coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सिजनमा शिवरामको वर्चस्व

काठमाडौं- नेपाली व्यावसायिक गल्फका सबभन्दा सफल खेलाडी शिवराम श्रेष्ठको वर्चस्व कायम राख्दै सूर्य नेपाल गल्फ टुरको सिजन गत साता सम्पन्न भएको छ। एक दशकदेखि नेपाली गल्फमा एकछत्र राज गर्दै आएका शिवरामका लागि यो सिजन अत्यन्त सुखद र उपलब्धिमूलक रह्यो।

सूर्य नेपाल टुरअन्तर्गत यो सिजन कुल ४७ लाख ७५ हजार नगद पुरस्कारको आठ प्रतियोगिता सम्पन्न भए। जहाँ अन्य चालीस व्यावसायिक गल्फरमाथि रबाफ जमाउँदै शिवरामले ६ उपाधिमा नाम लेखाए। यसपालि ६ उपाधिसँगै ८ लाख १३ हजार नगद पुरस्कार जितेका शिवरामको करियरमा कुल उपाधिसंख्या ३६ पुगेको छ। जसले उनको नाममा रहेको नेपाल नम्बर एक व्यावसायिक गल्फरको हैसियत कायम रह्यो।

सूर्य नेपाल इस्टर्न ओपनबाट सिजनको सुरुआत गरेका उनले सूर्य नेपाल च्यालेन्ज, सूर्य नेपाल वेस्टर्न ओपन, सूर्य नेपाल सेन्ट्रल ओपन, सूर्य नेपाल टुर च्याम्पियनसिप र सर्वाधिक नगद पुरस्कारको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जित्दै सिजनको बिदाइ गरेका थिए।

नेपाली व्यावसायिक गल्फरहरूको वरीयतामा तीन नम्बरमा रहेका सञ्जय लामाका लागि यो सिजन मिश्रित रह्यो। पूरा सिजनभर एकरूपको प्रदर्शन गरे पनि उनले एउटै उपाधि जित्न सकेनन्। उपाधि जित्न नसके पनि सर्वाधिक पुरस्कार हात पार्नेमा भने उनी दुई नम्बरमा रहे। उनले सिजनका आठ प्रतियोगितामा ४ लाख ११ हजार २ सय ५० रुपैयाँ जिते। यसैका आधारमा आगामी सिजनका लागि उनको वरीयता दोस्रो नम्बरमा उक्लिएको छ।

लामा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपसँगै सूर्य नेपाल इस्टर्न ओपन, सूर्र्य नेपाल सेन्ट्रल ओपन र सूर्य नेपाल एनपिजिए म्याच प्लेमा उपविजेता भएका थिए। एकरूपको प्रदर्शनलाई कायम राख्न सफल उनी अन्य तीन स्पर्धामा पनि तेस्रो भएका थिए। 

यसै गरी सबै प्रतियोगितामा दाबेदारको छवि बनाउन सके पनि भुवन नगरकोटी पनि बितेको सिजनमा उपाधिविहीन रहे। पुरस्कारको दृष्टिले तेस्रो नम्बरमा आएका उनले ३ लाख ६९ हजार हात पारे। यसै गरी सूर्य नेपाल एनपिजिए म्याच प्लेमा च्याम्पियन भएका पूर्व नम्बर एक व्यावसायिक गल्फर रवि खड्का कुल ३ लाख ४१ हजार २ सय ५० रुपैयाँ जित्दै चौथो सफल गल्फर बने।

सूर्यप्रसाद शर्मा ३ लाख ३ हजार रुपैयाँ जित्दै पाँचौं भए। सिजनका आठमध्ये ६ उपाधि शिवराम तथा एउटा रविले जित्दा अर्को उपाधि सूर्य नेपाल काठमाडौं ओपन रामे मगरले जिते। आर्थिक आर्जनका दृष्टिमा भने उनी सातौं नम्बरमा थिए।

प्रकाशित: १ असार २०७४ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App