७ वैशाख २०८१ शुक्रबार
अर्थ

वीरगन्जलाई उछिन्यो भैरहवा भन्सारले, लक्ष्यभन्दा ८ अर्ब बढी राजस्व संकलन

रेखा भुसाल

भैरहवा– भैरहवा भन्सार कार्यालयले राजश्व संकलनमा यसपटक देशभरका सबै भन्सारलार्इ उछिनेको छ। गत आर्थिक वर्षमा यो नाकाबाट सवारी साधनको आयात ह्वात्तै बढेपछि प्रमुख व्यापारिक नाका वीरगन्जलाई पनि उछिन्दै भैरहवाले सबैभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो।

आर्थिक वर्ष २०७२/०७३ मा भैरहवा भन्सारले ६१ अर्ब ९१ करोड २२ लाख ८१ हजार राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७१/२०७२ मा भौरहवा भन्सारले २५ अर्ब ९७ करोड २६ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।  

यसपटक वीरगन्ज भन्सारले ५५ अर्ब ६१ करोड रुपैयाँ राजस्व उठाएको छ। गत वर्षको मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दीले वीरगञ्ज, विराटनगरलगायत तराइका अधिकांश नाका झण्डै ६ महिना ठप्प भए। तर भैरहवा तुलनात्मक रुपमा शान्त र सहज रह्यो। जसका कारण वीरगन्जलगायतका अन्य नाकाबाट आयात हुने अटो, इन्धन तथा औद्योगिक कच्चा पदार्थका लोडेड गाडीहरु रिरुट गरेर भैरहवा ल्याइएको थियो।

ती मध्ये केही ठूला आयात कर्ता तथा टाटा, महिन्द्रा, हुन्डाइ, मारुती सुजुकी लगायतका कम्पनीका गाडी आयातकर्ताले बेलहिया नाकालाइनै निरन्तरता दिएकाले यस पटक राजस्वमा अत्यधिक बृद्धि भएको भैरहवा भन्सार प्रमुख लावण्यप्रसाद ढकालले बताए।

‘यो वर्ष साढे तीस अर्ब बढी राजस्व सवारी साधानबाट मात्रै उठेको छ,’ भन्सार प्रमुख ढकालले भने। उनका अनुसार अघिल्ला वर्षहरुमा वीरगन्ज नाकाबाट नेपाल भित्रने महेन्द्रा, टाटा, हुन्डाइ, मारुती सुजुकी जस्ता कम्पनीका गाडीहरु यसपटक भैरहवा नाकाहुँदै नेपाल भित्रिएको र ती कम्पनीले अहिले पनि भैरहवालाई नै निरन्तरता दिएका छन्।

गत आर्थिक वर्षका लागि भन्सार विभागले भैरहवालाई  ३० अर्बको वार्षीक लक्ष्य दिएको थियो। तर मधेश आन्दोलनका बेला र त्यसपछि पनि बेलहिया बैकल्पिक नाकाको रुपमा प्रयोग हुन थालेपछि विभागले लक्ष्य थप गरी वार्षिक ५२ अर्ब ९४ करोड १२ लाख लक्ष्य तोकिदिएको थियो। विभागले दिएको लक्ष्य भन्दा ८ अर्ब ९७ करोड बढी राजस्व संकलन भएको छ। संकलित कुल राजस्व मध्ये भन्सार तर्फ २५ अर्ब ६२ करोड ४२ लाख संकलन भएको छ। यो रकम लक्ष्यको १९ प्रतिशतले बढी हो। भन्सार तर्फ २१ अर्ब ३७ करोड ११ लाख असुलीको लक्ष्य तोकिएको थियो। त्यस्तै  मूल्य अभिवृद्धि करतर्फ २० अर्ब ७२ करोड २५ लाख  र अन्तशुल्कबाट १५ अर्ब ५६ करोड १५ लाख  असुली भएको छ। अन्तःशुल्कतर्फ लक्ष्यको दोब्बर राजस्व असुलेको भैरहवा भन्सारले मुल्यअभिबृद्धि करतर्फ भने लक्ष्य भेट्टाउन सकेन। अन्तःशुल्कमा लक्ष्यको ८७ प्रतिशत मात्र राजस्व उठेको छ।
 
सबैभन्दा धेरै खाद्यान्न तथा तरकारी आयात हुने नाकाको रुपमा परिचित भैरहवा भन्सारबाट यसपटक एक नम्बरमा सवारी साधन आयात भएको छ । दोश्रोमा फलामजन्य औधोगिक कच्चा पदार्थ एम.एस विलेट, तेश्रो ग्लेज टाइल, खाद्यान्न, पेट्रोलियम पदार्थ, सिमेन्ट तथा क्लिङ्कर, एलोपेथिक औषधि, टायल, मार्बल, बिद्युतीय सामाग्री, आलुप्याजलगायतका वस्तुको आयात उच्च छ। यो नाकाबाट आयातको तुलनामा निर्यात भने नगण्य छ। भैरहवा नाकाबाट अदुवा, दालचिनी जस्ता केही जडीबुटीजन्य वस्तु तथा फेब्रिक सेन्थेटिक, हस्तकलाका सामान, रद्दी कागजजस्ता सिमित वस्तु थोरै परिमाणमा निकासी हुन्छ।

 

प्रकाशित: ५ श्रावण २०७३ ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App