६ वैशाख २०८१ बिहीबार
अर्थ

बढ्दो ‘मदिरा संस्कृति’

काठमाडौं– कुनै बेला ब्राह्मण समुदायमा बर्जित मदिरा अहिले बिहेबारी, भोजभतेरमा प्रयोगमा आउन थालेको छ। लुकिछिपी पिउनेले अहिले घरमै परिवारका सदस्यसँग बसेर मदिरा सेवन गर्छन्।

जनजाती समुदायले मात्र प्रयोग गर्ने मदिरा अहिले ब्राह्मण, क्षेत्रीले बिना हिच्किचावट उपयोग गर्न थालेका छन् । खुला अर्थतन्त्र, बढ्दो वैदेशिक रोजगार, आम्दानी वृद्धि, पश्चिमी संस्कृतिको अनुशरणले मदिरा प्रयोग गर्ने संस्कृतिको विकास भएको हो । पुराना सामाजिक मूल्य, मान्यता फेरिएसँगै परम्परागत संस्कार पनि तोडिएको छ । अहिले पुरुषमात्र होइन, महिलाको रोजाईमा ‘वाइन’ परेको छ ।

सफ्टदेखि हार्ड ड्रिङ्ससम्म आ–आफ्नो रुचि अनुसार सेवन गर्ने गरेका छन् । निम्नदेखि उच्च वर्गीय परिवारका सदस्यको खुसी साट्ने माध्यम मदिरा बनेको डिभाइन वाइनका प्रबन्ध निर्देशक सन्तोष खड्काले बताए । पुरुषले ह्विस्की, रम, रक्सी, वियर पिउने गरेकोमा पछिल्लो अहिले महिला, पुरुषले प्रयोग गर्न थालेको बताए ।

महिला पनि घरमा परिवारका सदस्यसँग बसेर वाइन सेवन गर्न थालेका छन् । पारिवारिक जमघटका अतिरिक्त विवाह, भोजभतेरमा मदिरा अनिवार्य जस्तै भएको छ । सहरी क्षेत्रमा पारिवारिक तथा साथिभाइबीच ‘गेट टुगेदर’ गर्दा मदिरा अनिवार्य भइसकेको छ । विगतमा जनजातिले शुभकार्यमा प्रयोग गर्ने मदिरा अहिले बिहेबारी, भोजभतेर, पार्टी लगायत विभिन समारोहमा प्रयोग हुन्छ । मदिरा खुसियाली साटासाट गर्दा, तनाबमा हुँदा, साथिभाइबीच रमाइलोसँग बिदा मनाउँदा, कुनै नयाँ काम सम्पन्न गर्दा या सुरु गर्दा मदिरा प्रयोग गर्ने चलन सुरु भएको छ ।

घरेलु, स्वदेशी उद्योगले उत्पादन गरेका र विदेशबाट आयात गरेका ब्राण्डेड रक्सीले आ–आफ्नै वर्चस्व जमाएका छन् । मदिरासहित पेय पदार्थ अतिथिलाई सत्कार गर्ने प्रचलनको विकास भएको छ । नेपाली बजारमा टेन्सबर्ग, नेपाल आइस, रुस्लान, ओल्ड दरबार, समस्र्वी एप्पल साइडर, टुवोर्ग बियर, लण्डन आईस, गोर्खा, काल्सवर्ग बियर, रुस्लान भोड्का, ओल्ड दरवार ह्विस्कीलगायत ब्राण्डले बजारमा हिस्सा विस्तार गरेका छन् ।

सबै कम्पनीले आ–आफ्नै ढंगले उपभोक्तालाई आकर्षित गरेका छन् । ‘ओल्ड दरवार’ नेपालमा उत्पादन हुनेमा महँगो र राम्रो ह्विस्की मानिन्छ । ‘ओल्ड दरवार’ प्रिमियम ह्विस्की भएकाले छोटो समयमा सबैको रोजाईमा परेको कम्पनीका ब्राण्ड मेनेजर विनय रन्जितकारले बताए । ‘दुई क्याटेगोरीमा उत्पादन गरिरहेका छौं,’ रन्जितकारले भने, ‘विदेशी ह्विस्कीको तुलनामा सस्तो पनि भएकाले उपभोक्ताले मन पराएका छन् ।’ हिस्की खाने कल्चर बढेको उनले बताए । ‘प्रतिस्पर्धी बजारमा छोटो समयमै बजारमा राम्रो हिस्सा ओगटेका छौं,’ उनले भने, ‘ह्विस्कीका पारखीको रोजाईमा ओल्ड दरबार परेको छ ।’

