coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कैलाली कांग्रेसमा असन्तुष्टि

धनगढी- नेपाली कांग्रेसको केन्द्रले गरेको टिकट बितरणमा कैलालीमा व्यापक असन्तुष्टी देखिएको छ। असुन्तष्ट पक्षधरले भेला आयोजना गरेर वागी उम्मेदवार उठाउने निर्णय गर्नेदेखि सामूहिक राजिनामा समेत दिएका छन। असन्तुष्ट महिलाले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर गुनासो समेत गरेका छन्।

असन्तुष्ट पक्षको भेलाद्वारा वडादेखि मेयरसम्म वागी उम्मेदवार उठाउने निर्णय, क्षेत्रीय सभापतिसहित सामूहिक राजीनामा।

नेपाली कांग्रेसमा स्थानीय तहको निर्वाचनका लागि बितरण गरिएको टिकटप्रति असन्तुष्ट भजनी नगरपालिकाका नेता कार्यकर्ता भेलाले केन्द्रबाट योग्य व्यक्तिलाई नभई एकलौटी रूपमा उम्मेदवार छनोट गरेकोमा आपत्ति व्यक्त गर्दै नगर क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेको कांग्रेस कैलाली क्षेत्र नम्बर ३ का सभापति जीवन श्रेष्ठले बताए। 'स्थानीय नेता र कार्यकर्ताको भावना बिपरित टिकट बितरण भएकोमा मंगलवार भएको भेलाले स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेको छ', उनले भने।

नगरपालिकाको मेयर, उपमेयर तथा नगरका सबै वडामा अध्यक्ष, सदस्य लगायत पदमा स्वतन्त्र उम्मेदवार उठाउने निर्णय भेलाले गरेको उनले बताए। ६५ जना क्रियाशिल कार्यकर्ता सहभागी भेलाले स्वतन्त्र उम्मेदवार चयन गर्ने निर्णय गर्दै त्यसका लागि प्रचारप्रसार सुरु गर्ने निर्णय गरेको उनले बताए। असन्तुष्ट पक्षको भेलाले मेयरमा गंगा चौधरी र उपमेयरमा रुद्र जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

कांग्रेसमा लामो समयदेखि सक्रिय र योगदान पुर्‍याउनेलाई भन्दा केही नेताका नजिकका व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै क्षेत्रीय सभापतिसहित ३४ जना क्रियाशील सदस्यले दुई दिनअघि राजीनामा दिएका थिए।

क्षेत्रीय सभापति श्रेष्ठ, भजनी नगर सभापति रुद्रप्रसाद जोशी, महासमिति सदस्य सरिता उप्रेती, महाधिवेश प्रतिनिधि रामनाथ उपाध्याय, पूर्वक्षेत्रीय सभापति तेजराम चौधरी, नगर सचिव टेकराज न्यौपाने, पूर्वजिल्ला कार्य समिति सदस्य प्रमोद उप्रती, भजनी गाउ“समितिका पूर्वसभापति जंगली प्रसाद चौधरीलगायतले सामूहिक राजीनामा दिएका छन्। 'योग्य र योगदान पुर्‍याएका भन्दा नेताका नजिककालाई उम्मेदवारी दिएकाले हामीले राजीनामा दिएका हौं,' श्रेष्ठले भने।

उम्मेदवार छनोटमा सर्वसम्मत नभएपछि भजनीको मेयरमा १२ जना र उपमेयरमा ६ जना आकांक्षीको नाम क्षेत्रीय समितिले जिल्लामा पठाएको थियो। जिल्लाले पठाएको नाममध्येबाट केन्द्रले उम्मेदवार छानेको हो।

भजनीमात्र होइन जिल्लाका अन्य क्षेत्रमा पनि उम्मेदवार चयनको विषयलाई लिएर कांग्रेसभित्र व्यापक असन्तुष्टि देखिएको छ। धनगढी वडा नम्बर ३ मा असन्तुष्ट पक्षले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चुनावी सम्पर्क कार्यालय स्थापना गरि प्रचारप्रसारमा जुटेका छन्। पार्टीले राजबहादुर ऐरलाई अध्यक्षको टिकट दिएपछि असन्तुष्ट पक्षले यदु आचार्यलाई स्वतन्त्र उम्मेदवार बनाएका छन्।

यस्तै धनगढी उपमहानगरपालिकाको उपमेयर छनौटप्रति उपमेयरका सातजना आकांक्षी महिलाले असन्तुष्ट व्यक्त गरेका छन्। उपमेयरका आकांक्षीले सोमबार पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए। धनगढी उपमहानगरपालिकामा उपमेयरका लागि आकांक्षी भएका मध्येवाट टिकट नदिइएको भन्दै उनीहरूले असन्तुष्टी जनाएका छन्। मेयर पदका दावेदार शुशिला मिश्र भट्टलाई उपमेयरको टिकट दिइएको छ। एक पदमा एक जनाले मात्र दावी गर्न पाउने र दावी गरेको पद बाहेक अर्को पदमा नहुने भनिए पनि मेयरको पदको दावेदारलाई उपमेयर दिइएको उनीहरूको भनाइ छ।

प्रकाशित: १ असार २०७४ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App