७ वैशाख २०८१ शुक्रबार
कला

'डा. खाते' ट्रेलर सार्वजनिक

काठमाडौं- सडक बालबालिकालाई उचित शिक्षादीक्षा दिएमा उनीहरू भविष्यमा डाक्टर बन्न सक्छन् भन्ने सन्देश दिन निर्माण गरिएको फिल्म 'डाक्टर खाते' को ट्रेलर सार्वजनिक भएको छ। आगामी साउन ६ गतेबाट रिलिज हुन लागेको फिल्मको सोमबार पत्रकारमाझ ट्रेलर सार्वजनिक गरिएको हो।

कार्यक्रममा फिल्मकी अभिनेत्री तथा निर्मात्री रोशनी केसीले अमेरिकाका तीनवटा राज्यसँगै अन्य मुलुकमा फिल्म प्रदर्शनपछि नेपालमा रिलिज गर्न लागिएको बताइन्। 'नेपाली समाजले अझै पनि सडक बालबालिकालाई राम्रो दृष्टिकोणले हेर्दैन। त्यसकारण नेपाल सरकार र समाजले ती उपेक्षित बालबालिकालाई संरक्षण गर्न आवश्यक छ भन्ने विषयमा ध्यानाकर्षण गराउन फिल्म बनाएका हौं,' रोशनीले भनिन्, 'फिल्म रिलिज भएपछि प्राप्त आम्दानीको केही प्रतिशत रकम सडक बालबालिकालाई पनि सहयोग गर्ने योजना बनाएका छौं।'

कलाकार सम्राट सापकोटाले फिल्मको कथावस्तु राम्रो लागेकाले आफूले अभिनय गरेको खुलाए। कास्टिङ निर्देशक डब्बु क्षेत्रीले सडक बालबालिकालाई फिल्ममा अभिनय गराउनु निकै गाह्रो काम भएको बताए।

चलचित्र विकास बोर्डका सदस्य तथा एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले फिल्म हेरेपछि फिल्म वितरणमा रुचि जागेको बताए। नेपाल सांस्कृतिक संघका सभापति तीर्थ थापाले नेपालमा मौलिक कथामा फिल्म बनिरहेकोमा खुसी व्यक्त गरे।

रविराज अर्यालको निर्देशनमा बनेको फिल्ममा शिल्पा पोखरेल, रोशनी केसी, सम्राट सापकोटा, विजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपालीलगायतका कलाकारको अभिनय छ। जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन, योगेश्वर अमात्यको गायन, सचिन सिंहको संगीत, तारा थापा 'किम्भे' को सम्पादन छ। आरआर ड्रिमवर्ड इन्टरटेनमेन्टले निर्माण गरेको फिल्मको छायांकन पोखराको धिताल गाउँ र काठमाडौंमा गरिएको हो।

प्रकाशित: ३० जेष्ठ २०७४ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App