८ वैशाख २०८१ शनिबार
विचार

राजनीतिमा परिवारवाद

राज्यको शासन चलाउने व्यक्तिहरूले आफ्नो परिवारका छोरा, छोरी, पत्नीप्रतिको मोह र तिनीहरूको हठ पन्छाउन सकेनन् भने त्यसले बढ्दै गएर अन्ततः राष्ट्रको पतन वा महाविनाश निम्त्याउँछ। यो आजको मात्र विषय नभएर ५/६ हजार वर्षपहिलेको 'रामायण' र 'महाभारत' जस्ता महानतम काव्यका कथाको मूल विषय पनि हो। भारतवर्षको अयोध्याका राजा दशरथले रानी कैकेयीको मोहमा पर्नुको मूल कारणबाटै राम–रावणबीचको युद्ध हुन पुगेको र महाभारतीय युगका राजा धृतराष्ट्रले आफ्नो पुत्र दुर्याेधनप्रति मोह छोड्न नसक्दा तत्कालीन युगको महाविनाशकारी युद्ध भएको थियो।

प्रचण्ड र गिरिजाको पुत्रीमोह जोडेर हेर्न सकिन्छ। यी दुवैलाई आफूमात्र नभएर आफ्ना सन्ततिलाई उच्च पदमा लैजान मरिहत्ते गर्ने व्यक्तिका रूपमा इतिहासले चित्रित गर्नेछ।

यस्ता पाठ पढ्नु र पछिको पुस्तालाई पढाउन उत्प्रेरित गर्नुको सट्टा केही मानिस ती कृतिहरू बाहुनले समाजमा आफ्नो वृत्ति चलाउन र अरू जात–जातिलाई शोषण गर्न र ठग्न बनाएका हुन् भन्ने भ्रम छर्नतर्फ लागिपरेका छन्। र, राज्यमा विण्भेद उत्पन्न गरी समाजमा कलह र विखण्डनद्वारा राष्ट्रलाई पतनको बाटोतिर उन्मुख बनाउन कतिपय नेतृत्वदायी शक्ति र तिनका अनुशरणकर्ता नै लागिपरेको देख्दा आश्चर्य लाग्छ। अरूको सम्पत्तिमाथिको लोभ, परस्त्रीप्रतिको आशक्ति र आफ्ना परिवारजनप्रतिको मोह विनाशका कारण हुन् भन्ने सत्यलाई कुनै पनि जात–जातिका स्रष्टा लेखकले लेखून्, त्यसलाई जातीय वा वर्गीय कित्तामा छुट्याएर हेर्नु त्यस्ता कुप्रवृत्ति र दुराशयप्रतिको समर्थन नै हो।

 अरू राज्य वा अरू व्यक्तिको धनप्रतिको लोभ र आशक्ति लडाइँ, मारपिट विखण्डन र विनाशको कारण बन्ने घटना समाजको निर्माण र उत्थानकालदेखि हुँदै आएका हुन्। तिनले नयाँनयाँ राज्य निर्माण र विखण्डनका क्षणमा नयाँ–नयाँ शासक र नेताको उत्थान–पतनका घटना विश्व इतिहासका अनगिन्ति अवसरमा देखा पर्दै आएकै हुन्। तर व्यक्तिगतरूपमा कुनै शासक वा नेतृत्व तहको व्यक्तिले आफ्नो परिवारका निकटतम सदस्यप्रतिको मोह वा आशक्तिले उसको राजनीतिक अस्तित्व पतन भएको र इतिहासमा कलङ्कित हुनुपरेका घटना पनि त्यत्तिकै छन्। समाजमा परिवर्तनको संवाहक बन्ने दावी गर्ने ठूला–ठूला राजनेता सानातिना लोभ, मोह वा आशक्तिका कारण इतिहासमा कसरी पतीत वा कलङ्कित बन्न पुग्छन् भन्ने उदाहरण हाम्रै वरपरका अतीत र वर्तमानकै समयसन्दर्भमा देखापर्दै आएका छन्।

