७ वैशाख २०८१ शुक्रबार
अर्थ

आवश्यकता बन्दै निजी सवारी साधन

बैकर राधा शाहलाई यतिखेर आफूले पाएको जिम्मेवारीमा कुनै कमजोरी होला कि भन्नेबारे एकरत्ति चिन्ता छैन ।
एक प्राइभेट बैंकको कर्जा विभाग अन्तर्गत रहेर दुई वर्षदेखि काम गरिरहेकी शाहको आत्मविश्वास बढ्नुको कारण एकातिर कामको अनुभव हो भने अर्कातर्फ एक वर्षदेखि उनले प्रयोग गर्ने थालेको सवारी साधन पनि हो ।
२०७३ को नयाँ वर्षको अवसर पारेर ‘आइटेन’ कार किनेपछि उनलाई आफ्नो व्यक्तित्व र आत्मविश्वास बढेको उनको अनुभूति छ । ‘सरसर्ती हेर्दा मेरो कामसँग मैले प्रयोग गर्ने सवारी साधनको खासै अर्थ नहुनु पर्ने हो,’ उनले भनिन्, ‘तर, यथार्थमा त्यसो हुँदो रहेनछ । जो मैले बल्ल महसुस गर्दैछु ।’
प्रथम श्रेणीमा एमबिए उत्तीर्ण शाहका अनुसार काम गर्ने हरेक व्यक्तिका लागि उसको क्षमता मात्र सबै थोक होइन । ‘क्षमतालाई निखार्ने कार्यालयको वातावरण साथै व्यक्तिले उपभोग गर्ने सेवा, सुविधाले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ,’ उनले प्रस्ट पारिन्, ‘कार चढ्न थालेपछि मैले कार्यालयलाई गुणस्तरीय सेवा दिन सकिरहेको जस्तो लाग्छ । अन्य साथीले गर्ने व्यवहार पनि सम्मानजनक छ ।’
अध्ययन सकेलगत्तै बैंकमा भर्ना हुँदा शाहसँग निजी सवारी साधन थिएन । निजी साधन नहुँदा कार्यालयमा समयमै पुग्न सधैं उनलाई तनाव हुन्थ्यो । उनकै शब्दमा करिब एक वर्षमा औसत छ महिना जति कार्यालयमा ढिलो पुगेको भन्दै प्रबन्धकसँग बिवाद भइरह्यो । काठमाडौंमा सार्वजनिक सवारीको राम्रो व्यवस्था नभएका कारणले पनि समस्या झन् बढेको उनको अनुभव छ ।
‘सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने भन्दै पटकपटक बिभिन्न योजना ल्याए पनि त्यो केवल देखाउनलाई मात्र रहेछ भन्ने कुरा मैले नियमित एक वर्ष सार्वजनिक सवारी साधन चढ्दा थाहा पाएँ,’ उनले भनिन्, ‘सार्वजनिक सवारी प्रयोग गर्दाको पीडाले निजी सवारी साधन किन्न बाध्य भएँ ।’
निजी सवारी साधन किनेपछि भने उनलाई निकै सहज भएको छ । ‘यतिखेर न कार्यालयमा कोहीसँग विवाद हुन्छ, न त नियमित गर्नुपर्ने काममा नै समस्या छ,’ उनले भनिन्, ‘कामकाजीका लागि काठमाडौंमा निजी सवारी साधन विलासिताको साधन नभै नहुने आवश्यकता रहेछ ।’
स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का २०६५ देखि महिन्द्राको स्कोर्पियो चढ्छन् । करिब ५२ लाख रुपैयाँ मूल्यको स्कोर्पियो चढ्नु पनि उनको रहर भन्दा आवश्यकता हो । ‘मैले निजी गाडी चढ्नुको उद्देश्य लक्जरी कम आवश्यकता बढी हो,’ उनले भने, ‘यतिखेर काठमाडौंको सार्वजनिक सवारी राम्रो नभएकाले पनि धेरैलाई निजी सवारीतर्फ आकर्षित गरिरहेको छ ।’ काठमाडांैको बढ्दो धुलो, धुवाँबाट बच्न पनि सवारी साधन आवश्यक रहेको उनको भनाइ छ ।
दुई सय ३२ वटा स्वास्थ्य संस्था आवद्ध महासंघको नेतृत्व गर्ने जिम्मेवारी लिएपछि उनका लागि पनि निजी सवारी साधन झन् अनिवार्य भयो । वेलकेयर अस्पतालका अध्यक्षसमेत रहेका खड्का स्कोर्पियो चढ्नु अघि सेभरोले चढ्थे भने विद्यार्थीकालमा मोटरसाइकल । आफ्नै साधन नहुने हो भने दिनमै थुप्रो कार्यक्रम छुट्ने उनको भनाइ छ ।  खड्काको अनुभवमा काठमाडौंमा निजी सवारी साधन अनिवार्य भइसकेको छ । कम काम भएका व्यक्तिले जसोतसो सार्वजनिक सवारी चढेर काम चलाए पनि व्यस्त व्यक्तिका लागि सार्वजनिक यातायात उपयोगहीन भइरहेको धेरैको अनुभव छ ।
