coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पहाडी भन्सारमा लक्ष्यभन्दा धेरै राजस्व

इलाम–पूर्वी पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७२÷०७३ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । त्यस आवका लागि १ करोड ८ लाख ७४ हजार रुपैयाँ लक्ष्य रहेकामा १ करोड २० लाख ८३ हजार रुपैयाँ संकलन भएको भन्सारले जनाएको छ ।

अघिल्लो आवको तुलनामा यो २० प्रतिशतले बढी भएको भन्सार प्रमुख प्रकाश पोख्रेलले बताए। ‘छोटी भन्सार कार्यालयबाट मात्र यो आवमा ८ लाख २४ हजार रुपैयाँ संकलन भएको छ,’ उनले भने, ‘यो अघिल्लो आवको तुलनामा २ सय ३२ प्रतिशतले बढी हो।’ राजस्वको प्रमुख स्रोत सवारी साधनकोे अस्थायी पैठारी भएको उनको भनाइ छ। तर, बरामद गरी भन्सार प्रशासनलगायत विभिन्न निकायद्वारा दाखिला गरेको माल–सामानको लिलामी, छोटी भन्सारको प्रभावकारिता र साना तथा खुद्रे व्यापारीले ल्याएका सरसामानको महसुलले पनि राजस्व संकलनमा सहयोग गरेको उनले जनाए।

कार्यालयअन्तर्गत मानेभञ्याङ, हिले, छब्बिसे, छिरुवा, तुम्लिङ, माइमझुवा, मेमेङ, च्याङथापु र बन्दुके छोटी भन्सार छन्। यीमध्ये मानेभञ्ज्याङ, छब्बिसे, छिरुवा र तुम्लिङ मात्र सञ्चालनमा छन्। भारतको पर्यटकीय सहर दार्जिलिङ तथा मिरिकसँग नजिक रहे पनि भारतीय पक्षबाट मालवस्तु ओसारपसारमा गरिएको नियन्त्रणका कारण यो भन्सारमार्फत निकासी तथा पैठारीको कारोबार शून्यप्रायः रहेको प्रमुख पोख्रेलले बताए।

‘भारततर्फ सीमा नाकामा ल्यान्ड कस्टम तथा क्वारेन्टाइन कार्यालय नहुनु र बोर्डरमा रहेको कस्टम चेक प्वाइन्टले बिल अफ इन्ट्री जारी नगर्नुले स्थानीय उपभोक्ताले यहाँबाट सेवा पाउन सकेका छैनन्,’ उनले भने, ‘विभिन्न निकायले अवरोध गरिरहने हुनाले इलाम, पाँचथर र ताप्लेजुङका धेरै सर्वसाधारण एवं व्यापारीले नजिकैको नाकाको सुविधा लिन नसकेका हुन्।’ यहाँको नाका नखुलेका कारण इलाम, पाँचथर र ताप्लेजुङका उत्पादन अलैंची, अदुवा, अम्लिसो, चिजलगायत निकासीमा कठिनाइ छ। दैनिक उपभोग्य सरसामान पैठारी गर्नसमेत लामो बाटो प्रयोग गरी मेची भन्सार नाका धाउनुपर्ने बाध्यता छ।

त्यस आवमा १ सय २४ मुद्दा दर्ता भइ ७० लाख ८९ हजार रुपैयाँ बराबरको सामान कारबाहीका लागि भन्सार कार्यालयमा दाखिला भएको छ। यसमध्ये १ सय २० मुद्दा फछ्र्याैट भइसकेका छन् भने १२ मुद्दाका बाहेक सबै सामान लिलाम भइसकेको भन्सारले जनाएको छ। मुद्दाको लिलामी तथा जरिमानाबाट मात्र यस आवमा ५० लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

 

प्रकाशित: ५ श्रावण २०७३ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App