१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा खानेपानीको अभाव

भक्तपुर- प्रचण्ड गर्मीसँंगै भक्तपुरबासीलाई खानेपानीको समस्याले पिरोलेको छ। पानीका लागि टोलटोलका सार्वजनिक ढुंगेधारा, इनार, कुवामा भीड लाग्न थालेको छ। एक गाग्री पानीकै लागि महिला तथा केटाकेटी बिहान र बेलुका लाम लाग्न थालेका छन्।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मागअनुसार आपूर्ति गर्न नसकेपछि पानीको हाहाकार भएको हो। भक्तपुरमा दैनिक करिब ८० लाख लिटर पानीको माग रहेको छ। तर, केयूकेएलले सुक्खायाममा मागको आधा पनि पानी वितरण गर्न सकिरहेको छैन। केयूकेएलले दैनिक ३० लाख लिटरमात्रै पानी वितरण गगरिरहेको छ।

केयूएकलले पानी वितरण गर्न नसकेपछि स्थानीयबासी परम्परागत सार्वजनिक ढुंगेधारा, इनार आदिमा भर पर्न बाध्य भएका छन्। टोलटोलमा रहेका इनार र ढुंगेधारामा बिहान बेलुकी एक गाग्री पानीका लागि उनीहरूलाई घण्टौं कुर्नुपरेको छ। भक्तपुर गोल्मढीकी स्थानीय कृष्णशोभा कवाँंले स्थानीयवासी रातको समयमा पनि इनारमा पानी लिन आउने गरेको जनाइन्। पानीका कारण आफूहरूलाई निकै समस्या भएको उनले सुनाइन्।

भक्तपुरमा अझै पनि परम्परागत ढुंगेधारा र इनार बाँंकी छन्। सहरी खानेपानी र सरसफाइका लागि गैरसरकारी संस्था मञ्चले राखेको तथ्यांक अनुसार भक्तपुर नगरमा जम्मा ८७ वटा ढुंगेधारा छन्। जसमा ३३ वटामा प्राकृतिक रूपमै पानी बगिरहेको छ। ३५ वटामा केयूकेएलको धारा जडान गरी सञ्चालनमा ल्याइएको छ। १८ वटा सुकेका छन् भने एकवटा लोपोन्मुख अवस्थामा छन्। साथै मध्यपुर थिमि नगरपालिकाभित्र ६५ वटा ढुंगेधारा छन्। त्यहाँं ४७ वटामा प्राकृतिक रूपमै पानी बगिरहेको छ भने ६ वटामा केयूकेएलले पाइप जडान गरी पानी ल्याइएको छ। त्यहाँं नौवटामा पानी बग्न छाडेको छ भने तीनवटा लोप भइसकेका छन्। यो सन् २००८ को तथ्यांक हो। अहिलेको तथ्यांक कुनै पनि निकायसँग छैन। 

केयूकेएलद्वारा वितरित धाराको पानी नाममात्रको भएको स्थानीयको गुनासो छ। 'सातामा एक पटक आउने पानी पनि कहिले धमिलो आउँंछ त कहिले के,’ उनीहरूको सामूहिक भनाइ छ। केयूकेएलले पर्याप्त पानी आपूर्ति गर्न नसक्दा उपभोक्ता ट्यांकर र जारको पानी किनेर खान बाध्य छन्। केयूकेएलको धाराबाट पानी नआउँंदा दोहोरो खर्च हुने गरेको पीडित रमेशकुमार श्रेष्ठले बताए। केयूकेएल र पानी खरिद गर्ने कम्पनी गरी दुईतिर खर्च बढेको उनको भनाइ छ।

केयूकेएल भक्तपुर शाखाका प्रमुख सुरेन्द्र हिमालयका अनुसार पानी अभाव भएकाले केयूकेएलले ट्यांकरबाट पनि पानी वितरण गरिरहेको छ। भक्तपुर नगरपालिकाले पनि दैनिक तीनवटा ट्यांकरबाट पानी वितरण गर्दै आएको छ।

भक्तपुरमा केयूकेएलको नगरकोटस्थित महादेव खोलाको मुहान र बोडे दुईवटा पानीका मुख्य स्रोत छन्। अहिले बोडेबाट दैनिक १४ लाख र नगरकोट महादेव खोलाबाट दैनिक सात लाख लिटर पानी उत्पादन भइरहेको जनाइएको छ। यसका अलावा जगाती डिप बोरिंगबाट तीन लाख र बाँंसबारी डिप बोरिंगबाट दैनिक चार लाख लिटर पानी वितरण भइरहेको केयूकेएल भक्तपुर शाखाले जनाएको छ।

प्रकाशित: १ असार २०७४ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App