भक्तपुरको सानोठिमीमा बस्दै आएकी समाजशास्त्रकी शिक्षिका जानुका प्रसाईका अनुसार सार्वजनिक यातायातको भर पर्ने हो भने तोकिएको समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था छैन । त्रिभुवन विश्वविद्यालयकी शिक्षिका प्रसाई भन्छिन्, ‘काठमाडौंमा एकातिर कहाँ र कतिबेला जाम हुन्छ भन्ने पत्तो छैन भने अर्कातर्फ सार्वजनिक सवारी साधनवालाको चरम मनपरी छ ।’
बसका सबै सिट प्याक भइसक्दा समेत सवारी चालकले यात्रु कोचेर बोक्ने आशामा घण्टौं ढिलाइ गर्ने गरेको उनको अनुभव छ । ‘संसारभरि नै सार्वजनिक यातायात स्टेशनबाट कतिबेला छुट्ने र गन्तव्यमा कति बजे पुग्ने भन्ने नियम कडाइसाथ पालना गरिएको हुन्छ,’ उनले भनिन्, ‘नेपालमा भने सडकमा जतिबेर अलमल गरे पनि कुनै मतलव छैन । कानून कार्यान्वयन गर्नेहरू टुलुटुल मात्र हेर्छन् । सडकमा लाखौं सर्वसाधारणले पाइरहेको दुःखप्रति कसैको चासो छैन ।’
अर्कोतर्फ सार्वजनिक सवारी साधनमा कोचेर यात्रु चढाउने गरेका कारण बालबालिका, वृद्धवृद्धा र महिला असुरक्षित रहेको उनको भनाइ छ । ‘सार्वजनिक सवारी साधनको अवस्था हेर्दा कतिपय व्यक्ति महिलालाई दुव्र्यवहार गर्न बसमा चढेकै हुन् कि जस्तो लाग्छ,’ उनले भनिन्, ‘त्यस्ता असभ्य व्यक्तिसँग प्रतिवाद गर्दा उल्टै सार्वजनिक यातायातमा किन चढेको भन्दै चर्को कुरा गर्छन् ।’ काठमाडौंका सार्वजनिक सवारी साधनमा यात्रा गर्नु भनेको हरेक दिन रिसको मात्रा बढेको अनुभव हुन थालेपछि छ महिना अघि बाध्य भएर स्कुटी किनेको प्रसाई बताउँछिन् ।
‘आम्दानीको स्रोत जागिर मात्र भएकाले पैसा जम्मा भइसकेको थिएन,’ उनले भनिन्, ‘जति प्रयास गर्दा पनि सार्वजनिक यातायातमा एडजस्ट हुन सक्ने अवस्था नरहेपछि साथीसंगातीसँग ऋण लिएर स्कुटी खरिद गरेँ ।’
आफ्नै निजी सवारी साधन भएपछि भने निकै सहज भएको उनको अनुभव छ । ‘कहिलेकाही सडकमा केही उत्ताउला व्यक्तिहरूले जिस्क्याउन खोज्नेबाहेक यतिखेर अन्य समस्या अन्त्य भएका छन्,’ उनले भनिन्, ‘सबभन्दा महŒवपूर्ण कुरा विश्वविद्यालयमा समयमा पुग्न पाइएको छ । र, विद्यार्थीबाट आउने गुनासा निकै कम भएका छन् ।’ स्कुटी खरिद गरेपछि बढेको खर्च व्यवस्थापनका लागि उनले अतिरिक्त कक्षा थपेको समेत जानकारी दिइन् । ‘स्कुटी नहुँदा सार्वजनिक यातायातमा खर्च हुने समय यतिखेर अर्को कक्षाका लागि छुट्टाएकी छु,’ उनले भनिन्, ‘जसले गर्दा एकातिर बौद्धिक ज्ञान वृद्धि हुने अवसर पाएकी छु भने अर्कोतर्फ सार्वजनिक यातायातमा खेप्नु पर्ने यातना अन्त्य भएको छ ।’
भौगोलिक वनावटका दृष्टिकोणले काठमाडौंमा निजी सवारीको आवश्यकता पर्ने नदेखिए पनि यहाँको सार्वजनिक यातायात अव्यवस्थित रहेका कारण धेरैले निजी सवारीको आवश्यकता महसुस गरिरहेका छन् । संसारका ठूला–ठूला सहरमा बस्नेहरूले पूरै जीवन सार्वजनिक यातायात प्रयोग गरेर बिताउने गरे पनि नेपालमा एक÷दुई वर्षमै आजित हुनुको कारण अव्यस्थित ट्राफिक प्रणालीलाई मानिएको छ ।  