 आफ्नै परिवारमा शक्ति वा शासन हस्तान्तरण गर्ने परम्परा विश्वमा सबभन्दा पुरानो हो र विश्वका राजसंस्थाहरूले त्यसलाई निरन्तरता दिँदै आएकै हुन्। अङ्गभङ्ग, अपाङ्ग वा मानसिक वा बौद्धिकरूपमा अक्षम रहे पनि आफ्नै सन्तानमा राज्यसत्ता हस्तान्तरण गर्ने परिपाटीलाई अन्त्य गरी संसारका मुलुक प्रजातन्त्र, जनतन्त्र वा गणतन्त्रतिर उन्मुख बनेका हुन्। यसैले स्वतः सत्ताप्राप्तिको परम्परा समाप्त गरी निर्वाचन पद्धतिद्वारा शासक चयन गर्ने परम्परा बसेको हो तर केही दशकयता निर्वाचनद्वारा शासन चलाउने प्रजातान्त्रिक वा गणतन्त्रीय पद्धतिअन्तर्गतकै राजनेताहरूमा आफ्नो सन्तानमा शासन वा नेतृत्व हस्तान्तरण गर्ने रोग बढ्दै गइरहेको छ। यसले शासक वा नेताहरूमा जनताबाट हुने निर्वाचन प्रक्रियालाई देखाउने दाँत र भित्रभित्रै आफ्नो परिवारका सदस्यलाई शासनसत्तामा पुर्‍याउने गुप्त धन्दालाई खाने दाँतका रूपमा प्रयोग गर्ने परिपाटी बस्न थालेको छ र यसलाई विकसित राजनीतिक व्यक्तिको चतुर्‍याइँ मान्न थालिएको छ।

गणतन्त्र स्थापनापछिको भारतमा जुन–जुन जननेताले बेलायती उपनिवेशविरूद्ध जनताको नेतृत्व गरे तिनैले नयाँ भारतीय गणतन्त्रको शासनसत्ता सञ्चालन गरे महात्मा गान्धीबाहेक। पछि आएर भारतीय स्वतन्त्रता सङ्ग्रामका अग्रणीमध्येका एक जवाहरलाल नेहरूको प्रतिभा र व्यक्तित्वको प्रभावका कारण एकथरी भारतीय जनमानसमा उनको परिवारलाई आदर्श ठान्ने परम्परा विकसित भयो। फलतः नेहरूपुत्री इन्दिराका पक्षमा भारतीय जनमानस तयार भयो। यद्यपि भारतको प्रतिनिधिसभामा नेहरूमाथि आक्रामकरूपमा प्रस्तुत हुने क्रममा समाजवादी नेता राममनोहर लोहियाले एक पटक इन्दिरा गान्धीले लगाएको लाखौं मूल्य पर्ने बाघको छालाको कोटप्रति लक्षित गर्दै तीतो वक्तव्य नै दिएका थिए। पछि आएर इन्दिरा प्रधानमन्त्री बनेपछि उनको आक्रमणको तारो तिनै समाजवादी नेता जयप्रकाश नारायण, राममनोहर लोहिया आदि बने। तर इन्दिरा गान्धीको त्यस प्रकारको राजनीतिक व्यक्तित्वको निर्माण नेहरूपुत्री हुनुको कारणले मात्र भएको थिएन।

नेहरूले सानै उमेरदेखि इन्दिरालाई उचित शिक्षादीक्षा र राजनीतिक ज्ञान दिएका थिए। किशोर उमेरकी स्कुले विद्याथी छोरीलाई नेहरूले इलाहावादबाट मसुरीमा पठाएको चिठीबाट (यस्ता चिठी सङ्कलन प्रकाशित भई नेपालका माध्यमिक स्तरका कक्षामा पठनपाठन हुन्थ्यो) इन्दिराले पिता जवाहरलाल नेहरूकी पुत्री भएका कारण्ले मात्र नेतृत्वको विकास गरेकी थिइनन् भन्ने बुझिन्छ। तर इन्दिरा गान्धीपछि भारतीय काङ्ग्रेसमा परिवारवादले यसरी समात्यो, त्यसले अन्ततः भरतीय काङ्ग्रेसलाई हात्तीबाट मुसोमा परिणत गर्‍यो। अहिले भारतीय काङ्ग्रेसका नेता राहुल गान्धी र भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको व्यक्तित्व त्यही मुसो र हात्तीसँग उदाहरणीय बन्न पुगेको छ।

