८ वैशाख २०८१ शनिबार
अन्य

'मर्नु न बाँच्नु बनाएर छाडे’

भोजपुर- उत्तरी षडानन्द नगरपालिका–८ किमालुङकी कमलादेवी राईले आफ्नी छोरी मनु गुमाएको १४ वर्ष बित्यो। सत्यनिरूपण तथा मेलमिलापको आयोगमा उजुरी दर्ता गर्न सदमुकाम आएकी उनी छोरीको १० लाख 'मोल' तोकिदिएकामा भक्कानिएर रोइन्। छोरी बितेदेखि रसाएका उनका आँखा अहिलेसम्म ओभाएका छैनन्। 
 पति गुमाएको ३ वर्षपछि कमलादेवीले छोरी गुमाएकी हुन्। सशस्त्र द्वन्द्वको समय ०५९ पुस १२ मा तिवारीभञ्ज्याङ गाविसको प्रहरी चौकी आक्रमणमा राज्यपक्षबाट मनुलाई मारिएको भन्ने हल्ला उनले हल्ला सुनेकी मात्र थिइन्। आखिर छोरी कहिल्यै फर्किइनन्। 'मेरी छोरी मार्नेलाई सजाय दिनुपर्छ' भन्दै उनले स्थानीय शान्ति समितिका कर्मचारीलाई उजुरी थमाइन्। छोरीको मृत्युपछि कमलादेवीले सहिद परिजारका लागि दिने भनिएको १० लाखमध्ये ५ लाख रुपैयाँ पोहोर पाइन्। 'बाँकी ५ लाख कहिले पाइने भन्ने थाहा छैन,' उनले भनिन्, 'हामीलाई क्षतिपूर्तिमात्रै दिएर हुँदैन। छोरी मार्नेलाई कारबाही पनि हुनुपर्छ।’
 शान्ति समितिमा उजुरी दिन आएका दक्षिणी मानेभञ्ज्याङ–७ का रामबहादुर खत्रीले गाउँ छोडेको वषर्ौं बित्यो। द्वन्द्वकालमा विद्रोही पक्षको धाकधम्की, चन्दा आतंकले गाउँ बस्न नसकेपछि खत्री परिवार तराईतिर बसाइँ सर्यो्। त्यसबेला खत्री परिवार विस्थापित मात्र भएन। विद्रोही पक्षको चरम यातनाले उनको टाउकामा असर परेको छ। लाखौं रुपैयाँ खर्च गरेर उपचार गरेपनि उनको टाउकामा गम्भीर चोटले सन्तुलन बिग्रिएको छ। उनीसँग औषधि–उपचार र एक्स–रेका कागज पनि साथै छन्। 'अब त उजुरी किन दिइस् भनेर मारे पनि मारुन्। मर्नु न बाँच्नु, अधकल्चो बनाएर छोडेका छन्,' भन्दै उनले शान्ति समितिका कर्मचारीलाई टेबलमा उजुरी राखिदिए। खत्रीले विद्रोही पक्षविरुद्ध नगद रकम, अन्नपात, औषधि–उपचार खर्चवापत २ लाख रुपैयाँ दाबी गर्दै उजुरी दिएको बताए।
 उजुरी दिन आएका ओख्रे गाविस घर भइ हाल टक्सार बस्ने राजन राईको द्वन्द्वकालको पीडा पनि कमलादेवी र रामबहादुरको जस्तै पीडादायी छ। मान्छे बाहिर हृष्टपुष्ट देखिएपनि तत्कालीन विद्रोही पक्षको कुटाइले उनको जीउ थिलथिलो छ। त्यसबेला शिक्षक पेसामा आबद्ध राईलाई २०५८ मंसिर ३ मा विद्रोही पक्षका १७–१८ जनाले अपहरण गरी जंगल लगेर चरम यातना दिएका थिए। 
 'घनघोर जंगलमा दाहिनेपट्टिको हात र देब्रेपट्टिको खुट्टामा हतियार र ढुगांले मरणासन्न हुनेगरी कुटे,’ उनले विगत सुनाए। द्वन्द्वका नाममा पटक–पटक गठन भएका आयोगले घाउमा मलमको साटो नुनचुक छर्ने काममा गरेको उनको भनाइ छ। 'अघिल्लो वर्षका उजुरी पनि कार्यान्वयन नभएकाले यो उजुरी पनि फितलो होला कि भन्ने लागेको छ,’ उनले आशंका दर्शाए। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले संकलन गरिरहेको उजुरीले बिर्संदै गएको घाउ पनि कोट्याइदिएको उनीहरूको भनाइ छ। 
 भोजपुरमा सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका लागि १ सय ७९ उजुरी परेका छन्। शान्ति समिति भोजपुरले संकलन गरिरहेको तथ्यांकमा सत्यनिरूपणका लागि १ सय ६९ उजुरी परेका छन्। बेपत्ता छानबिन आयोगका लागि १० जनाको उजुरी परेको समिति सचिव टेकबहादुर श्रेष्ठले बताए। राज्यपक्षविरुद्ध १ सय १७ र विद्रोही पक्षविरुद्ध ५२ उजुरी परेका छन्। घाइतेमा ५६ र ४२ उजुरी मृतकतर्फका छन्। अन्य उजुरी विस्थापित, अपहरण, सम्पति, जग्गा कब्जामा परेका छन्। 
 

प्रकाशित: ४ असार २०७३ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App