स्वदेशी उत्पादनलेमात्र नथेगेर वार्षिक करिब सवा करोड लिटर मदिरा विदेशबाट आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।  उपभोक्ताको आर्थिक क्षमता अनुसार न्यूनतम एक सय रूपैयाँ लिटरदेखि चार लाख रूपैयाँ लिटरसम्मका रक्सी नेपाली बजारमा बिक्री हुने गरेको छ । विश्वभरका चर्चित कम्पनीले नेपालमा रक्सी बिक्री गर्ने गरेको संघका अध्यक्ष रवि केसीले बताए । ‘विश्वभरबाट यहाँ रक्सी आउने गरेको छ,’ उनले भने, ‘मदिराको लागि वार्षिक अर्बौं रूपैयाँ विदेशिएको छ ।’

यहाँ घरेलु , स्वदेशी उद्योग र विदेशबाट आयात भएको रक्सी बिक्री हुन्छ । ‘सरकारले गैरकानुनी भने पनि करिब ३० प्रतिशत बजार हिस्सा घरेलु रक्सीले ओगटेको छ,’ उनले भने, ‘स्वदेशी उद्योगले बजार मागको ४५ प्रतिशत उत्पादन गरिरहेका छन् ।’ २५ प्रतिशत विदेशबाट आयात हुने केसीले बताए ।

स्वदेशी उद्योगले वार्षिक करिब २५ अर्ब रूपैयाँको कारोबार गर्छन् । नेपालमा रक्सी उत्पादन गर्ने ६ दर्जन भन्दा बढि उद्योग छन् । वाइन उत्पादन गर्ने उद्योगको संख्या पनि बढ्दै छ । ‘एउटा रक्सी उद्योग चलाउन न्यूनतम सात करोडदेखि तीन अर्ब रूपैयाँ लगानी भएको छ,’ केसीले भने, ‘मदिरा उद्योगमा निजी क्षेत्रले खर्बौं रूपैयाँ लगानी गरेको छ ।’ मदिराको खपत बढेसँगै लगानी पनि बढेको बताए । स्वदेशीसहित दर्जनौं विदेशी ब्राण्डका रक्सीले नेपाली बजारमा हिस्सा जमाउँदै आएका छन् । नेपाली उद्योगीले गुणस्तरीय मदिरा उत्पादन गरेकोले विदेशी मदिराको प्रतिस्थापन हुने क्रम बढेको उनले बताए । सरकारले मदिरामा लगाउँदै आएको कर वृद्धि दर निकै बढि भएको संघका अध्यक्ष केसीले बताए । ‘सरकारले हरेक वर्ष अन्तःशुल्क वढाउँदै आएको छ,’ उनले भने, ‘बढाउँदै जाँदा अत्यधिक हुने सम्भावना रहेकोले यसमा विचार गर्नुपर्छ ।’ सरकारले उपयुक्त नीति बनाएर रक्सी उद्योगलाई प्रोत्साहन गरे निर्यातको सम्भावना रहेको केसीले दाबी गरे । ‘ओल्ड दरबारलगायत विभिन्न कम्पनीले निर्यात गर्न थालेका छन्,’ उनले भने, ‘उद्योग सञ्चालनमा ल्याएर निर्यात गर्ने प्रचुर सम्भावना छ ।’ स्टकल्याण्ड मदिरा निर्यात गरेर आर्थिक समृद्धि भएको केसीले बताए ।

जनसंख्या वृद्धिकै अनुपातमा उपभोग गर्नेको संख्या पनि बढ्दै गएको छ । सफ्ट ड्रिङ्क्सका रूपमा रहेका वियरमा उपभोक्ताको माग अनुसार कम्पनीले अल्कोहलको मात्रा बढाएर ‘हार्ड ड्रिङ्क’ बनाउन थालेका छन् । वियरले अल्कोहलको मात्रा बढाएर सेवन गरेपछि लाग्ने (झम्म पार्ने) बनाएका हुन् । अरु सिजनको तुलनामा गर्मी मौसममा बियरको खपत बढ्छ ।  उपभोक्ताको क्रयशक्तिका आधारमा विभिन्न बियर उत्पादन गरिरहेको टाइगर ब्रुअरीका ब्राण्ड मेनेजर अरुण श्रेष्ठले बताए । टाइगर बु्रअरीले टेन्सबर्ग, अण्डन आइस र नेपाल टाइगर्स वियर उत्पादन गर्दै आएको छ । ‘प्रयोगकर्ताको खर्च गर्ने क्षमता अनुसार विभिन्न मूल्यमा बजारमा ल्याएका छौं,’ श्रेष्ठले भने, ‘बियर उपभोग गर्ने युवाको संख्या बढ्दो छ ।’ विगतमा वियरलाई सफ्ट ड्रिङ्कका रूपमा प्रयोग गर्ने गरेकोमा अहिले प्रयोगकर्ताले बियरलाई पनि हार्ड ड्रिङ्का रूपमा लिन थालेको श्रेष्ठले बताए । ‘युवाले वियर खाएपछि लाग्नुपर्छ भन्ने अपेक्षा गरेपछि अहिले अल्कोहलको मात्रा बढाएका छौं,’ श्रेष्ठले भने, ‘अब बियरमा साढे  ६ देखि ७ प्रतिशतसम्म अल्कोहलको मात्राको मिश्रण हुन्छ ।’ विगतमा साढे पाँच प्रतिशतसम्ममात्र अल्कोहल प्रयोग गर्ने गरेको श्रेष्ठले बताए । ‘बजारको माग अनुसार उत्पादनलाई परिमार्जन गर्दै आएका छौं,’ उनले भने, ‘नेपाली बजारको तेस्रो हिस्सा ओगटेका छौं ।

