coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छैनन् विशेषज्ञ चिकित्सक, औषधि पनि पठाउँदैन विभाग

अञ्चल अस्पतालको आकस्मिक कक्षमा भर्ना रहेका बिरामी। चिकित्सक र अन्य सुविधाको अभावका बावजुद यस क्षेत्रका गरिब विपन्नहरु ठूलो संख्यामा यहाँ उपचार गराउने आउने गर्दछन्। तस्बिर: जितेन्द्रकुमार झा

राजविराज–अठार जना विषेशज्ञ चिकित्सकको दरबन्दी तर, एक जनाको मात्र उपलब्धता! विभागले दरबन्दी अनुसारको चिकित्सक पठाउँदैन, अस्पताल विकास समितिसँग स्रोत साधनको अभाव। अलिकति पनि गम्भीर प्रकृतिका विरामीलाई अन्यत्र रेफर गर्नुको विकल्प छैनन् यहाँ।

भारतीय सहयोगमाम २०२८ सालमै स्थापना भएको मुलुकै पुरानो मध्यै एक सप्तरी सदरमुकामक राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अवस्था यस्तै छ। पछिल्लो पटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो स्वास्थ्य मन्त्री हुँदा निकै तामझामका साथ गजेन्द्र नारायण सिंहको नाम पनि अस्पतालसँग जोडिएको थियो।

आफ्ना ‘राजनीतिक गुरु’को नाम अस्पतालसँग जोडिएको भन्दै त्यतिवेला उनले अस्पतालको ‘काया पलट’ गर्ने प्रतिवद्धतासमेत जनाएका थिए। तर अझै पनि अस्पतालको अवस्था उस्तै छ। सर्वसाधारण भन्छन्, ‘चर्को विवादकाबीच सगरमाथा अञ्चल अस्पतालको नाम त फेरियो तर काम भने उही रेफरल सेन्टर कै ।’

अस्पताल विषेशज्ञ विहीन भएको झण्डै एक दशक पुग्न लागेको नागरिक समाजका अगुवा थानसिंह भन्साली बताउँछन्। अस्पताल प्रशासनका अनुसार प्रमुख मेडिक सुपरिटेन्डेन्टसहित १८ जना विषेशज्ञ चिकित्सकको दरबन्दी रहेको यहाँ। ती मध्यै हाल मात्र एक जना बरिष्ठ कन्सलटेन्ट फिजिसियन वाहेक सवै पदहरु रिक्त नै रहेका छन्। केही महिना अघि मात्रै वढुवा भई पदस्थापन भएका डा. टेकनारायण मण्डल बाहेक एक जना पनि विषेशज्ञ चिकित्सक छैनन्।

अस्तालतको तथ्यांकलाई हेर्ने हो भन्ने पछिल्लो ८ वर्षदेखि यहाँ प्रसुतिबाहेक गम्भीर प्रकृतिका सर्जरी हुन सकेको छैन। सर्जनको अभावका कारण लामो समयदेखि सर्जरी हुन नसकेको हो। अस्पतालका एक मात्र सर्जन तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सत्यदेव गिरीको अवकास पश्चात हालसम्म विभागले सर्जनको पदपूर्ति गर्न नसकेका कारण सानो शल्यक्रिया गर्नुपर्ने विरामीलाईपनि अन्यत्र रेफर गर्नुपरेको अस्पताल प्रशासनको भनाइ छ।

सगरमाथा अञ्चल अन्तर्गतका ६ जिल्लाको स्वास्थ्य सेवाको जिम्मेवारी बोकेको यस अस्पतालसँग स्त्रि रोग तथा बाल रोग विषेशज्ञसमेत छैनन्। ‘पछिल्लो लामो समयदेखि दुवै पदहरु रिक्त रहेको हो’, अस्पतालको प्रशासन शाखामा कार्यरत सुर्यनारायण महतोले भने, ‘सवभन्दा बढी बिरामी आउने भनेको स्त्री तथा बालबालिकातर्फ नै हौ, तर चिकित्सक नै नहुँदा ठूलो समस्या हुने गर्दछन्।’ मातृशिशु स्वास्थ्यका लागि सरकारले बर्षौनी करोडौं लगानी गरेपनि सरकारी अस्पतालमै विषेशज्ञ चिकित्सक नहुँदा सरकारको योजना तथा कार्यक्रम त्यसै प्रभावहीन हुन लागेकोको जानकारहरुको टिप्पणी छ।

