coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धानको पुराना जात जोगाउन अभियान

चितवन- जेठको अन्तिम हप्ता चितवनका धेरै किसान धानको बीउ राख्न ब्याड तयार गर्ने काममा व्यस्त छन्। फूलबारीका किसान चन्द्रप्रसाद अधिकारीलाई पनि ब्याड बनाउने त्यस्तै चटारो छ। तर अरु किसानको भन्दा उनको ब्याड राख्ने परिपाटी अलि फरक छ। असार–साउनमा रोप्नका लागि धेरैले एक वा दुई जातका धानको बीउको ब्याड तयार गर्छन्। अधिकारीले भने एक सय तीन जातका धानको बीउ ब्याडमा छरिसकेका छन्।

धानका सयभन्दा बढी जातका बीउ किन रोप्दै छन् उनी ? जवाफमा चन्द्रप्रसाद भन्छन्, ‘घरमा भात खाने वा बेचेर आम्दानी गरिहाल्न मात्रै मैले यो कामका गरेको हैन । पुराना धानको बीउ जोगाउनु पर्छ भन्ने लागेर गरेको हुँ ।’ अहिले स्वदेशी धानको बीउ प्रयोग गर्नेभन्दा पनि भारतबाट आयात हुने हाइब्रिड जातका धान रोप्ने चलन बढेर गएको छ । पुराना धानका जात हराउँदै गएका छन् ।

चितवनमा प्रांगारिक खेती गर्ने अगुवा किसानका रुपमा परिचित अधिकारीले २०६५ सालदेखि हराउन थालेका रैथाने र विकासे जातका धानको बीउ संरक्षण गर्ने अभियान सुरु गरेका हुन् । सुरुमा उनले नौवटा जातको धानको बीउ संकलन गरेर रोप्न सुरु गरेका थिए । विभिन्न जिल्ला जाँदा पुराना धानका बीउहरु संकलन गरेर ल्याउन थाले । जसले गर्दा १० वर्ष पुग्दा नपुग्दै जातको संख्या सय नाघेको छ ।

अछामी मसिनो, दूधराज, मनसरा, आँपझोत्ते जस्ता हराउँदै गएका धान उनले राखेका छन् । विकासे जातको भए पनि मनसुली धान अचेल कमै रोप्ने गरिन्छ । यस्ता जात पनि उनले जोगाएका छन् । स्थानीय जातको अनदी धान हराउँदै गएको छ । उनले पहाडिया र रातो अनदी धानको बीउ पनि जोगाएर राखेका छन् । प्रांगारिक कृषिका लागि  बीउ संरक्षण पनि मुख्य पाटो भएका कारण उनले यसमा रुचि दिएका हुन्।

‘स्थानीय र पुराना जातका बीउमा रोग किराको प्रकोप पनि कम नै हुन्छ । बीउ आफैंसँग हुनु भनेको किसानका लागि फाइदाको विषय पनि हो । तर अचेल धान रोप्ने बेलामा बजार गएर पोकामा राखेको बीउ किन्ने र रोपेपछि अनेक खालका रोग किरा नियन्त्रण गर्न रासायनिक विषादी राख्ने क्रम बढेर गएको देख्दा दुःख लाग्छ,’ अधिकारीले भने । उनले आफ्नो खेतीमा रासायनिक मल विषादी प्रयोग गर्दैनन् ।

धानको बीउ राख्न उनले तीन मिटर फराकिला र चार मिटर लम्बाइका ब्याड तयार गरेका छन्। रोपेपछि हुर्केर र पाकेर धान स्याहारेपछि केही घरमै खाए पनि प्रत्येक जातको पाँचदेखि १० किलो धान बीउका लागि जोगाएर राख्छन् । केही जातको धानको बीउ बिक्री पनि हुन्छ । जस्तै उनले यो पटक घिउ पुरी, झुम्की, मिठाइ, आछामी मसिनो धानको बीउ बिक्री पनि गरे । एकदेखि पाँच किलोसम्म बीउ किन्न आउने गरेका छन्।

यस्ता पुराना जातका धानको बीउ बेच्दा उनले किलोको ८० देखि सय रुपैयाँसम्म मूल्य लिने गरेका छन्। उनले माटोका भाँडा र टिनका डब्बामा बीउ जोगाएर राख्ने गरेका छन् । किराहरुले नसताए पनि मुसाले दुःख दिने गरेको अधिकारीको अनुभव छ।

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App