८ वैशाख २०८१ शनिबार
अन्य

‘सारी नै प्यारो थ्यो’

भुवन चन्द थापा, अभिनेत्री

जवानीमा म पातलो ज्यानकी थिएँ । चट्ट मिलेको ज्यानमा जस्तो पनि पहिरन सुहाउँथ्यो । त्यतिखेर म धेरैजसो सारी र हाफ ब्लाउज नै लगाउँथेँ । बाहिर हिँड्दा सुतीको धोतीमा हाफ ब्लाउज अनि कपाल बाटेर हिँड्थेँ । त्यतिबेला कपालमा पफ उठाउने फेसन थियो । तर, मलाई त कपाल सपक्क पारेरै हिँड्न मन पथ्र्यो । मेरो कपाल पनि लामो, मोटो र कालो थियो । कम्मरसम्मै पुग्थ्यो ।
धेरैले माथिदेखि तलसम्म एकदमै टाइट कुर्ता पनि लगाउँथे । मैले चाहिँ लगाइनँ । खुकुलो पन्जाबी कुर्तासुरुवालमै सहज मान्थेँ । फिल्म ‘आमा’मा मैले चौबन्दी चोलो, छिटको बुट्टा भएको फरिया लगाएकी थिएँ । फिल्ममा जे लगाउँथेँ अरू बेला पनि त्यस्तै पहिरनमा ठाँटिन्थेँ ।
त्यति धेरै मेकअप गर्दिनथेँ । शृंगारको नाममा पोन्ड्स क्रिम र गाजल लगाउँथेँ । गाजल चाहिँ मेरो सदाबहार नै हो । पहिलेदेखि अहिलेसम्म कहिल्यै छुटेको छैन गाजल ।
नेपालमा हुँदा कपाल बाटेरै हिँडे पनि जर्मनी जाँदा चाहिँ खुला कपाल छोड्न थालेँ । श्रीमान् कामको सिलसिलामा त्यहाँ जानुभएको थियो । म पनि सँगै गएँ । त्यहाँ गएपछि मैले कपाल काटेँ, खुला छोड्न थालेँ, प्यान्ट लगाउन थालेँ र चस्मा पनि लगाउँथेँ । ‘देश अनुसारको भेष’ भन्छन् नि त्यस्तै ।
दुई वर्षपछि नेपाल फर्किदा यहाँ पनि कपडाको लुज बेलीबटम प्यान्ट फेसनमा थियो । केही समय लगाएँ पनि । पछि आफैँलाई असजिलो लाग्न थाल्यो र उही सारीचोली लगाउन थालेँ ।
हाम्रो पालामा माला सिन्हा, साधनाजस्ता बलिउड अभिनेत्री थिए । एकचोटि मैले पनि साधना कटको हेयर स्टाइल गरेको थिएँ । ब्याग बोक्ने चलन चाहिँ खासै थिएन । भोजभतेरतिर जाँदा मात्र माथि सानो र तल प्यागोडा डिजाइन भएको ह्यान्ड ब्याग बोक्थेँ । घडी पनि खूब लगाउँथेँ पहिला । सानो हिल भएको जुत्ता लगाउँथेँ ।  त्यतिबेला बाटा कम्पनीका जुत्ताचप्पल बढी चल्थे ।
जाडोमा स्वेटर, कोट, ढाकाको खास्टो लगाउँथेँ । त्यतिखेर सारी, ब्लाउजमा ढाकाको खास्टो लगाउनेको सानै बेग्लै हुन्थ्यो । सुनका गहना लगाउन पनि मलाई खूब मन पथ्र्यो । त्यति बेलाको बेरुवा औँठी त अहिलेसम्म पनि लगाउँछु । बाघमुखी चुरा, पञ्चरंगी बाला पनि लगाउँथेँ ।
हिराका टप त्यस्तै मन पर्थे मलाई । रातो पोतेमा उनिएको तिलहरी र हरियो पोतेमा छड्के तिलहरी त अहिले पनि लगाउँछु ।
मेरो दराजमा प्रायः हलुका रङका पहिरन हुन्छन् । मलाई अकाशे रङ साह्रै मन पर्छ । विशेष अवसरबाहेक धेरैजसो सादा लुगा लगाउन रुचाउँछु । आफन्तको बिहे, व्रतबन्ध भोजतिर जाँदा रातो सारी लगाइन्छ । मन्दिर जाँदा पनि रातो रङको सारी लगाउँछु । ब्लाउज पनि साधारण डिजाइनका नै सिलाउँछु ।

समय बदलिएको छ । अहिले त डिजाइनरले कुन मान्छेलाई कस्तो पहिरन र डिजाइन सुहाउँछ त्यस्तै ड्रेस बनाइदिन्छन् । त्यो बेलामा डिजाइनर खासै हुन्थेन । जे पायो त्यही लगाइन्थ्यो ।

तस्बिरः रुकेश श्रेष्ठ

प्रकाशित: ३१ जेष्ठ २०७४ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App