यस्तो छ दरबन्दी    

दरबन्दी अनुसार अञ्चल अस्पतालमा ११औं तहको प्रमुख कन्सलटेन्ट ‘अब्स एण्ड गाइने’, ‘जेनेरल फिजिसियन’ र ‘पिडियाट्रिसियन’ एक/जना रहनुपर्नेमा हाल तीनै वटा पदहरु रिक्त रहेका छन्। त्यस्तै ९÷१०औं तहका वरिष्ठ कन्सलटेन्ट ‘अब्स एण्ड गाइने’ ‘पिडियाट्रिसियन’ र ‘फिजिसियन’, २/२ जनाको दरबन्दी रहेकोमा एक जना फिजिसियन बाहेक अन्य पाँच वटा पदहरु भने रिक्तनै रहेको अस्पताल प्रशासनले जानाएको छ ।

यसैगरी ९ औं तहकै बरिष्ठ कन्सलटेन्ह ‘पैथोलोजिस्ट’, ‘एनेस्थेसियोलोजिस्ट’, ‘डर्माटोलोजिस्ट’, ‘इएनटी’, ‘सर्जन’, ‘साईक्याट्रिक्स’, ‘अर्थो सर्जन’, ‘मेडिकल जनरलिस्ट’ र ‘रेडियोलोजिस्ट’को १÷१ दरबन्दी रहेकोमा सवै पदहरु भन्ने पछिल्लो एक दशक देखि रित्तः नै रहेको अस्पताल प्रशासनको भनाई छ ।

यसका अतिरिक्त ६ जना मेडिकल अधिकृतहरुको दरबन्दी रहेकोमा ती मध्यै पनि ४ वटा पद रिक्त नै रहेका छन् भने डेन्टल सर्जन, नर्सिङ
अधिकृत, हाउसकिपर, एम्बुलेन्स चालक लगायतका महत्वपूर्ण पदहरु पनि पछिल्लो लामो समयदेखि रिक्त हुँदा अस्पताल उपचार भन्दा पनि रेफरल सेन्टरमै परिणत हुन पुगेको अस्पताल प्रशासनको स्विकारोक्ति छ।

रिक्त स्थानमा विशेषज्ञ डाक्टरको पदपूर्तिका लागि पटक पटक विभागमा लेखेर पठाइएको भएपनि  विभागवाट चिकित्सक नपठाउँदा उपलब्ध स्रोत साधनकै आधारमा जसो तसो स्वास्थ्य सेवा प्रदान गरिराख्नु परेको अस्पताल प्रशासनको भनाइ छ।
 

‘सात महिनादेखि औषधिको अभाव’

अञ्चल अस्पतालको स्टोर शाखाले गराएको जानकारी अनुसार पछिल्लो ७ महिना लामो समयदेखि अस्पतालमा अत्यावश्यक तथा सर्वसाधारणलाई निःशुल्क वितरण गर्नुपर्ने औषधिको अभाव छ। आफूहरुले मन्त्रालय, विभाग, क्षेत्रीय निर्देशनालय, केन्द्रीय मेडिकल स्टोरलगायत विभिन्न सभासदहरुलाई पटक पटक लिखित तथा मौखिक आग्रह गर्दासमेत हालसम्म औषधि नपठाइएको स्टोर शाखाका प्रमुख मनोजकुमार यादवले जानकारी गराए।

‘७० प्रकारका औषधि अञ्चल अस्पतालमार्फत निःशुल्क बाँडने गरिन्छ, जस मध्ये हामीसँग हाल एउटा पनि औषधि  छैन’, शाखा प्रमुख यादवले भने, ‘औषधि नदिँदा विरामीको आक्रोशको शिकार हामी बन्नुपर्ने बाध्यता छ।’ औषधि अभावका कारण हाल गरिब, विपन्न गर्भवती महिला समेतलाई औषधि दिन नसकिरहेको यादवको गुनासो छ ।

