coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदानको प्रतीक्षामा रोल्पाली

रोल्पा- सदरमुकामबाट २६ कोस टाढा पश्चिमउत्तर रोल्पाको दुईखोली गाउँपालिका यतिबेला चुनावमय भएको छ। फरकफरक दलले दिनहुँ आयोजना गर्ने चुनावी कार्यक्रम, घरदैलो अभियान, झन्डासहितका गाडी, मोटरसाइकल र्‍यालीलगायतले यहाँ छुट्टै रौनक थपेको छ।

खोलाकिनारमा ‘गाईगोठाला’ आएका इरिवाङ– ९ का हिमबहादुर खत्री र ‘नाति गोठाला’ हिँडेका सोही ठाउँका रामलाल बुढा चुनावकै छलफलमा थिए ।

चुनाव भएपछि गाउँमा नयाँ सरकार, नयाँ नीति, योजना आउला, शान्ति होला,’ हातमा झन्डा उचालेर नाति काँधमा बोकेका रामलालले भने ।

‘भोट माग्न आइरहन्छन् । राम्रो गर्लान् जस्तो गर्छन् । स्कुल, बाटो बनाउलान् कि ? अरू जे भए पनि थोरै काम लिन सदरमुकाम लिवाङसम्म गइरहन नपर्ने भो । पुत्लाखोला (गाउँपालिका केन्द्र) गए पुग्ने भो । बिहान गयो काम गरेर साँझ घर बास बस्न आइन्छ,’  पञ्चायतकालमा वडा सदस्य रहेका हिमबहादुुर खत्रीले सुनाए ।

हिमबहादुर र रामलाल फरकफरक चिह्नमा भोट खसाल्ने मतदाता भए पनि स्थानीय साझा मुद्दामा भने एउटै मुख बनाएर छलफल गर्दै थिए । ‘भोट कसलाई दिने ?’ प्रश्न खस्न नपाउँदै एउटाले ‘रूख’ रोजे भने अर्काले ‘गोलाकारभित्रको हँसिया हथौडा ।’

‘जसले जिते पनि राम्रो गरे हुन्थ्यो । गर्नुपर्ने धेरै छ । अब त गर्लान् कि ? छेउमा त्यति धेरै अड्डा आउने भा’छन् । ठूला हाकिम आउलान् । चुनाव जित्नेहरू पनि हुन्छन् । लाजकाजले पनि काम त होला,’ रामलालले थपे ।

‘हो त उइले लडाइँ गर्दागर्दै क्यै भएन । अब त पक्कै हुन्छ होला । गरेनन् भने त भोट हाम्ले दिया हो । भन्न’ नि पाइएला,’ हिमबहादुरले हौसिँदै भने ।

गाउँमा पसिना बगाएर मानोमुठी खाने रामलाल र हिमबहादुरजस्ता धेरैजना चुनाव आपसी समझदारीमै भए हुन्थ्यो भन्ने पक्षमा छन् । ‘उहिले धेरै लडाइँ भोगियो । काम केही भएन । अस्तव्यस्त भयो । अब सबै मिलेर गर्नुपर्छ । हामीले त चुनाव कुरेका छौं,’ दुवैले एउटै आबाजमा भने ।

एक नगरपालिका, ९ गाउँपालिका रहेको रोल्पामा चुनाव नजिकिँदै जाँदा स्थानीय नेता, कार्यकर्ता तथा उम्मेदवार घरदैलो, ¥याली, चुनावी सभा आदिमा व्यस्त छन् ।

 

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App