 गणतन्त्र चीनका जनवादी सर्वाेच्च नेता माओत्सेतुङ्को व्यक्तित्व उनको समयका बाँकी विश्वका नेताहरूभन्दा उपल्लो थियो। माओ र गणतन्त्र चीन त्यस बेला पर्यायवाची थिए। तर माओ नै चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष छँदै चीनमा उनकी कान्छी पत्नी च्याङ चिङले आफ्ना पतिको राजनीतिक उत्तराधिकारको नेतृत्व लिन खोजिन्। त्यतिमात्र नभएर उनले चीनमा सांस्कृतिक क्रान्तिका नाममा चिनियाँ इतिहास र संस्कृतिलाई जरैदेखि फाल्ने काम सुरू गरिन्। अति वृद्धावस्थाका माओले आफ्नी पत्नीसहितको चाण्डाल चौकडीविरूद्ध केही गर्न सकेनन्। अन्ततः देङ सियाओ पेङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले नै तथाकथित सांस्कृतिक क्रान्तिविरूद्ध पाइला चाल्यो। त्यसपछिको अहिलेको समुन्नत चीनमा कुनै नेताको परिवारले आफूलाई नेताकै सन्ततिको आधारमा नेतृत्व लिने आँट गरेको पाइएको छैन। यसैले चीन आज यति शक्तिशाली बनेको छ। अहिलेको चीनले माओको जीवनमा लागेको सानो कलङ्कलाई तुच्छ ठानेर उनको महानताको जयजयकार नै गरेको पाइन्छ।

 पाकिस्तानका प्रबुद्ध र अग्रणी राजनीतिक नेता जुल्पि्ककार अली भुट्टोले आफ्नी पुत्री बेनजीर भुट्टोलाई राजनीतिकरूपमा सक्षम बनाएका थिए। तर उनका पिताको मृत्युपछि आएर उनको परिवार र माइती परिवारबीच बढेको कटुता र हिंस्रक राजनीतिलाई उनले थाम्न सकिनन्। उनी प्रधानमन्त्री भएपछि आफ्नी आमासँगको मतभिन्नता र आफ्नै पतिका गतिविधिले उनलाई राजनीतिमा अघि बढ्न दिएन। बराबर सत्ताको स्वाद पाउँदै आएको सेना उनलाई असफल तुल्याउने षड्यन्त्रमा लागेकै थियो। परिणाम उनको जीवन दुःखान्तमा परिणत हुन पुग्यो। कुनै बेला सशक्त रहेको पाकिस्तानको नेसनल पिपुल्स पार्टी पक्षघातको अवस्थामा पुग्यो।

 विश्वमा यतिखेर जनवादी व्यवस्थामा परिवारवाद हावी भएको मुलुक उत्तर कोरिया हो। त्यहाँका प्रभावशाली नेता किम इल सुङले उठाएको कम्युनिस्ट पार्टीको नेतृत्व उत्तर कोरियाली निर्माणको परम्परालाई अहिलेसम्म उनको नाति पुस्ताले धानिरहेको छ। कम्युनिस्ट मुलुकका जनता बाहिरी प्रजातान्त्रिक विश्वको उज्यालोबाट वञ्चित हुँदा निसासिन्छन् र त्यो कुनै बेला उग्ररूपमा बिस्फोट हुन्छ भन्ने पाश्चात्य पँुजीवादी मुलुकको भनाइलाई यसले चरितार्थ त गर्ने होइन? भन्ने शङ्का गर्ने ठाउँ त्यहाँको वंश परम्परागत शासन व्यवस्थाले दिइरहेको छ। जुन राम्रो होइन।

नेपालमा राणाशासन अन्त्य र प्रजातन्त्रको उदयदेखि शासनसत्ता जनताका प्रतिनिधिको हातबाट सञ्चालन हुने प्रक्रिया चल्दै आएको हो। २०१७ सालदेखि २०४६ सालसम्मको व्यवस्था निर्दलीयरूपको छँदा पनि पञ्चायतभित्रै स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म मतदानद्वारा भएको थियो। तर पञ्चायती व्यवस्थाका प्रवर्तक राजा महेन्द्र र संसदीय प्रजातन्त्रका अग्रणी जननेता विश्वेश्वर कोइरालासम्मले पनि राजनीतिमा परिवारका सदस्यलाई लाग्न प्रोत्साहित गरेनन्। महेन्द्रकी रानी रत्ना र बिपी पत्नी सुशीला केवल गृहिणीका रूपमा मात्रे रहे। बिपीका पुत्रहरू प्रकाश र शशाङ्कले त पिताको मृत्युपछि मात्र राजनीतिमा सक्रियता देखाएका हुन्। महेन्द्रको निधनपछि नारायणहिटी दरबारमा पारिवारिक चलखेल बढ्यो। महेन्द्रले पत्नीलगायत भाइहरूलाई पनि देशको राजनीतिमा नलाग्ने गरी पारिपारिक अनुशासन कायम गरेका थिए। तर वीरेन्द्र राजगद्दीमा बसेपछि उनका भाइहरू र पत्नी ऐश्वर्याले समेत दरवारी राजनीतिमा हस्तक्षेप गरे र त्यहाँ पारिवारिक अनुशासन कायम रहेन। अनुमान गर्न सकिन्छ त्यही दरबारी अनुसशासनहीनता र राजा वीरेन्द्रको कथित सज्जनता नारायणहिटी हत्याकाण्डको कारण बन्न पुग्यो।

