७ वैशाख २०८१ शुक्रबार
समाज

'पेनकिलर' मिसाएर लागूअाैषध

इलाम—शरीरको दुखाइ कम गर्ने औषधि अन्य औषधिसँग मिसाएर लागूऔषधका रूपमा प्रयोग भइरहेको खुलेको छ। देशभरका औषधि पसलमा ‘ट्रामाडोल’ नामक ‘पेनकिलर’को खपत अत्यधिक बढेपछि अध्ययन गर्दा युवाहरूले यसको चरम दुरुपयोग गरिरहेको पाइएको हो।

क्यान्सरसमेतमा प्रयोग हुने ट्रामाडोलको माग औषधि पसलहरूमा एकैपटक आकाशिएपछि नेपाल औषधि व्यवसायी संघले त्यसको खपतबारे अध्ययन गरेको थियो। ट्रामाडोललाई ‘डासाइक्लोमाइन’ र ‘इस्टोमेथोराफिन’सँग मिसाएर युवाले लागूऔषधका रूपमा प्रयोग गरिरहेको अध्ययनमा पाइएको संघले जनाएको छ।

‘ट्रामाडोलमा डासाइक्लोमाइन र इस्टोमेथोराफिन ट्याब्लेट मिसाएपछि नयाँ फर्मुला बन्छ र त्यसले शरीरलाई लागूऔषध प्रयोगपछिको जस्तो नसा लगाउँछ,’ साहले भने, ‘अहिले यसको दुरुपयोग गरिरहेका युवाले पनि त्यसको सांकेतिक नाम फर्मुला नै राखेका रहेछन्।’

संघका पूर्वाञ्चल क्षेत्रीय प्रमुख शम्भू साहले ३ प्रकारका औषधि मिसाएर प्रयोग गरेपछि त्यसले शरीरमा नसा लगाउने पत्तो पाएर युवाले यसको दुरुपयोग गरिरहेको बताए। ‘देशका केही जिल्लामा ट्रामाडोलको खपत अत्यधिक देखिपछि किन रहेछ भन्ने अध्यनन गर्दा दुरुपयोगको अवस्था भयावह देखियो,’ उनले भने, ‘कक्षा–८ मा पढ्ने विद्यार्थीले समेत यसरी औषधिलाई लागूऔषधका रूपमा प्रयोग गरेको पाइएपछि ठूलो चुनौती आइलागेको छ।’

चिकित्सकका अनुसार ट्रामाडोल ‘ओपिएम’ वनस्पतिबाट बनेको ‘ओपिड’ समूहको औषधि हो। यो ‘मर्फिन’ र ‘कोडिन’ लागूऔषधजस्तै क्याप्सुल आकारको हुन्छ। ट्रामाडोल क्यान्सर रोगीका लागिसमेत प्रयोग हुने र दुखाइ कम गर्ने औाषधि हो। डासाइक्लोमाइन पेट दुखाइमा प्रयोग हुने र इस्टोमेथोराफिन सुक्खा खोकीका बिरामीले सेवन गर्ने औषधि हुन्।

‘ट्रामाडोलमा डासाइक्लोमाइन र इस्टोमेथोराफिन ट्याब्लेट मिसाएपछि नयाँ फर्मुला बन्छ र त्यसले शरीरलाई लागूऔषध प्रयोगपछिको जस्तो नसा लगाउँछ,’ साहले भने, ‘अहिले यसको दुरुपयोग गरिरहेका युवाले पनि त्यसको सांकेतिक नाम फर्मुला नै राखेका रहेछन्।’ उनका अनुसार अन्य औषधिसँग मिसाएर वा बढी डोज एकैपटक प्रयोग गरेपछि यो औषधिले निद्रा लगाउने, लागूऔषधको जस्तो शरीरलाई बढी आनन्द आएजस्तो गराउने गर्छ।