‘बैशाख २५ गते नै विभाग तथा केन्द्रीय मेडिकल स्टोरसहितका सम्बन्धित निकायलाई पत्राचार गर्यौं’, उनले भने, ‘यसबीचमा अस्पताल अवलोकनका लागि आएकी सांसद एवम्, महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिकी सभापति रञ्जु झा, फोरम लोकतान्त्रिकका सांसद जितेन्द्रनारायण देव सहितकाहरुलाई समेत गुहारी सकेका छौं।’

‘निमित्तकै भरमा एक दशक’

करिब एक दशक देखि अञ्चल अस्पताल निमित्त मेसुकै भरमा सञ्चालन रहेको छ। पछिल्लो पटक गत वर्ष असार÷साउन तिर पूर्णकालीन मेसु डा. महेश खनाललाई पठाइए पनि ६ मिहना न बित्दै उनी फर्किए। डा. अशोकानन्द मिश्रको अवकास पश्चात हाल सम्म निमित्तकै भरमा अस्पताल सञ्चालनमा रहेको छ।

सप्तरीनै घर भएका र सदरमुकाम राजविराजमा प्रभाव जमाएर बसेका दुई÷चार जना चिकित्सकहरु वर्षौदेखि अस्पतालमा कार्यरत रहेको तथा उनीहरुकै इसारामा विभागले पूर्णकालीन मेसु नपठाई पालै पालो तीनै चिकित्सकहरुलाई निमित्तको कार्यभार दिदै आएको सरोकारवालको गुनासो छ ।खासगरी राजविराजमा निजी क्लिनिकमार्फत महिनाको लाखौं कमाउने र स्वास्थ्य क्षेत्रमा आफ्नो सिण्डिकेट नटुटोस भनेर बाहिरका दक्ष चिकित्सकलाई सप्तरी आउनै नदिने मनसायले ती चिकित्सक स्वास्थ्य मन्त्रालय तथा विभागका कर्मचारीहरुलाई मोटो रकम घुस खुवाएर यस्तो अवस्था सृजना गरेको अर्का नागरिक अगुवा शशि यादवको भनाइ छ।

डा. अशोकानन्द मिश्रको अवकास पश्चात डा. मुरलीप्रसाद सिंह, डा. सत्यदेव गिरी, डा. तरानन्द झा, डा. शैलेशकुमार झा, डा. टेकनारायण मण्डल, डा. दिपा यादव, डा. दिलिपकुमार साह लगायतकाहरुले निमित्त मेसुको कार्यभार सम्हालि सकेका छन्। यी मध्यै डा. टेक नारायण मण्डल, डा. दिपा यादव र डा. दिलिपकुमार साह अझै पनि अञ्चल अस्पतालमै कार्यरत रहेका छन्।

पछिल्लो पटक केही समयकालागि मात्रै आएका पूर्णकालीन मेसु डा. महेश खनालले जाँदा जाँदै डा. दिपा यादवलाई निमित्त मेसुको कार्यभार दिएका थिए । त्यस पश्चात सगरमाथा अञ्चल अस्पतालमा काजमा रहेका डा. दिलिपकुमार साहले पहुचको आधारमा केन्द्रवाट निमित्त मेसुको नियुक्ति लिएर आए । उनी निमित्त भएपछि उनको नियुक्तिको बैधानिकता माथि नै प्रश्न तेर्सिएको छ । सिमिति समयमाका लागि काजमा आएका चिकित्सकलाई निमित्त मेसु बनाउनु अनुपयुक्त रहेको भन्दै अस्पताल भित्रै कर्मचारी र चिकित्सकबीच मतभिन्नताको अवस्था रहेको अस्पताल स्रोतको भनाइ छ।

 

प्रकाशित: ५ श्रावण २०७३ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App