coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालको घरेलु मैदानमा जित्ने लक्ष्य

काठमाडौं- नेपालले एएफसी एसिया कप २०१९ को छनोट खेलमा मंगबलार यमनसँग प्रतिस्पर्धा गर्दै छ। घरेलु मैदानमा हुने छनोट खेलमा नेपाल जित हासिल गर्दै अगाडि बढ्न चाहन्छ। यसअघिको छनोट चरणमा फिलिपिन्ससँग पराजित भएको नेपाल घरेलु मैदानमा हुने खेलमा जित हासिल गर्ने लक्ष्यमा छ।

नेपाल र यमन दुवै देशका घरेलु फुटबल आआफ्नै कारणले प्रभावित छन्। भूकम्पले प्रभावित बनेको नेपालमा दुई वर्षअघिदेखि लिग हुन सकेको छैन। यमन आन्तरिक द्वन्द्वमा जुधिरहेको छ। द्वन्द्वका कारण यमनमा पनि लिग फुटबल हुन सकेको छैन। जापानी प्रशिक्षक ग्याटुको कोजीले नेपाली टोलीको प्रशिक्षण सम्हालेको करिब १ वर्ष पुग्यो। जिम्मेवारी सम्हाल्दा कोजीले नेपाली खेलाडी प्रतिभाशाली भएकाले जापानी शैलीमै फुटबल टोलीको विकास गर्ने लक्ष्य रहेको बताएका थिए।

पछिल्लो वर्षमा टोलीको खेल्ने शैली र मेहनत गर्ने बानीको विकास भएको कोजी बताउँछन्। तर नेपाली टोलीको समस्या भनेको खेलाडीबीच तालमेलको अभाव देखिएको छ। अघिल्लो साता भारतसँग खेलेको मैत्रीपूर्ण खेलमा २–० ले पराजित हुँदा पनि नेपाली टोलीको कमजोरी बाहिर आएको थियो।

भारतीय खेलाडी शारीरिक रूपमा बलियो हुँदा पनि नेपाली खेलाडीले लामो बल खेल्नमा बढी ध्यान दिएका थिए। तर प्रशिक्षक कोजीले भारतविरुद्ध लामो बल खेल्ने योजना नभएको बताए। उनले भने, 'भारतसँग किन खेलाडीले त्यस्तो खेले मलाई थाहा छैन। तर हाम्रो योजना त्यस्तो थिएन। भारतसँगको खेलबाट हामीले सकारात्मक रूपमा पाठ सिकेका छौं। कमजोरीलाई कम गर्न सहयोग पुगेको छ।'

नेपालले प्राय सबै अन्तर्राष्ट्रिय खेल दशरथ रंगशालामा खेलेको छ। घरेलु मैदानमा खेल हुँदा नेपालका शक्ति भनेका घरेलु दर्शक पनि हुन्। मंगलबार नेपालले हलचोकस्थित एपिएफ क्लबको मैदानमा यमनसँग खेल्दै छ। नेपालले सोचेजस्तो घरेलु समर्थक हलचोकमा पाउने सम्भावना कम छ।

तर प्रशिक्षक कोजीले आफूले सिकेको कुरा मैदानमा उतार्न खेलाडीले ध्यान दिए सफलता हात लाग्ने बताउँछन्। फिफा वरीयतामा यमन नेपालभन्दा अगाडि छ। यमन १ सय २४औं र नेपाल १ सय ६९औं स्थानमा छन्। यसअघि नेपाल र यमनले दुई पटक खेलेका छन्। दुवैमा नेपालले सफलता हासिल गर्न सकेको थिएन।

यमनविरुद्धको खेलका लागि नेपाली टोलीमा कप्तान एवम् स्ट्राइकर अनिल गुरुङसँगै गोलकिपर एलन न्यौपाने, रक्षक मानबहादुर तामाङ, दिनेश राजवंशी, मिडफिल्डर सुनील बल थपिएका छन्। भारतसँग मैत्रीपूर्ण खेल खेल्दाको टोलीका विशाल श्रेष्ठ, सुमन लामा र विमल बस्नेत राष्ट्रिय टोलीमा परेका छैनन्।

फिलिपिन्सविरुद्धको खेलमा रातो कार्ड पाएका कारण मिडफिल्डर विक्रम लामाले खेल्ने छैनन्। सोमबार कप्तान विराज महर्जनले नेपाली खेलाडीले विगतको गल्तीबाट सिक्दै नयाँ ढंगबाट खेल्ने कोसिस गर्ने बताए। 'भारतसँगको मैत्रीपूर्ण खेलमा हाम्रो तालमेल मिलेको थिएन। डिफेन्समा धेरै समस्या छैन। अग्रपंक्तिमा समन्वय मिल्न सकिरहेको छैन,' विराजले भने, 'फुटबलमा गल्ती हुन्छ। तर गल्तीबाट सिकेर अगाडि बढ्ने हो। हामीसँग नियमित खेलाडी नहुँदा पनि केही समस्या आएको हो। नयाँ खेलाडीले मेहनत गरिरहेका छन्। समन्वयमा हामी कमजोर भएजस्तो देखिन्छ। त्यसलाई एकै पटक सुधार गर्न कठिन छ। हामी प्रशिक्षकको योजनाअनुसार खेल्ने कोसिस गर्छाैं।'

यमनका प्रशिक्षक इबराहम मेबरातोले नेपालविरुद्ध जित हासिल गर्दा देशमा पनि सकारात्मक सन्देश जाने बताए। उनले भने, 'हामी नेपाललाई सम्मान गर्दै जित हासिल गर्ने कोसिस गर्छाैं। फुटबल खेल मात्र होइन। शान्ति स्थापना गर्ने माध्यम पनि हो। मेरा खेलाडीले फुटबलमा जित हासिल गरेर देशमा खुसी दिनेछन्।'

यमन टोलीका ९ खेलाडीले विदेशी लिग फुटबल खेल्ने गर्छन्। तर अहिले विदेशी क्लबबाट खेल्ने तीन खेलाडी मात्र टोलीमा छन्। आफ्ना क्लबका खेलाडीसँग साउदी अरब, बहराइन, ओमानलगायतका देशमा व्यावसायिक फुटबल खेलेको अनुभव भएको मेबरातोले बताए।

यमनका कप्तान एवम् गोलकिपर आरस मोहमद इब्राहिमले नेपालविरुद्धको खेलका लागि विदेशी क्लबसँग मैत्रीपूर्ण खेल खेलेको बताए। उनले भने, 'हामी नेपालसँग खेल्ने तयारीमा छौं। उनीहरूको खेल्ने तरिकाबारेमा पनि थाहा छ। हामी जित हासिल गर्ने लक्ष्यसहित खेल्नेछौं।' 

'हामी नेपाललाई सम्मान गर्दै जित हासिल गर्ने कोसिस गर्छौं। फुटबल खेल मात्र होइन। शान्ति स्थापना गर्ने माध्यम पनि हो। मेरा खेलाडीले फुटबलमा जित हासिल गरेर देशमा खुसी दिनेछन्।'

प्रकाशित: ३० जेष्ठ २०७४ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App