 राजा महेन्द्र र जननेता बिपी कोइराला दुवैमा रहेको राजनीतिक परिपक्वता र उचाइलाई उक्त घटनाहरूले पुष्टि गर्छन्। त्यसो त प्रजातन्त्र उदयपछि प्रधानमन्त्री रहेका टङ्कप्रसाद आचार्य, डा. के आई सिंह, डा. तुलसी गिरी, कीर्तिनिधि बिष्ट आदिका परिवारजनले पनि आफ्ना पति वा पिताको छत्रछायाँमा रहेर राजनीतिमा प्रवेश गरेको थाहा भएन। तर पञ्चायती व्यवस्था अन्त्यपछि नेपालको राजनीतिक वृत्तमा कतिपय पार्टी नेताका परिवारजनले सक्रियता बढाए। गणेशमान सिंहकी पत्नी मङ्गलादेवी र पुष्पलालकी पत्नी सहाना प्रधानको आफ्नै स्वतन्त्र राजनीतिक पृष्ठभूमि थियो। उनीहरूले पतिको राजनीतिक संरक्षणभन्दा छुट्टै व्यक्तित्व बनाएका थिए। बिपीकी भान्जी शैलजा आचार्यको पनि छुट्टै जुझारू राजनीतिक व्यक्तित्व थियो। तर २०४६ सालपछि अकस्मात् नेपाली काङ्ग्रेस पार्टीमा देखापरेकी गिरिजापुत्री सुजाता बिनाराजनीतिक पृष्ठभूमि पनि राजनीतिक गतिविधिमा सक्रिय बनिन्।

 भारतको नेहरू परिवारको राजनीतिको जानी–नजानी नक्कल गर्न खोज्ने नेपाली काङ्ग्रेसको पार्टी पंक्तिको एउटा समूहले सुजातालाई परराष्ट्र मन्त्रीसम्म बनायो र उनको महत्वकाङ्क्षामा घिउ थप्दै गयो। गिरिजाप्रसादले त्यसलाई प्रोत्साहन दिए र पुत्रीमोहको एउटा नमुना पार्टीभित्र स्थापित गरे। कोइराला परिवारले नै नेपाली काङ्ग्रेसको नेतृत्व गर्नुपर्छ भन्ने मतिभ्रम पालेर बस्नेहरूले अहिले पनि कोइरालालाई नै घिच्याएर पार्टीको उपल्लो स्थानमा राख्ने परिपाटी देखापर्छ। त्यसको पछिल्लो उदाहरण नेत्ररोगका डाक्टर शशाङ्क कोइराला हुन्। उनले पनि देशलाई असल डाक्टर नै बनेर सेवा गर्ने सकिन्छ भन्ने सोच राखेनन्। अहिले नेपाली काङ्ग्रेसका पूर्वनेता गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधीका पुत्र विमलेन्द्र बाबुले नेतृत्व दिएकै पार्टीको नेतृत्व तहमा छन्। तर यी दुवैले आफ्ना पिताको राजनीतिक आदर्शको बाटो पछ्याएको देखिँदैन। सत्ताभोगको स्वार्थी राजनीतिमै अल्मलिइरहने हो भने उनीहरूलाई केवल सत्ताभोगी पार्टी कार्यकर्ताका रूपमा मात्र इतिहासले चिन्नेछ। 