ट्रामाडोल नेपालकै उत्पादन भएको र धेरै सर्जनहरूले बिरामीलाई प्रायः यही औषधि सिफारिस गर्ने गरेको उनले बताए। ‘डोज कडा भएपनि प्रयोगका हिसाबले त यो औषधि सामान्य नै हो,’ उनले भने, ‘तर, अन्य औषधि मिसाएर शरीरमा लागूऔषधको नसा लगाउनेमा चाहिँ ट्रामाडोल विशेष हो, यसमा मिसाइने अन्य २ औषधि सामान्य हुन्।’ यो मिसावट प्रयोग गर्ने लत पनि लागूऔषधकै जस्तो हुने र नियमित प्रयोग गर्न नपाए निरास हुने, एकोहोरिने, मुर्छा पर्ने र ज्यानसमेत जोखिममा पर्ने अवस्थामा यसले पुर्‍याउने खतरा रहेको उनको भनाइ छ।

भियनास्थित इन्टरनेसनल न्यारकोटिक्स कन्ट्रोल बोर्ड (आइएनसिबी)ले ट्रामाडोलको नियन्त्रणका लागि निर्देशन दिइसकेको छ। तर औषधि पसलहरूकै मिलेमतोमा यसको दुरुपयोग भइरहेको पाएको उनले बताए। झापा, सप्तरी, सिरहालगायत तराईका जिल्लामा यसको दुरुपयोग बढी देखिएको संघले जनाएको छ। ‘नियन्त्रणका लागि संघले समेत पहल गरेपछि भने यसको दुरुपयोग घटेको छ’, साहले भने। कुन जिल्लामा यो औषधि कति खपत हुन्छ भन्नेबारे अहिले संघले अध्ययन गरिरहेको छ। मेडिकलहरूले चिकित्सकको सुझावबिनै औषधि दिने गरेकाले यसको खपत उच्च भएको हो। ट्रामाडोलको प्रति १० क्याप्सुललाई सय रुपैयाँ पर्छ।

मेचीका ४ जिल्लामध्ये झापामा यसको सबैभन्दा बढी दुरुपयोग भइरहेको संघको मेची कार्यालय प्रमुख नरेन्द्र बस्नेतले बताए। ‘झापाका कतिपय पसलमा ट्रामाडोल दिनमै २ हजार थान (प्रतिथान १० क्याप्सुल)सम्म बिक्री भइरहेको पाइयो,’ बस्नेतले भने, ‘चिकित्सक वा औषधि बिक्रेताले किन यति धेरै औषधि चाहियो भनेरसमेत क्रेतालाई नसोधिदिँदा दुरुपयोग चरम भएको हो।’ इलाममा चाहिँ ट्रामाडोलको दुरुपयोग नभएको औषधि पसल सञ्चालकहरूको दाबी छ।

‘सामान्य अवस्थामा भन्दा यसको प्रयोग बढेको छैन, ज्यादै न्यून मात्रै खपत हुन्छ,’ मेडिकल सञ्चालक विनोद थापाले भने, ‘अलि–अलि भएको यो औषधि पनि फिर्ता गरिसक्यौं, रिक्स लिएर किन बेच्ने भनेर।’ जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले जिल्लामा औषधिको मिसावटलाई लागूऔषधका रूपमा प्रयोग गरेको घटना अहिलेसम्म नआएको बताए।

संघले सबै औषधालयलाई आफूले बेचेको ट्रामाडोलको रेकर्ड र क्रेताको नामसमेत लेखेर राख्न निर्देशन दिइसकेको छ। कसैले निर्देशन पालना नगरेको पाइए पसल सिलबन्दी गर्ने, प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रियामा जाने चेतावनीसमेत संघले दिएको छ। मेचीका ४ जिल्लामध्ये झापामा ४ सय ५०, इलाममा ३४, पाँचथरमा १८ र ताप्लेजुङमा ६ मेडिकल सञ्चालनमा छन्। संघले देशभरका मेडिकल सञ्चालकलाई विभिन्न चरणमा औषधिको दुरुपयोगबारे तालिमसमेत दिएर सचेत गराएको पनि साहले जनाए।

प्रकाशित: ३१ जेष्ठ २०७४ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App