम्रो देखिन्छ तर अहिले सबैतिर बिग्रिसकेको छ,' गिरीले भने, 'रुमसमेत सरसफाइ गरिएको छैन।' तत्काल खुले पनि रिसोर्ट चलाउन निकै मुस्किल रहेको उनले बताए। 'पोखराका अन्य रिसोर्ट चलेका छन्। अरु होटलले करोडौं रुपैयाँ कमाएका छन्। फूलबारीले पनि कमाउन नसक्ने होइन,' गिरीले भने, 'तर व्यवस्थापन चुस्त हुनै सकेन।' एक सय ६५ कोठा क्षमताको फूलबारीमा भूकम्पपछि सबैभन्दा राम्रो बुकिङ आएको बेला बन्द भएको थियो। रिसोर्ट बन्द हुँदाताका ४० प्रतिशत अकुपेन्सी थियो। मजदुर आन्दोलन सुरु भएपछि व्यवस्थापनले तत्कालै बुकिङ गरेका पाहुनालाई अन्यत्र पठाएको थियो।

अखिल नेपाल होटल, क्यासिनो, तथा रेस्टुराँ मजदुर संघका केन्द्रीय सल्लाहकार राजेन्द्र न्यौपाने मजदुरका सामान्य मागलाई सम्बोधन गर्न व्यवस्थापन चुक्दा अर्बाैंको सम्पत्ति र रिसोर्टमाथिको विश्वसनीयता जोखिममा परेको बताउँछन्। 'फूलबारी रिसोर्ट कुनै व्यक्तिको सम्पत्ति भए पनि त्यो मुलुककै पर्यटनको गहना हो। तर व्यवस्थापनले त्यसको महŒव बिर्सियो,' न्यौपानेले नागरिकसँग भने, 'यो रिसोर्टको नाफा व्यक्तिले लिए पनि राष्ट्रकै सम्पत्ति जत्तिकै महŒव छ।'

त्यत्ति राम्रो सम्पत्तिमा महिनौंदेखि मजदुरको ताला लाग्नु नेपालको पर्यटन क्षेत्रका लागि नोक्सान भएको उनले बताए। 'हामीले  मध्यस्थता गरेर बारम्बार मजदुरका समस्या सल्टाउने प्रयास गरेका हौं तर व्यवस्थापन टसमस भएन,' न्यौपानेले भने, 'श्रम कार्यालय धायौं; कतैबाट पनि सुल्भि्कएन, बरु झनै बल्भि्कयो।' व्यवस्थापनले मजदुरसँग गरेका सहमतिपत्र धेरै भए पनि कार्यान्वयन नगरेको उनले बताए। 

'अब सरकार वा पर्यटन सम्बद्ध निकायले कदम चाल्नुको विकल्प छैन,' न्यौपाने भन्छन्, 'कम्तीमा पूर्वाधार नोक्सान हुन दिनु भएन। अहिले त्यो पूर्वाधार बनाउन सहज छैन।' बन्द रहेको रिसोर्ट तत्काल खुलिहाले पनि अहिलेको तालाबन्दीको असर महिनौंसम्म पर्ने उनले बताए। 'अब त पाहुना पनि अग्रिम बुकिङ गर्न हिच्किचाउँछन। किनकि बास बस्न आएका पाहुना अन्यत्रै जानुपरेको घटना अझै सेलाएको छैन,' उनले भने।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन ठूलो रिसोर्ट बन्द हुँदा त्यसले पोखराको पर्यटन क्षेत्रमा समेत मार पर्ने बताउँछन्। 'लामो समय बन्द हुँदा त्यसले नकारात्मक असर पार्छ,' तुलाचनले भने, 'दुवै पक्षले गिभ एन्ड टेक गर्नुपर्छ। दुवै पक्ष टसमस नभई हुँदैन। त्यसमा हामीले मध्यस्थता गर्छाैं।' पोखराकै ठूलो रिसोर्ट बन्द भयो भन्ने सन्देश जाँदा अरु होटल र रिसोर्टको अवस्था के होला भन्ने नराम्रो खबर बाहिर जाने चिन्ता रहेको उनले बताए। समस्या सुल्झाउन कार्यरत मजदुरसँग संघले छलफल गरेको उनी बताउँछन्।

सुविधासम्पन्न रिसोर्ट बन्द हुँदा त्यसको मार समग्र पर्यटन क्षेत्रमा पर्ने उनले बताए। 'ठूला आकारका कतिपय कार्यक्रम पोखरा आउन नसक्ने अवस्था रहन्छ,' उनले भने, 'फूलबारी गहना हो, त्यसमा लेप लाग्न भएन। दुवै पक्षको टकरावले समस्या समाधान हुँदैन। अब त होटलको साख पनि गुम्ने डर भइसक्यो। ठूला होटल बन्द भए त्यसले पोखराको आर्थिक गतिविधिमा समेत मार पर्छ।'

रिसोर्टका आवासीय म्यानेजर रामकृष्ण क्षेत्रीले मजदुरका माग सल्टाउनेबारे व्यवस्थापनले गृहकार्य गरिरहेको बताए। 'हामीले सम्बन्धित ठाउँमा मजदुरका समस्याबारे जानकारी दिएका छौं,' उनले भने, 'व्यवस्थापनले केही निर्णय अवश्य गर्नेछ। के–कसरी मजदुरका माग सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको छ।' उनले आगामी अक्टोबरदेखि रिसोर्ट खुलाउने बारे व्यवस्थापनले तयारी थालेको पनि बताए। 'त्यो बेलासम्म मजदुरका माग सम्बोधन हुनेछन्। अक्टोबरदेखि पर्यटकीय सिजन पनि सुरु हुन्छ,' उनले भने, 'बन्द भएपछि खुलाउन निकै गाह्रो भएको हो। अब समस्या सल्टिने आधार देखिएका छन्।'

१९९८ देखि सञ्चालनमा आएको यो रिसोर्टमा करिब तीन अर्ब रुपैयाँ लगानी गरिएको छ। एक सय ६५ कोठा रहेको रिसोर्टमा सबैभन्दा कम एक सय र सर्वाधिक तीन सय अमेरिकी डलर एक रातको शुल्क पर्छ। दुई सय नौ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टसँग एक सय ४० रोपनी क्षेत्रफलको गल्फमैदान छ।

प्रकाशित: १ असार २०७४ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App