 नेपालको कम्युनिस्ट राजनीतिका अग्रणी व्यक्तित्वहरूले राजनीतिमा परिवारवादलाई प्रोत्साहन दिएको खासै देखिँदैन। पुष्पलालकी पत्नीले पतिले कम्युनिस्ट पार्टी सञ्चालन गर्दा प्राध्यापन व्यवसायद्वारा पृष्ठभूमिमा पार्टीलाई सहयोग गरिरहिन्। तर उनकै दिदी साधनाले पति मनमोहनको पार्टी राजनीतिभन्दा फरक बस्न रूचाइन्। मनमोहनका छोराले पार्टी राजनीतिभन्दा पर रहेर विश्वविद्यालयको प्राध्यापनतिर रूचि देखाए। नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारीले पनि अहिले पाएको राष्ट्रपति पद आफ्ना पति मदनको राजनीतिक प्रोत्साहनबाट पाएको होइन र उनका पति जीवित छँदासम्म उनी केवल नेता पत्नीका रूपमा मात्र परिचित थिइन्।

 यतिबेला नेपालको राजनीतिक वृत्तमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल उच्च चर्चामा छिन्। उनको नेपाली राजनीतिमा रहेको योगदान के हो त्यसबाट शायदै कुनै व्यक्ति परिचित छ। उनी मात्र प्रचण्डकी छोरीका रूपमा परिचित छिन्। त्यस्ता पिता जसले आफ्नी छोरीका लागि अरू ठूला दुई नगरपालिकाको प्रमुख पद छाडेर नेपालको सबभन्दा ठूलो पार्टी काङ्ग्रेससँग सम्झौता गरे। यस पुत्रीमोहलाई गिरिजाप्रसादको पुत्रीमोहसँग जोडेर हेर्न सकिन्छ। यी दुवै छोरीका बाबुहरू नेपालको राजनीतिमा आफूमात्र नभएर आफ्ना सन्ततिलाई उच्च पदमा लैजान मरिहत्ते गर्ने व्यक्तिका रूपमा इतिहासमा नामाङ्कित हुनेछन्। गिरिजाको त पार्टी ठूलो थियो र ऐतिहासिक पृष्ठभूमि पनि थियो। तर प्रचण्डको राजनीतिलाई चुनावी सन्दर्भमा हेर्ने हो भने भरखरकै हो। उनी आगामी दिनमा आफ्ना सन्ततिलाई आफ्नो राजनीतिक विरासत कसरी छाड्नेछन् त्यो भविष्यकै गर्भमा सुरक्षित छ।

सन्ततिप्रतिको स्नेह वा प्रेम मानिसको मात्र नभएर प्राणी मात्रको स्वाभाविक र सहजात गुण हो। समाजको कुनै पनि मानिस यसबाट मुक्त रहन सक्दैन। तर समाजका अग्रणी पथदर्शकहरूले आफू बाँचेको समाजका कैयन् दुःखी र पीडित व्यक्तिहरू र तिनका सन्ततिको सापेक्षतामा आफ्ना सन्ततिलाई राखेर हेर्नुपर्ने हुन्छ। यो आदर्शको विषय हुन सक्छ। तर आफूले अपार स्नेह पोखेर हुर्काइ संरक्षण दिएका आफ्ना सन्ततिका चाहना उनीहरूका क्षमता र तिनको भविष्यप्रति हाम्रो समाजका अग्रणी कति सचेत छन्? आफ्ना सन्ततिप्रतिको मोहले कतै तिनलाई पथभ्रष्ट त गरिरहेको छैन? मुलुक बनाउने शपथ लिएको प्रमुख व्यक्तिले आफ्नो सन्तति वा परिवारको मोहमा परेर राजनीतिक गन्तव्यसँगै आफ्नो सन्ततिलाई कुनै गलत दिशातिर निर्देशित गरिरहेको त छैन? यस्ता संवेदनशील विषयप्रति उच्च नेतृत्व तहका व्यक्तिहरू सचेत हुनुपर्ने हो। यदि गन्तव्यबाट विचलित भएमा इतिहासले तिनलाई क्षमा गर्ने छैन। उचालेको कुकुरले मृग मार्दैन भन्ने उखान आफूलाई राजनीतिको पारखी ठान्ने नेताहरुले आफ्ना परिवारजनलाई राजनीतिमा लाग्न प्रेरित गर्नुअघि सोच्नु आवश्यक हुन्छ। परिवारजनलाई राजनीतिमा महत्वाकांक्षी बनाउनुभन्दा आफ्नो पारिवारिक पाठशालामा नैतिकता र सदाचारको पाठ पढाइ परिवार, समाज र राष्ट्रकै योग्य सदस्य बनाउने कुरा पनि नसोच्ने राजनीतिकर्मीबाट मुलुकले के आशा गर्न सक्छ?

प्रकाशित: १ असार २०७४ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App