ट्राफिक प्रहरी महाशाखाका एसपी लोकेन्द्र मल्ल भन्छन्, ‘काठमाडौंमा सार्वजनिक यातायात राम्रो हुने हो भने अहिलेको जस्तो धेरै निजी साधान आवश्यक पर्दैनन् ।’ साथै उनले भौतिक पूर्वाधारको विकास हुन नसक्दा राजधानीको ट्राफिक जनताले सोचजस्तो हुन नसकेको बताए । ‘अहिले सडकमा जति व्यवस्थित गरिएको छ । त्यो केवल प्रहरीको उपस्थितिले हो,’ मल्लले भने, ‘यतिखेर निजी सवारीलाई थोरैले विलासिता र धेरैले आवश्यकताका कारण खरिद गरेका हुन् ।’
काठमाडौंको अस्तव्यस्त सार्वजनिक यातायात प्रणालीकै कारण हरेक वर्ष आवश्यकता भन्दा बढी सवारी साधन थपिने गरेको विज्ञहरूको भनाइ छ । सकभर सवारी साधन नथपौं भन्ने सोच भएका व्यक्तिलाई समेत सार्वजनिक सवारी साधन असहयोगी हुँदा निजी सवारी साधन थपिने क्रम बढेको बढ्यै छ । हाल काठमाडौंमा गुड्ने सवारी साधन यहाँको आवश्यकता भन्दा बढी भइसकेको पटकपटक विज्ञहरूले चेतावनी दिने गरेका छन् ।
पछिल्लो समयमा साझाले विभिन्न रुटमा बस चलाउन थालेपछि केही राहत भए पनि साझाको मात्र सेवा पर्याप्त नभएको सर्वसाधारणको गुनासो छ । साझा जस्तै ठूला बस थपेर २४ सै घण्टा सेवा दिनसके मात्र सार्वजनिक यातायात विश्वासिलो हुने सर्वसाधारण बताउँछन् । अधिकांश सर्वसाधारणको अनुभवमा सार्वजनिक सवारीको नाममा सडकमा गुड्ने सवारी साधनका चालकको व्यवहार रुखो र गैरजिम्मेवार छ । ‘यात्रुलाई गालीगलोज गर्नु र तोकिएको समयमा गाडी नगुडाउनु अहिलेका मुख्य समस्या हुन्,’ सुन्धारा–नयाँ ठिमी रुटका नियमित यात्रु रामजी श्रेष्ठको गुनासो छ । ट्राफिक प्रहरी महाशाखाका एसपी मल्लका अनुसार सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन साझाले कम्तीमा विभिन्न रुटमा सय वटा बस थप्नु पर्ने आवश्यकता छ ।
यातायात व्यवस्था कार्यालयका अनुसार आर्थिक वर्ष २०४६÷४७ देखि हालसम्म करिब चौबीस लाख सवारी साधन दर्ता हुँदा बाग्मती अञ्चलमा मात्र सवा एक लाख दर्ता भएका छन् । यीमध्ये सवैभन्दा बढी मोटरसाइकलको संख्या १९ लाख जति छ । देशभरि ५० हजार जति सार्वजनिक सवारी साधन गुड्ने सडकमा एक लाख ९२ हजार २८ कार, जीप, भ्यान गुड्छन् ।
निजी सवारी विलासिताको साटो नभई नहुने भएपछि कार, स्कुटी÷मोटरसाइकलको बिक्री बढिरहेको व्यवसायी बताउँछन् । आर्थिक वर्ष २०७१÷७२ मा १३ हजार पाँच सय ६० कार, भ्यान जीप दर्ता भएका थिए भने अर्को वर्ष आर्थिक वर्ष २०७२÷७३ मा २८ हजार तीन सय ६१ कार, भ्यान जीप थपिए । मोटरको संख्या पनि हरेक वर्ष वृद्धि भइरहेको छ ।
महिन्द्रा गाडीका मार्केटिङ म्यानेजर सिजन न्यौपाने भने पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री हुने क्रम घटेको बताउँछन् । ‘बैंकमा नगद अभाव भएपछि गाडी बिक्रीमा ५० प्रतिशतले घटेको छ,’ उनले भने, ‘राष्ट्र बैंकले  अहिलेको अवस्थालाई खुकुलो बनाएपछि पनि गाडीको बिक्री वृद्धि होला भन्ने अपेक्षा गरेका छौं ।’

पछिल्लो तीन वर्षमा थपिएका सवारी साधन
आर्थिक वर्ष    मोटरसाइकल    कार, जीप, भ्यान    बस
२०७०/७१    १,६३,९४५    ११,३७२    २,७७६
२०७१/७२    १,९६,३८३    १३,५६०    ३,७३७
२०७२/७३    २,६७,४३९    २८,३६१    ४,३५३
            
स्रोतः यातायात व्यवस्था विभाग

प्रकाशित: ३१ जेष्ठ २०७४ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App