ट्राफिक प्रहरीले मापसे चेकजाँच गर्दा प्रयोगकर्तालाई केही असुविधा भएको व्यवसायी बताउँछन् । यहाँ करिब एक सय मदिरा उद्योग रहेको मदिरा उत्पादन संघले जनाएको छ । न्यूनतम करिब एक करोडदेखि तीन अर्ब रूपैयाँसम्मको लगानीमा उद्योग खुलेका छन् ।

मदिरा सरकारले राजस्व संकलन गर्ने गतिलो माध्यम पनि बनेको छ । चालू आर्थिक वर्षमा करिब एक दर्जन बढि रक्सी उद्योग सञ्चालनमा आउने तयारीमा  छन् । वार्षिक करिब साढे पाँच करोड मदिरा उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार तयार गरिरहेको उद्योग विभागले जनाएको छ । करिब डेढ अर्ब रूपैयाँ गर्ने तयारी गरेका छन् । रौतहटमा सुधा डिस्टिलरी, नवलपसारीमा सागर डिस्टिलरी, तनहुँको आँबुखैरनीमा सूर्य ब्लेन्डर्स प्रालि , नवलपसारीमा अरुणा डिस्टिलरी, सर्लाहीमा अभिनव डिस्टिलरी , काभ्रेमा शिखर लिकर्स एन्ड डिस्टिलरी, झापामा मनास्लु डिस्टिलरी , नवलपसारीमा लिकर्स प्रालि, महोत्तरीमा नटराज स्प्रिट इन्डस्ट्रिज प्रालि , फार वेस्ट लिकर्स प्रालि उद्योग सञ्चालन गर्ने तयारी छ ।

साना लगानीका वाइन उद्योगले पनि क्षमता विस्तार गरेका छन् । वार्षिक १५ हजार बोटल वाइन उत्पादन गर्दै आएको मकालु वाइन इन्डस्ट्रिज प्रालिले क्षमता बढाएर अहिले वार्षिक साढे तीन लाख बोटल पु¥याएको छ ।  करिब ४० लाखमा सुरु गरेको उद्योगमा अहिले करिब तीन करोड रूपैयाँभन्दा बढि लगानी पुगेको छ । वार्षिक करिब नौं करोड रूपैयाँको वाइन बिक्री भएको मकालु वाइन इन्डस्ट्रिज प्रालिका निर्देशक आश्रय रन्जितकारले बताए । पुरुषहरुले हार्डड्रिंक गर्ने भएकोले लेडिजले धेरै मन पराउने गरेको उनले बताए । स्वदेशी वाइनको बजारमा माग र लोकप्रियता बढेपछि लगानीकर्ता पनि उत्साहित छन् । अहिले तीननजुरे वाइन इन्ड्रस्ट्रिज प्रालि, मकालु वाइन इन्डस्ट्रिज प्रालि, स्नो म्यान वाइनरी प्रालि, महाकाली वाइन प्रालि, डिभाइन वाइन, डाँडाघरे वाइन, युनिभर्सल वाइन इन्डस्ट्रिज, रोयल काठमान्डु हिमालय वेभरज प्रालि लगायतका डेढ दर्जन कम्पनीले वाइन उत्पादन गर्दै आएका छन् । नासपति, अंगुरलगायत फलफूल, हर्वल हनी र यार्सागुम्बा समिश्रण गरेर उत्पादन गरेको वाइन प्रयोगकर्ताले रुचाएका छन् । लिमिटमा प्रयोग गरे बियर, वाइन, हिस्की लगायतका मदिराले स्वास्थ्य राम्रो भए पनि अत्यधिक प्रयोग गरे विभिन्न प्रकारका रोगको खतरा रहेको चिकित्सक बताउँछन् । अत्यधिक रक्सी सेवन गर्नेलाई मुख तथा घाँटीको क्यान्सर हुने जोखिम, मुटुरोग, उच्च रक्तचाप, पाचन क्रियामा गडबडी, अनुहार फुल्ने, छाला चाउरिने, निद्रा नलाग्ने र निराशा बढ्ने समस्या देखिने उनीहरू बताउँछन् ।

 

 

 

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App