८ वैशाख २०८१ शनिबार
राजनीति

ठूला तीन दलमा टिकटका लागि हानथाप

रौतहट-रौतहटका तीन ठूला पार्टीमा टिकट हात पार्न आन्तरिक होडबाजी  देखिएको छ। नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र आकांक्षी धेरै हुँदा स्थानीय तहको प्रमुख र उपप्रमुखमा टिकट वितरणमा समस्या देखिएको छ।

पहिलेका विभिन्न गाविस मिलेर गाउँपालिका तथा नगरपालिकाको घोषणा गरिएपछि एकीकृत स्थानीय तहमा वडाध्यक्षदेखि प्रमुखसम्म आकांक्षी धेरै देखिएका छन् । सबै आकांक्षीलाई चित्त बुझाएर टिकट दिन ती ठूला दललाई सकस परेको हो ।

तीन नगरपालिका र तेह्र गाउँपालिका रहेको रौतहटमा नेकपा एमालेले तीनवटै नगरपालिकाको मेयर पदको उम्मेदवारको मात्र टुंगो लगाएको छ भने केही गाउँपालिकाको प्रमुखको टुंगो लगाए पनि अधिकांश स्थानीय तहका वडाध्यक्षदेखि प्रमुखसम्म टिकटको टुंगो लगाउन नसक्दा निर्वाचनको प्रचारप्रसारले गति लिन सकेको छैन । वडाध्यक्ष र उपमेयरको टुंगो लगाउन नसक्दा प्रचारप्रसारले गति लिन नसकेको गरुडा नगरपालिकाका मेयर पदका उम्मेदवार शेख कलिमुल्लाहले बताए । टिकटका लागि आकांक्षी धेरै हुँदा सन्तुलन जिल्ला तहमा सन्तुलन मिलाउन नसक्दा प्रदेश समिति हुँदै स्थायी समितिमा पठाउनु परेको एमाले स्रोतको भनाइ छ ।

नेपाली कांग्रेसले अहिलेसम्म कुनै पनि नगरपालिका र गाउँपालिकाको वडाध्यक्षदेखि प्रमुखसम्मको उम्मेदवारको टुंगो लगाउन सकेको छैन । नेपाली कांग्रेसको जिल्ला कार्यालयमा दुई हप्तासम्म निरन्तर छलफल चलाइँदा पनि आकांक्षीको चित्त बुझाउन मुस्किल भइरहेकाले प्रदेश समितिबाट अधिकांश प्रमुख र उपप्रमुखको टिकटको टुंगो लगाउने अवस्थाको सिर्जना भएको छ । चुनावमा होमिइ सक्नुपर्ने बेलामा पनि देशको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टीमा आकांक्षी धेरै हुँदा नेपाली कांग्रेसले टिकट वितरणमा ढिलाइ गरेको बुझिएको छ । सहमतिको आन्तरिक प्रयासमा कांग्रेस घनिभूत छलफलमा रहेको जिल्ला सभापति कृष्ण प्रसाद यादवले बताए ।

मधेसको पक्षमा सकारात्मक रूपमा निरन्तर आवाज उठाउन र सहानुभूति राख्ने पार्टीको रूपमा जिल्लामा आफूलाई परिचित गराइरहेको नेकपा माओवादी केन्द्रले पनि चन्द्रपुर नगरपालिकाको मेयर बाहेक अन्य पदको उम्मेदवारको टुंगो लगाउन सकेको छैन । पार्टीमा जनयुद्धको समयदेखि सबै थोक लगानी गरेकालाई टिकट दिने कि जनाधार भएका र नवप्रवेशीमध्ये चुनाव जित्न सक्ने हैसियत राख्ने उम्मेदवारलाई टिकट दिने भन्ने विषयमा पार्टीभित्र देखिएको दुई ध्रुबले गर्दा टिकट वितरणमा ढिलाइ भएको माओवादी केन्द्र श्रोतको भनाइ छ । गाउँ गाउँमा गरिब र दलितमा बलियो जनाधार भएकोले माओवादीभित्र टिकटका आकांक्षी धेरै भएका हुन् । टिकटका लागि जिल्लादेखि केन्द्रसम्म पहुँचको आधारमा आफूलाई धेरै जनाले उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गरिरहेको पाइएको छ । माओवादी केन्द्रमा हरेकजसो स्थानीय तहमा आधा दर्जनले आफूलाई प्रमुख र उपप्रमुखको दाबी गरिरहँदा उम्मेदवार छनौटमा अप्ठ्यारो भएको माओवादी केन्द्र स्रोतको दाबी छ ।

                यता मधेसवादी शक्ति भनी परिचित दुई ठूला पार्टीहरू दुई ध्रुवमा विभाजित भएपछि मधेसी दलप्रति आस्था राख्ने सर्वसाधारण अन्योललमा परेका छन् । हिजोसम्मसँगै आन्दोलन गरेकामध्ये संघीय समाजवादी फोरम नेपालले चुनावलाई नै आन्दोलनको रूपमा लिनुपर्ने र राजपा नेपालले सडक संघर्षलाई अधिकार प्राप्तिको विकल्प ठानेपछि सर्वसाधारण मतदाताको मानसिकता विभाजित भएको हो । फोरम नेपालले भने स्थानीय निकायका लागि उम्मेदवार छनौट गर्दै संगठनको तिब्र विस्तारमा लागेका छन् । बिभिन्न जिल्लाका पहिचानयुक्त अनुहारलाई पार्टीभित्र धमाधम भिœ्याउँदै फोरमले संगठन विस्तार र उम्मेदवारको छनौट एकसाथ गरिरहेको छ तर स्थानीय तहमा उम्मेदवार बन्ने आकांक्षीको संख्या धेरै भएपछि फोरमलाई पनि उम्मेदवार छनौट गर्न हम्मेहम्मे परेको छ । फोरमले अहिलेसम्म गौर नगरपालिकाबाहेक अन्य कुनै पनि स्थानीय तहमा उम्मेदवारको घोषणा गर्न नसक्दा चुनावको प्रचार अभियान नै केही हदसम्म प्रभावित भएको फोरम कार्यकर्ताहरू नै बताउँछन् ।

राष्ट्रिय जनता पार्टी राजपा नेपाल भने सडक संघर्षमा रहेको छ । संविधान संशोधनबिना चुनावमा कुनै पनि हालतमा नजाने अडानसहित सडक आन्दोलन गरिरहेको राजपामा पनि स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै रहेका छन् । अहिले चुनाव भएमा राजपाका धेरै समर्थकले स्वतन्त्र उम्मेदवारको हैसियतले भाग लिने गाइँगुइँ पनि चल्न थालेको छ ।

रौतहटको थारू बहुल क्षेत्रमा आफ्नो संगठन बलियो रहेकाले फोरम लोकतान्त्रिकले निर्वाचनको तयारीका लागि सम्पूर्ण शक्ति लगाएकोे छ । मधेसको आन्दोलनप्रति सहानुभूति राखेर फोरम लोकतान्त्रिकले स्थानीय तहमा उम्मेदवार छनौट धमाधम गरिरहेको बताइएको छ ।

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App