६ वैशाख २०८१ बिहीबार
खेल

ब्याटिङ संरचना परिवर्तन गर्दै इङ्ल्यान्ड

कार्डिफ(रोयटर्स)– इङ्ल्यान्डका कप्तान इयान मोर्गानले च्याम्पियन ट्रफीअन्तर्गत बुधबार हुने पाकिस्तानविरुद्धको सेमिफाइनलमा शीर्षक्रमको ब्याटिङ संरचनामा परिवर्तन गर्ने संकेत गरेका छन्।

कप्तान मोर्गानले लयमा नरहेका जसन रोयको स्थानमा जोनी बेरस्टोलाई टोलीमा समेट्ने सङ्केत दिएका थिए। ‘टोलीमा परिवर्तन हुने सम्भावना छ,’ मोर्गानले थपे, ‘बेरस्टो हाम्रा अर्का खेलाडी हुन्। उनी उत्कृष्ट ब्याट्सम्यान हुन्। यस्तो अवस्थामा उनले धेरै राम्रो गर्न सक्छन्। उनी टोलीमा आएर आफूलाई प्रमाणित गर्न चाहन्छन्। त्यसका लागि उनलाई राम्रो मौका हुन सक्छ।’

दक्षिण अफ्रिकामा जन्मिएका रोयले पछिल्लो ८ एकदिवसीय खेलमा ५१ रन जोडेका छन् । समूह चरणमा अस्ट्रेलियाविरुद्धको अन्तिम खेलमा रोय दोस्रो बलमै आउट भएका थिए ।

गत महिना काउन्टी क्रिकेटमा योर्कसायरबाट डुर्हमविरुद्ध १ सय १३ बलमा १ सय ७४ रन जोडेका बेरस्टो करियरकै उच्च लयमा छन् । तर २७ वर्षे बेरस्टोले एकदिवसीय टोलीमा स्थान बनाएका छन् । इङ्ल्यान्डले उनलाई स्थान दिन मोइन अलीलाई अगाडि पठाउने सम्भावना छ।

पछिल्लो १२ एक दिवसीयमध्ये ११ मा विजय हासिल गरेको इङ्ल्यान्ड प्रतियोगितामा अपराजित टोली हो । त्यस्तै इङ्ल्यान्डले पहिलो ब्याटिङ गरेको पछिल्लो ६ खेलमा ३ सय माथिको स्कोर बनाएको छ ।

घरेलु टोलीका रोयले लय भेट्टाउन नसके पनि अन्य ब्याट्सम्यान लयमा रहेका छन् । एलेक्स हल्स (१५१), जोए रुट (२१२), इयान मोर्गान (१७५), बेन स्टोक्स (१५०) धेरै रन बनाउने शीर्ष ११ खेलाडीमध्येका हुन् । २०१५ मा अस्ट्रेलियामा भएको विश्वकपबाट बाहिरिएपछिको ४७ एकदिवसीय खेलमा इङ्ल्यान्डका ब्याट्सम्यानले २५ शतक पूरा गरिसकेका छन् ।

पाकिस्तानले आठौं वरीयतामा रहेर प्रतियोगितामा सेमिफाइनल पुगेकोे थियो । सोमबार श्रीलंकालाई ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको पाकिस्तानलाई अविश्वसनीय टोलीका रूपमा हेरिएको छ ।

इङ्ल्यान्डका कप्तान मोर्गान गत वर्ष कार्डिफमा पाकिस्तानसँग बेहोरेको हारबाट सजग छन् । उनले खेलमा पाकिस्तानले ३ सय ३ रनको लक्ष्य पछ्याएर जित्दा सरफराज अहमदले ९० रन बनाएका थिए । पाकिस्तानका प्रशिक्षक मिक्की अर्थरले श्रीलंकाविरुद्ध अविजित ६१ रन बनाएका कप्तान सरफराजबाट अझै धेरै रन बन्ने आशा गरेका छन् ।

‘कप्तान सरफराज र शोएब मलिकले राम्रो ब्याटिङ गर्नुपर्छ । हामी मध्यक्रमको ब्याटिङमा बढी ध्यान केन्द्रित गरिरहेका छौं,’ पाकिस्तानका प्रशिक्षक अर्थरले थपे, ‘तर खेलाडीले कडा मिहिनेत गरिरहेका छन् । एक टोलीमा रूपमा हामीले राम्रो गरिरहेका छौं ।’

अविश्वसनीय टोलीको रुरूमा लिएको बारे अर्थरले भने, ‘कहिलेकाहीँ, अविश्वसनीय प्रदर्शन हाम्रो बलियो पक्ष बनेको छ ।’

२०१५ मा अस्ट्रेलियामा भएको विश्वकपबाट बाहिरिएपछिको ४७ एकदिवसीय खेलमा इङ्ल्यान्डका ब्याट्सम्यानले २५ शतक पूरा गरिसकेका छन् ।

 

 

 

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App